खबर

बिदा दिन स्थानीय तहलाई आग्रह

काठमाडौँ, मङ्सिर १४ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको उपनिर्वाचन हुने सबै स्थानीय तहलाई मङ्सिर १६ गते सार्वजनिक बिदा दिन आग्रह गरेको छ । सो दिन सार्वजनिक बिदा दिएर मतदान स्थल उपलब्ध गराउन तथा अन्य आवश्यक सहयोग गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । मतदान सम्पन्न नभएसम्मका लागि मतदान स्थलका रूपमा कायम भएका सामुदायिक विद्यालय, वडा कर्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान वा अन्य सार्वजनक प्रतिष्ठानमा निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलान गर्न मन्त्रालयले सम्बन्धित स्थानीय तहलाई आग्रह गरेको हो ।

मन्त्रालयका उपसचिव रेशम कँडेलले स्थानीय तहको उपनिर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगबाट निर्णय कार्यान्वयन गर्न परिपत्र आएको बताउँदै सम्बन्धित स्थानीय तहलाई पनि सोही अनुसार सहयोग गर्न मन्त्रालयले परिपत्र गरेको जानकारी दिनुभयो । मङ्सिर १६ गते स्थानीय तहको ४१ पदका लागि निर्वाचन हुँदै छ । निर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र व्यक्तिले उम्मेदवारी दिएका छन् ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button