खबर

जल तथा मौसम विज्ञान नीति ल्याइँदै

चाँदनी हमाल

काठमाडौँ। नेपालमा पहिलो पटक जल तथा मौसम विज्ञान नीति आउने भएको छ । विभिन्न नाम हुँदै करिब एक सय वर्षको यात्रा गरेको जल तथा मौसम विज्ञान विभाग आफ्नै नीतिमा उभिन खोजेको हो । हालसम्म विभागले जलस्रोत, ऊर्जा, सिँचाइलगायत छरिएर रहेका नीतिमा टेकेर काम गरिरहेको जनाइएको छ ।

मौसम परिवर्तनका कारण तापक्रम वृद्धिसँगै जलवायु परिवर्तनको जल्दोबल्दो विश्वव्यापी मुद्दाको नेतृत्वदायी निकायको अभाव नेपालले खेपिरहेका बेला विभागले सो अभाव पूर्ति गर्ने गरी जल तथा मौसम नीति ल्याउन लागेको हो । नीतिको मस्यौदामाथि सुझाव सङ्कलनका लागि बिहीबार काठमाडौँमा राष्ट्रिय परामर्श गोष्ठीको आयोजना गरियो ।

सो कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मौसमजन्य विविध समस्याले विपत् तथा जलवायु परिवर्तनका समस्या सिर्जना भइरहेका बेला आउन लागेको नीति ती समस्या समाधान गर्न सक्ने क्षमतासहितको बन्नुपर्नेमा जोड दिनुभयो ।

विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले नेपालमा हुने ९० प्रतिशत प्राकृतिक विपत् जल तथा मौसमजन्य प्रकोपले ल्याउने गरेको तथ्यका आधारमा नीतिको आवश्यकता प्रस्ट्याउनुभयो । उहाँले जल तथा मौसम विज्ञानमा हुने एक डलर बराबरको लगानीले नौ डलर बराबरको प्रतिफल दिने आँकडा प्रस्तुत गर्नुभयो । सत्र खण्ड रहेको नीतिको मस्यौदामाथि विज्ञहरूसँग एक चरणको छलफल पहिल्यै गरिएको छ ।

पछिल्लो समय दिगो विकासको लक्ष्य भेट्न हरित अर्थतन्त्र, हरित विकासको अवधारणामा जान जल तथा मौसम विज्ञान नेपालका लागि प्रमुख आधार मानिँदै आएको छ । करिब ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषिमा निर्भर रहँदा कृषि पनि जल तथा मौसम विज्ञानमै निर्भर छ । भविष्यको समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्न सरकारलाई काँध थाप्ने उद्देश्य यो नीतिले लिएको उहाँले बताउनुभयो ।

तापक्रम वृद्धिसँगै जलवायु परिवर्तनको मार नेपालका हिमाल, पहाड, तराई सबैतिर बढ्दो छ । मौसम परिवर्तनको प्रत्यक्ष अवलोकनकर्ता र विश्लेषणकर्ताको हैसियतले सार्वजनिक सेवासँगै जलवायु परिवर्तनजन्य समस्या समाधानमा साझेदारीको दायरा फराकिलो बनाउन नीतिले अग्रसरता लिनुपर्ने सुझाव अधिकांश सहभागीले दिनुभयो ।

विश्व मौसमको मापकका रूपमा सर्वोच्च शिखर सगरमाथा नेपालमा छ । जलवायु परिवर्तन सम्मेलन र अन्तर्राष्ट्रिय मञ्चमा नेपालले नेतृत्व लिन अग्रसर भइरहँदा विभागको नीतिले हिमालको मौसम र जलवायु परिवर्तनको नेतृत्वमा बलियो भूमिका खेल्नुपर्ने बेला आएको यो नीति महत्वपूर्ण रहने अनुमान सहभागीले गरे, जसमा पर्ने मौसमको हरेक पलको असर र सूचना विश्वमा पु¥याउने नेतृत्वकर्ताको भूमिका विभागले स्वायत्त रूपमा लिनुपर्ने पनि सुझाव छ।

गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button