
मुक्ति पौडेल
चारआली । समाज परिवर्तनका लागि उनीहरु लडे, गाँस, बास र कपास नहुनेहरुका लागि उनीहरु लडे, हुँदा खाने र नहुँदा भोकै बस्नेहरुका लागि उनीहरु लडे, सपना थियो उनीहरुको न्यायपूर्ण समाजको सपना थियो उनीहरुको समानता र स्वतन्त्रताको ! उनीहरु अर्थात झापा आन्दोलनका योद्धा डिगेन राजवंशी र छविलाल राजवंशी ।
कसैले समाज परिवर्तन गर्छ त कम्युनिष्टहरुले नै भन्ने विश्वासका साथ डिगेन र छविलाल राजवंशी आन्दोलनको मोर्चामा उभिन पुगे त्यो बेला जति बेलाको ब्यवस्थाले कम्युनिष्ट भन्ने नाम पनि सुन्न मान्दैन थियो । तत्कालिन झापा आन्दोलनसँग राजनीतिक सम्बन्ध जोड्न पुगेका डिगेन र छविलाल अहिले छैनन् तर उनीहरुका सपना भने आज पनि बाँचेकैछन्, आम नेपालीको गाँस, बास र कपासको अपेक्षा आज पनि उस्तै छ । आम नेपालीको मात्र होइन डिगेन र छविलालका परिवारको अपेक्षा पनि सामान्य आम नेपाली जनताको जस्तै छ तर के आज परिवर्तनको पक्षमा उभिएर आफ्नो जिवन आन्दा्ेलनमै समर्पण गरेका डिगेन र छविलालको सपना पुरा भएको छ ? आज स्वयम् आन्दोलनका योद्धाकै परिवार पनि ब्यवस्था मात्र परिर्वतन भएको र अवस्था उस्तै रहेको दैनिकीमा छन् । डिगेन राजवंशी र छविलाल राजवंशी झापा आन्दोलनकै क्रममा लामो समय सम्म जेल बसेका योद्धाहरु हुन् । छविलाल राजवंशीको निधन जेलमै भएको थियो भने डिगेन राजवंशीको निधन दुःखद भित्रको पनि पीडादायी बन्न पुगेको थियो । सिङ्गो समाज परिर्वतनका लागि जिवन समर्पण गर्न पुगेका उनीहरुको परिवारकै आजको अवस्था हेर्दा नै स्पष्ट हुन्छ जसले जे भने पनि ‘ब्यवस्थामा परिवर्तन भयो तर अवस्था उस्तै छ’ ।



