मूल खबर

तेस्रो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री

आउँदो बुधबार संसद् ‘फेस’ गर्ने तयारी

डिबी शर्मा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो बुधबार संसद्‌मा विश्वासको मत लिनुहुने भएको छ । नेकपा (माओवादी केन्द्र)को शनिबार बसेको संसदीय दलको बैठकमा फागुन ३० गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेबारे छलफल भएको माओवादी सांसद लेखनाथ दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार यसबारे नयाँ समीकरणको बैठकमा छलफलपछि अन्तिम निर्णय हुनेछ । ‘प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा बैठकमा छलफल भयो । फागुन ३० गते विश्वासको मत लिने कि भन्ने कुरा भएको छ,’ उहाँले भन्नुभयो, ‘नयाँ समीकरणको बैठक बसेपछि यसबारे अन्तिम निर्णय हुनेछ ।’ प्रधानमन्त्रीले विश्वासको मत लिनेलगायत विषयमा छलफल गर्न आज (आइतबार) गठबन्धनको बैठक बस्ने उहाँले बताउनुभयो । प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि जनता समाजवादी पार्टी सरकारमा सामेल हुने उहाँको भनाइ छ । सम्भवतः आजै जसपा सरकारमा सामेल हुने उहाँले बताउनुभयो ।

कांग्रेसले मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । संविधानबमोजिम सरकारमा सहभागी भएको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ । यसअनुसार उहाँले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने छ । संविधानअनुसार दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने भए पनि प्रधानमन्त्रीलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

एमालेको समर्थनमा २०७९ मा १० पुसमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्नुभएको थियो । यही कार्यकालमा उहाँले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो । चुनावमा कांग्रेससँग गठबन्धन बनाएर पनि एमालेलगायत दलहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो । प्रचण्डले २६ पुसमा ९८ प्रतिशत बढी सांसदको समर्थन पाउनुभएको थियो । कांग्रेसले पनि विश्वासको मत दिएको थियो। पहिलो पटक कांग्रेससहित २६८ सांसदको समर्थन पाउँदा दोस्रो पटक चैत ६ मा भने प्रधानमन्त्री प्रचण्डले १७२ सांसदको समर्थन पाउनुभएको थियो । राष्ट्रपति कांग्रेसको भागमा परेपछि एमाले सरकारबाट बाहिरिएको थियो । अहिले फेरि एमालेले उहाँलाई विश्वासको मत दिँदै छ ।हिमालय टाइम्समा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button