खबर

मौलिकता गुमाउँदै तिज

घोडाघोडी (कैलाली) । अहिले गाउँदेखि सहरसम्मका महिला महिलाबिच रातै सारी र विभिन्न शृङ्गारमा सजिएर समूहमा तिज पर्व मनाउने होडबाजी नै चलेको छ। घोडाघोडी नगरपालिका–१, पिपलडाँडा आमा समूहका महिलाले यस पटक एउटै रङका साडी लगाएर सामूहिक तिज कार्यक्रम गरेका छन्।

घोडाघोडी–१ कै शान्तिनगर आमा समूहलेसमेत प्रतिव्यक्ति छ सय रुपियाँ चन्दा उठाएर वनभोज कार्यक्रम गरेर गत शनिबार मात्र तिज कार्यक्रम सम्पन्न गरेका छन्। विगतमा यसरी तिज मनाएको बिरलै भेटिन्थ्यो।

स्थानीय महिला भन्छन् देखासिखी भनौँ कि आधुनिकताले हो गाउँ गाउँमा समूह बनाएर तिज मनाउने चलन नै बन्यो। योसँगै मौलिकता पनि हराउँदै गएको छ। नेपाली महिलाले वर्षौंदेखि मान्दै आएको तिज पर्वलाई तडकभडकका साथ मनाउँदा निम्न परिवारका महिलालाई भने समस्या परेको छ।

स्थानीय दुर्गा सापकोटालाई वर्षे खेती लगाइसकेपछि सामान्य नाचगान गरेर तिज पर्व मनाएको सम्झना ताजा छ। मोबाइल र इन्टरनेटको सुविधा आएपछि तिज मनाउने शैली फेरिएको उहाँले बताउनुभयो। पहिले त मादल बजाएर गीत गाएर नाच्थ्यौँ, अहिले गाउँमा कहिलेकाहीँ मादल बजाएर रमाइलो गरौँभन्दा पनि मादल नै नपाइने अवस्था छ उहाँले भन्नुभयो। पहिला पहिला तिजका दिन टाढा टाढाका दिदीबहिनी माइतीको आँगनीमा आई आफ्ना दुःखसुख तिजका गीतमार्फत साटासाट गर्ने गरेको अनुभव सुनाउनु हुन्छ ६५ वर्षीय अम्बिका आचार्य।

उहाँ भन्नुहुन्छ, “सधैँ माइत जान पाइन्थेन, माइत जान तिज पर्खनु पथ्र्यो, साथीसङ्गी, दिदीबहिनी, आमासँग आफ्नै दुःखसुख तिज गीतमार्फत साटासाट गर्थेम, रात कटेको थाहा हुन्थेन।”

उहाँले थप्नुभयो, “समय सधैँ एकैनास कहाँ हुन्छ र अबका छोरीबुहारी सबै शिक्षित छन्। हाम्रो जस्तो दुःख छैन, जे खाम जे लाम भने पनि पुग्छ, त्यसैले त एक महिनाअघिदेखि साथीहरू समूह बनाएर दर खान्छन्।”गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button