खबर

सम्बन्धविच्छेदका मुद्दा बढे

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा पछिल्लो समय सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढेको छ। जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये ६० प्रतिशत मुद्दा सम्बन्धविच्छेदका रहेका छन्।

जिल्ला अदालत चौताराका अधिकृत अक्षयकुमार दनुवारका अनुसार २०७९ साउनदेखि २०८० वैशाख मसान्तसम्म सम्बन्धविच्छेदका ४२८ वटा मुद्दा दर्ता भएका छन्। पुरुषको तर्फबाट १४८ वटा मुद्दा दर्ता भएकोमा ४८ वटा मुद्दा फैसला भइसकेका छन्। ७४ वटा मुद्दा मिलापत्र भएको र २८ वटा मुद्दा प्रक्रियामा रहेको अदालतले जनाएको छ।

नयाँ मुलुकी ऐनमा पुरुषले पनि सम्बन्धविच्छेद मुद्दा हाल्न पाउने भएपछि सिन्धुपाल्चोकमा पुरुषले पनि सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने क्रम बढेको छ। त्यसैगरी सोही अवधिमा महिलाले सम्बन्धविच्छेदका लागि २८० वटा निवेदन दर्ता गराएका छन्। जसमा ८५ वटा फैसला भएको १५१ वटा मिलापत्र भएका छन् भने ४४ वटा प्रक्रियामा छन्।

पछिल्लो तथ्याङ्क अनुसार सम्बन्धविच्छेदका मुद्दा विगतमा वर्षमा भन्दा ८० प्रतिशतले बढेको देखिएको छ। विदेशबाट पठाएको रकम हिनामिना गरेको, परपुरुष र परस्त्रीसँग अनैतिक सम्बन्ध, शारीरिक, मानसिक यातना, कुटपिट, जाँडरक्सी, घरेलु हिंसा, बहुविवाह, लैङ्गिक विभेदलगायतका कारणले सम्बन्धविच्छेदका घटना बढेको जनाइएको छ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button