मूल खबर

राम्रो काम गर्दैछु, सरकारबाट कसले हटाउँदोरहेछ हेर्छु : प्रधानमन्त्री प्रचण्ड

सुर्खेत।

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भइसकेकाले अब त्यो नरोकिने बताएका छन्।

सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले क्रान्तिकारीहरु चनाखो भएर अझै ठूलो मोर्चा बनाउनुपर्ने बताए।

अहिले नेपालमा जे देखिएको छ, त्यो कम्युनिष्ट आन्दोलन जनयुद्ध लगायतका विभिन्न आन्दोलनकै कारण सम्भव भएको बताउँदै प्रचण्डले समाजवादी मोर्चा बनाउँदा अरुभन्दा आफू बढी खुसी भएको उल्लेख गरे।

उनले सम्बोधनका क्रममा नेत्रविक्रम चन्द विप्लवको विप्लवकै सुरक्षा घेरामा आफूले जनयुद्ध अघि बढाएको पनि बताए।

यद्यपि उनले विप्लवसँग एकै ठाउँ रहेर अघि बढ्न नसकेकोमा चिन्ता व्यक्त गरे। अहिले समाजवादी मोर्चाले सहयात्राको सम्भावना बढाएकाले उत्साहित भएको प्रचण्डको भनाइ छ।

यो मोर्चा एक ठाउँमा भएर लड्दा सुशासनका लागि भ्रष्टाचारविरुद्धको लडाइँ सफल हुने पनि विश्वास व्यक्त गरे।

उनले नेकपा एमालेलाई लक्षित गर्दै उनीहरु नक्कली कम्युनिष्ट भएको पनि बताए। एमालेले अहिले धारे हात लगाएर हेरिरहेको बताउँदै उनीहरु नक्कली कम्युनिष्ट भएको जिकिर प्रचण्डले गरे। उनले एमाले परिवर्तनको पक्षमा नरहेको पनि उल्लेख गरे।

प्रचण्डले केही लिनदिन नभई परिवर्तनको पक्षमा अग्रसर हुने प्रमुख लक्ष्य आफूले लिएको बताए । उनले भने, ‘म राम्रो काम गर्छु, कसले हटाउँदो रहेछ हेर्छु।’

प्रचण्डले भ्रष्टाचारविरुद्ध अग्रसर हुँदा नेपाली कांग्रेस र एमालेलाई मात्रै लक्षित गरेको भन्ने भनाइ सही नभएको जिकिर गरे। माओवादीकै अरु नेता र आफ्नै नाम पनि भ्रष्टाचारमा मुछिए नछोड्न भनेको उनको दाबी थियो।

उनले सम्बोधनका क्रममा आफ्नो नेतृत्वको सरकारले राम्रो काम गरेको प्रतिक्रियावादी तत्व र दलालहरुलाई सह्‍य नभएको पनि जिकिर गरेका छन्।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button