खेलकुदभिडियो चौतारी

‘रंगशालामा दर्शकमाझ खेल्न आतुर छु’ – भरत

विश्वकप छनोटअन्तर्गतको आफ्नो पाँचौं खेलमा नेपालले अर्को महिना कुवेतको आतिथ्यता गर्दैछ । अवे खेलमा ७–० को हारको बदला लिने मौकाका रुपमा समेत त्यो खेललाई लिइनेछ । ८ वर्षअघि जोर्डनसँग विश्व कप छनोटको अवे खेलमा जोर्डनसँग ९–० को हार बेहोरेको ५ दिनपछि दशरथ रंगशालामा नेपालले १–१ को बराबरी खेलेको थियो ।

सायद यसपटक कुवेतसँग खेल्दा घरेलु टोली र भरतसँग त्यस्तै अपेक्षा गरिनेछ । ८ वर्षअघि उनै भरतले जोर्डनविरुद्ध पहिलो गोल गरेका थिए । यद्दपी पछि जोर्डनले गोल फर्काएको थियो । चार वर्ष भन्दा लामो समयपछि दशरथ रंगशालामा हुने खेलले हरेकलाई उत्साहित बनाउने भरतको बुझाई छ । ‘अन्त खेल्नु र दशरथ रंगशालामा खेल्नुमै फरक पर्छ । मलाई लाग्छ हामी यहाँ जस्तो टोलीलाई पनि कडा टक्कर दिन सक्छौं,’ उनले थपे, ‘घरेलु समर्थनले अर्कै उर्जा मिल्ने गर्छ । रंगशालामा खेल्न निकै आतुर छु । म सबैलाई आग्रह गर्न चाहन्छु दशरथ रंगशाला आएर हाम्रो हौसला बढाउनुहोला ।’

पछिल्लो पटक नेपाल र भारतबीच विश्व कप छनोट खेल भएयता दशरथ रंगशालामा नेपाली टोलीले फुटबल खेलेको छैन । २०७२ वैशाख १२ को विनाकारी भूकम्पपछि दशरथ रंगशालामा कुनै पनि प्रतिस्पर्धात्मक फुटबल भएको छैन । अब विश्व कप छनोटका ४ खेल नेपाली टोलीले दशरथ रंगशालामा खेल्नेछ । बिहीबार म्यानमारविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि टोलीमा परेपछि भरतले थपे, ‘यहाँ खेल्दा हामी अंक खोस्न वा खेल जित्न पनि सक्छौं । ‘

मार्चमा कुवेतविरुद्धको मैत्रीपूर्ण खेलपछि भरत पहिलो पटक टोलीमा परेका हुन् । त्यसबीचमा उनले तीन महिना थाइल्यान्डमा सेनाको प्रशिक्षण लिएका थिए । त्यसपछि फर्केर उनले मोसफलका केहि प्रतियोगिता खेले । उनी भन्छन्, ‘थाइल्यान्डमा त मैले खासै खेल्न पाइन । फर्केर आएपनि मोसफलका केहि प्रतियोगिता आर्मी र अन्य क्लबबाट खेले । त्यसले फिटनेसमा आउन मद्दत गर्यो ।’

टोलीका सबैभन्दा सिनियर खेलाडीका रुपमा रहेका भरतले पछिल्ला समयमा टोलीमा युवा खेलाडीले स्थान बनाइसकेकोले आफुलाई पहिलो रोजाईमा पनि सहज नहुने सुनाए । ‘प्रतिस्पर्धा निकै छ । मैले आफुलाई त्यहि रुपमा प्रस्तुत गर्नुपर्ने हुन्छ । आफ्नो ठाँउ सुरक्षित गर्न मैले आफुले जिम्मेवारी पाउँदा निर्वाह गर्नुपर्दछ,’ गत वर्ष साफ च्याम्पियनसिपमा टोलीको कप्तानी समेत गरिसकेका भरतले थपे, ‘आफ्नोतर्फबाट म पुरा कोशिस गर्नेछु । सफल हुन्छु भन्ने विश्वास छ । ‘

लामो समयपछि टोलीमा फर्कदा केहि कठिनाई त पक्कै भयो होला भन्ने प्रश्नमा देशका लागि ५० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका उनले भने, ‘पहिलो दिन मलाई गाह्रो भयो । लामो समय यहि खेलाडीसँग खेलेकोले चाडै घुलमिल भए । त्यपछि खासै समस्या भएको छैन । म्याचका लागि फिट छु भन्ने लाग्छ ।’

सन् २००८ देखि भरत राष्ट्रिय टोलीको हिस्सा रहँदै आएका छन् । चोट र व्यक्तिगत कारणबाहेक उनी लगातार टोलीको महत्वपूर्ण सदस्य रहँदै आएका छन् । म्यानमानरविरुद्ध बिहीबार हुने खेलमा सम्भवत नेपाली टोली उनकै कप्तानीमा उत्रने सम्भावना छ । उनी टोलीका सबैभन्दा सिनियर खेलाडी हुन् । सिनियर खेलाडीलाई कप्तानीको जिम्मेवारी दिने टोलीको परम्परा रहँदै आएको छ ।(हाम्रो खेलकुद)

राष्ट्रिय टोलीमा फर्केपछि यसो भन्छन् भरत :

 

https://www.facebook.com/Hamrokhelkud/videos/2480440332074810/?t=0

hamrokhelkud.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button