
डिबी शर्मा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौँपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नेपाली कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आइतबार आठौँपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । साउदले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गर्नुभएको छ । उहाँ यसअघि सिँचाइमन्त्री र शिक्षा राज्यमन्त्री बन्नुभएको थियो ।
यस्तै, नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले आठौँपटक मन्त्रिपरिषद् विस्तार गरे पनि अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले दुईपटक विश्वासको मत र आठपटक मन्त्रिपरिषद् विस्तार गरिसक्नु भएको छ । कांग्रेसले थप मन्त्रीको नाम नदिँदा सरकारले पूर्णता प्राप्त गरेको छैन । गठबन्धन दलभित्रको आन्तरिक भागबण्डा नमिल्दा सरकारले पूर्णता पाउन नसकेको हो । कांग्रेसको डा. शेखर कोइराला पक्षले मन्त्रीको नाम नदिएपछि कांग्रेसको भागमा परेका आधा मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँग छन् । तीन मन्त्रालय नपाएसम्म सरकारमै सहभागी नहुने शेखर समूहको अडान छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले अझै पाँचवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको छ । केही समय अघिसम्म १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका उहाँले प्रधानमन्त्रीसँगै, स्वास्थ्य तथा जनसंख्या, कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, वन तथा वातावरण र खानेपानी तथा सरसफाइ मन्त्रालय आफैँसँग राख्नुभएको छ । १० पुसमा दोस्रो ठूलो दल एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो । तर सरकारमा नगई पहिलो ठूलो दल कांग्रेसले विश्वासको मत दिएपछि उहाँले २९८ सांसद अर्थात् ९९ प्रतिशतको समर्थन पाउनुभयो । तर, पनि उहाँले सरकारलाई पूर्णता दिन सक्नुभएको छैन ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी अगाडि बढाउँछु : परराष्ट्रमन्त्री साउद
नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारीको कामलाई अगाडि बढाउने बताउनुभएको छ । आइतबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुगेर पदभार ग्रहण गरेलगत्तै उहाँले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तयारीको कामलाई अगाडि बढाउने बताउनुभयो । भ्रमणको तयारीमा रहेका टिमसँग ‘ब्रिफिङ’ लिएर काम अघि बढाउने उहाँले बताउनुभयो । छिमेकीसहित अन्य देशसँगको सम्बन्धलाई अझै घनिष्ट बनाउँदै लैजाने उहाँको भनाइ छ । ‘नेपाल शान्तिपूर्ण मुलुक हो । हामी आगामी दिनमा विश्वभरीका देशसँग, छिमेकीसँग आफ्नो सम्बन्धलाई घनिष्ट बनाउँदै लैजाने छौँ,’ उहाँले भन्नुुभयो, ‘भ्रमणबारे हामी छलफल अगाडि बढाउँछौँ । म भर्खर कार्यालयमा आएको छु । टिमसँग ब्रिफिङ लिएर त्यसबारे भन्नेछु।’
सरकारको आलोचना नगर्न गगन थापालाई माओवादी सांसदहरूको आग्रह
नेकपा (माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले सरकारलाई सहयोग गर्न कांग्रेस महामन्त्री गगन थापालाई आग्रह गर्नुभएको छ । आइतबार संसद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पौडेलले सरकारलाई सफल बनाउने दायित्व कांग्रेस महामन्त्री थापाको पनि भएको बताउनुभयो । थापाले सार्वजनिक मञ्चबाट सरकारको आलोचना गरिरहेको भन्दै आलोचनाले सरकार सफल नहुने उहाँले बताउनुभयो । सरकारको आलोचना नगरी सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । ‘गगन थापा गठबन्धनको मूल पार्टीको प्रमुख व्यक्ति हुनुहुन्छ । सरकारलाई सफल बनाउने दायित्व उहाँको पनि हो । आलोचना गरेर मात्रै सफल हुन्न,’ पौडेलले भन्नुभयो, ‘सहयोग गरेर पनि सफल हुन्छ । विरोध गरेर सरकार सफल हुन्न ।’ त्यस्तै, माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले कांग्रेस महामन्त्री गगन थापाले सरकारको आलोचना गर्नु राम्रो नभएको बताउनुभयो । महामन्त्री थापालाई उत्तेजनामा नभई सोच, विचार गरेर बोल्न उहाँले आग्रह गर्नुभयो । ‘उहाँ (गगन थापा)हरू सरकारलाई नजिक बसेर सहयोग गर्नेभन्दा पनि आलोचना बढी गरिराख्नु भएको छ । यो राम्रो होइन,’ उहाँले भन्नुभयो, ‘उहाँले बोल्ने कुरा अलिकति ध्यान दिएर, धेरै कुरा सोच विचार गरेर बोल्नुप¥यो । उत्तेजनामा आएर जे मन लाग्यो त्यही बोलिहाल्ने भन्दा पनि सोच विचार गरेर बोल्नुपर्छ ।’हिमालय टाइम्सबाट ।



