
शिवराज भट्ट
धनगढी : टीकापुर महाधिवेशनबाटै सतहमा आएको रेशम चौधरी र रञ्जिता श्रेष्ठ चौधरीबीचको विवाद नयाँ गठबन्धनमा जाने वा नजाने भन्नेमा उत्कर्षमा पुुगेको छ। नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिताले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने निर्देशन दिएका बेला रेशमले शुक्रबार मध्यराति ३ जनालाई शाहकै सरकारमा शपथ खुवाएपछि दुवै जनाबीचको विवाद छताछुल्ल भएको हो।
रेशम पक्षका दुुई प्रदेशसभा सदस्यले शुक्रबार राति मन्त्री र एकजनाले राज्यमन्त्रीको शपथ खाएका छन्। रञ्जितानजिक मानिएका कैलाश चौधरीलाई भने राज्यमन्त्रीबाट पनि हटाइएको छ। उनी शुक्रबारसम्म भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री थिए। ‘मलाई हटाएको भनेर अनलाइनहरूमा समाचार हेरेपछि मात्रै थाहा पाएँ। पार्टीबाट कुनै जानकारी नै दिएनन्’, कैलाश चौधरीले भने।
पार्टीमा सिनियर मानिएका लक्ष्मणकिशोर चौधरीलाई पनि कुनै मन्त्रालय दिइएन। लक्ष्मण किशोर पार्टी संसदीय दलका पूर्वनेता पनि हुन्। अहिले पद नपाएका तीन प्रदेशसभा सदस्यमध्ये लक्ष्मण किशोर र कैलाश चौधरी काठमाडौंमा छन् भने टीका थापा भारतमा रहेको बताइएको छ। ‘लक्ष्मण किशोर र कैलाश दुुवै जना रञ्जिताका विश्वास पात्र हुन्। त्यही भएर लक्ष्मण किशोरलाई मन्त्री बनाइएन भने कैलाशलाई पनि हटाइयो’, स्रोतले भन्यो।अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।



