मूल खबर

महराका बाबुछोरा र विमानस्थल भन्सारका तत्कालीन प्रमुख पोखरेलमाथि पनि अनुसन्धान हुने

डिबी शर्मा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणमा सत्तारूढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा र उहाँका छोरा राहुलमाथि पनि अनुसन्धान हुने भएको छ । विमानस्थलबाट भित्रिएको नौ किलो सुन तस्करी प्रकरणमा मुछिनुभएका महराका बाबुछोरामाथि पनि अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिएको छ । भेपमार्फत भएको तस्करीको अनुसन्धान गर्न सिआइबीलाई निर्देशन दिएको वकिल कार्यालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार कार्यालयको निर्देशनसँगै सिआइबीले महराका बाबुछोरामाथि पनि अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । महरा र उहाँका छोराको सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग पटक-पटक टेलिफोन संवाद भएको सिआइबीको अनुसन्धानबाट खुलेको थियो । कृष्णबहादुरको छोरा राहुलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको सिआइबीले किटान गरेर प्रतिवेदन बुझाएको थियो ।

त्यस्तै, सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेको खुलेको थियो । भेप सुन प्रकरणमा जोडिएका तीनैजना चिनियाँ हाल फरार छन् । तर, उनीहरूमाथि अनुसन्धान नै नगरी सिआइबीले गत असार २७ गते प्रतिवेदन बुझाएको थियो । महरा बाबुछोरालाई जोगाएर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको भन्दै अनुसन्धानमाथि नै प्रश्न उठेको थियो । भेपको सुन चोरी प्रकरणमा जोडिएका नौजना पुर्पक्षको लागि थुनामा छन् । १० पुस २०७९ मा चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानबाट इलेक्ट्रिक सिगरेट (भेप) ल्याएका थिए । ७३ बट्टामा ल्याइएको ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याएको खुलेको थियो ।

यस्तै, विमानस्थलबाटै बरामद करिब ६१ किलो सुन प्रकरणमा विमानस्थल भन्सार कार्यालयका निवर्तमान प्रमुख अरुण पोखरेलमाथि पनि अनुसन्धान हुने भएको छ । पोखरेललाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारी वकिल कार्यालय काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको हो । कार्यालयले अख्तियारलाई पत्र पठाउँदै पोखरेलमाथि अनुसन्धान गर्न भनेको हो । गत साउन २ गते भन्सार पास भएर आएको सुन विमानस्थल बाहिरबाट बरामद हुँदा उहाँ विमानस्थल भन्सार कार्यालयको प्रमुख हुनुहुन्थ्यो । त्यस्तै, यसअघि भेपमा भएको नौ किलो सुन तस्करी हुँदा पनि उहाँ नै भन्सार प्रमुख हुनुहुन्थ्यो । चिनियाँ नागरिकले भेपमा लुकाएर ल्याएको नौ किलो सुन भन्सारका कर्मचारीले गायव पारेका थिए ।

साउन ३ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन पनि भन्सार विभागबाट जाँच पास भइसकेको थियो । भेपमा ल्याएको नौ किलो सुन तस्करीको घटनापछि पनि भन्सारमै कार्यरत पोखरेललाई अर्थ मन्त्रालयले ६० किलो सुन तस्करीको केही दिनपछि नै हटाएको थियो । सुन तस्करी हुँदा बिरामी बिदामा रहनुभएका पोखरेललाई अर्थ मन्त्रालयले साउन ९ गते हटाउँदै टोकराज पाण्डेलाई विमानस्थल भन्सारको प्रमुखमा सरुवा गरिएको थियो । ६० किलो सुन तस्करी प्रकरणको सिआइबीले अनुसन्धान गरिरहेको छ ।

सुन तस्करीको विषयमा संसदीय समितिमा छलफल हुन्छ : खतिवडा
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा रामहरि खतिवडाले सुन तस्करी प्रकरणबारे समितिमा छलफल हुने बताउनुभएको छ । सोमबार समिति सभापतिमा निर्वाचित भएपछि कांग्रेस सांसदसमेत रहनुभएका खतिवडाले सुन प्रकरणसहित सबै विषयमा छलफल हुने बताउनुभएको हो ।

समितिको कार्यक्षेत्र धेरै ठूलो रहेको भन्दै सुरक्षा निकायसँग जोडिएको हुँदा संवेदनशील भएर काम गर्न जरुरी रहेको उहाँले बताउनुभयो । ‘समितिको कार्यक्षेत्र धेरै ठूलो छ । विशेष गरेर सुरक्षा निकायसँग जोडिएको हुँदा संवेदनशील भएर काम गर्न जरुरी छ । यो समिति सरकारविरोधी र पक्षको पनि हुँदैन,’ उहाँले भन्नुभयो, ‘सुनकाण्डलगायत सबै विषयमा छलफल हुन्छ । आजै प्रधानमन्त्री, गृहमन्त्रीलाई बोलाउने कुरा त कहाँ हुन्छ ? यस विषयमा मेरो भूमिका सकारात्मक हुन्छ ।’ सबै पक्षलाई मिलाएर समितिले निर्णय गर्ने परम्पराको विकास गर्ने उहाँले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button