खबर

प्लास्टिकजन्य फोहोरको उपयोग

वसन्त पराजुली

भरतपुर । घरबाट निस्कने प्लास्टिकजन्य फोहोरलाई मोहोरमा परिणत गरेर भरतपुर महानगरमा ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड’ भन्ने नेपाली उखानलाई चरितार्थ गरिएको छ। प्लास्टिकजन्य फोहोर जटिल समस्या बनिरहेकै बेला यही प्लास्टिकले हस्तकलाका सामान बनाउन सकिने हो भने मोहोर कमाउन सकिने सजिलो उपाय देखिएको छ। यसका लागि स्वदेश तथा विदेशमा बजार प्रवर्धन गर्न जरुरी छ।

भरतपुर महानगरपालिका–९ की शोभा थापामगरले अहिले यस्तै फोहोरमा जाने प्लास्टिक जम्मा गरेर ढकिया, चकटी, गमलालगायतका हस्तकलाका सामग्री बनाउनुहुन्छ। उहाँले ती सामग्री बिक्री गरेर घरखर्च चलाइरहनुभएको छ भने कति साथीभाइलाई उपहारसमेत पठाउने गर्नुहुन्छ।

उहाँले भन्नुभयो, “यो चाउचाउको खोलको गमला हो। यसमा प्रयोग भएको टल्कने चिज धेरै समयसम्म नहट्ने रहेछ। यो देख्न पनि सुन्दर देखिन्छ। हामीले जथाभाबी फालेकै कारण प्लास्टिक फोहोरको समस्या भएको हो। यो त पुनः प्रयोगमा ल्याउन सकिने वस्तु हो। हाम्रो घरमा पहिले पहिले महिनामा दुई बोरासम्म फोहोर निस्कन्थ्यो। अहिले सबै फोहोर सदुपयोग भइरहेको छ।”

घरमा आएको प्लास्टिक हस्तकलाका समान बनाउन वा भाँडा माझ्ने साबुनसँग साट्ने गरेको उहाँले बताउनुभयो। एक किलो प्लास्टिकबाट दस रुपियाँको साबुन पाएको उहाँको भनाइ छ।

प्लास्टिक खरिदबिक्रीको व्यवस्था उहाँ सम्मिलित मिलन सचेतना महिला समूहले गरेको छ। समूहमा आबद्ध दुई सय महिलामध्ये १० जनाले प्लास्टिकका हस्तकला सामान बनाउन जानेका छन्।

उहाँले भन्नुभयो, “बेच्न सके त हुन्थ्यो नि। सबै मिलेर बेच्न पाए त कति हुन्थ्यो हुन्थ्यो। हाम्रो मगर गुरुङमा त यस्ता सिप भएका धेरै छौँ। यसलाई सदुपयोग गर्न सकिए राम्रै आम्दानी गर्न सकिन्थ्यो नि।”

प्लास्टिकबाट बनेका हस्तकलाका सामानको बजार पनि अभाव छ। सङ्कलित प्लास्टिक टोलमै खपत नभएको अवस्थामा सुइरो अभियानलाई बिक्री गरेर आम्दानी गर्ने गरेको पाइन्छ।

पाँच वर्षदेखि टोल सरसफाइमा सक्रिय मिलन सचेतना महिला समूहका अध्यक्ष लक्ष्मी सापकोटा प्लास्टिकबाट हस्तकलाका सामान बनाउनुका साथै अहिले सञ्चालनमा रहेका सुइरो अभियानलाई सार्थक बनाउन सके मात्रै पनि फोहोर उत्पादन घटाउन सकिने बताउनुहुन्छ।

उहाँले भन्नुभयो, “सबैले फोहोर व्यवस्थापन मेरो पनि जिम्मेवारी हो भन्ने सोचेर काम गर्ने हो भने फोहोर व्यवस्थापन चुनौतीपूर्ण छैन। यसले आम्दानीको बाटो पनि खोल्छ।”गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button