स्वास्थ्य

मङ्किपक्स सङ्क्रमित युवाको अवस्था सामान्य

सरोज ढुङ्गेल

काठमाडौँ, पुस ११ गते । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मङ्किपक्स (एमपक्स) पुष्टि भएर भर्ना भएका युवाको अवस्था सामान्य छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले सङ्क्रमित व्यक्तिमा कुनै खतरा नभएको जानकारी दिनुभयो । “शरीरमा भएका घाउ फुटेर सुक्ने अवस्थामा छ,” डा. बसौलाले भन्नुभयो, “मङ्किपक्स भइसकेपछि हुने अन्य जटिलता केही छैन ।”

मङ्किपक्स पुष्टि भएपछि आँखा नदेख्ने, मेनेन्जाइटिस हुने, निमोनिया हुने जोखिम रहन्छ । डा. बसौलाले सङ्क्रमित युवाको अवस्था सामान्य रहेको जानकारी दिँदै अब पाँचदेखि सात दिनभित्र डिस्चार्ज गरिने बताउनुभयो । खटिराबाट उत्पन्न घाउ ८० प्रतिशत सुकिसकेको जानकारी दिँदै डा. बसौलाले भन्नुभयो, “अर्को हप्ता डिस्चार्जको तयारी गर्दै छौँ ।” उहाँले घाउ सुकिसकेपछि अरू व्यक्तिलाई सर्ने खतरा नभएको बताउनुभयो ।

तनहुँका ३६ वर्षीय युवा साउदीबाट नेपाल आएका हुन् । उनी शरीरभरि खटिरा भएपछि ग्रान्डी अस्पताल गएका थिए । ग्रान्डी अस्पतालले टेकुमा पठाएको थियो ।

बढ्यो त्रास

नेपालमा मङ्किपक्स (एमपक्स) भित्रिएसँगै समाजमा यो रोगबारे त्रास बढ्न थालेको छ । मङ्किपक्स विश्वव्यापी भएपछि विश्व स्वास्थ्य सङ्गठनले दुई वर्षअघि विश्वप्यापी सङ्कटकाल घोषणा गरेको थियो । हाल मङ्किपक्स भारत, पाकिस्तानलगायतका छिमेकी देशमा समेत बढ्दै गएको छ ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपालमा मङ्किपक्सलाई एचआइभी जस्तै कलङ्क (स्टिग्मा) का रूपमा लिइन सक्ने चिन्ता व्यक्त गर्नुभयो । उहाँले मङ्किपक्स यौनसम्पर्कबाट पनि सर्ने भएकाले समाजले यसबारे बुझ्दै जाँदा स्टिग्माको रूप लिन सक्नेतर्फ सचेत गराउनुभयो । “भोलि यौनसम्पर्कबाट फैलिने भन्ने थाहा भयो भने यसले समाजमा ठुलो रूप लिन सक्छ,” डा. पुनले भन्नुभयो, “त्यसैले मङ्किपक्सलाई यौनबाट मात्र नभई अन्य कारणले पनि लाग्न सक्छ भन्ने सन्देश दिनु पर्छ ।”

डा. पुनले युरोपमा पनि एमपक्स फैलिरहेको भन्दै उनीहरूले नियन्त्रण गर्न सक्ने भए पनि नेपालमा भने चुनौतीका रूपमा देखा पर्न सक्ने बताउनुभयो । “यौनरोग भएकाले मानिसले लुकाउन चाहन्छ,” डा. पुनले भन्नुभयो, “एक जना व्यक्तिले धेरैलाई सार्न सक्छ ।” उहाँले जब मानिसको हात र मुखमा खटिरा देखा पर्छ, त्यसबेला मात्र रोग देखिन सक्ने भएकाले छोप्ने ठाउँमा लुगा लगाएर छोप्न सक्ने बताउनुभयो । मङ्किपक्स भएका देशबाट हजारौँको सङ्ख्यामा मानिस आइरहेकाले नेपालमा जटिल रूप लिन सक्ने उहाँको भनाइ छ ।

यौनसम्पर्कबाट सर्ने

मङ्किपक्स मुख्यतः यौनसम्पर्कको कारणबाट सर्ने रोग हो । त्यसबाहेक सङ्क्रमित भएको व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा उनीहरूबाट घाउ, खटिरा, बिमिराबाट निस्किएको तरल पदार्थ थुक, ¥यालको सम्पर्कबाट पनि यो रोग सर्ने गर्दछ ।

डा. पुनले ज्येष्ठ नागरिक, बालबालिका, निमोनियालगायतका दीर्घरोग लागेका मानिसमा यो रोग देखा परे बढी जोखिम हुने बताउनुभयो । रोग प्रतिरोधात्मक शक्ति कम भएका मानिसमा समस्या जटिल हुन सक्छ । उहाँले रोग फैलिने तरिका थाहा भयो भने मानिसले डराएर रोग लुकाउन सक्ने बताउनुभयो ।

यसअघि नेपालमा गत वर्ष एक विदेशी नागरिकलाई एमपक्स देखिएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले महाशाखाले रोग नियन्त्रणमा सक्रियता देखाएको बताउनुभयो ।

मङ्किपक्सका लक्षण

डा. घिमिरेका अनुसार मङ्किपक्स ‘भाइरल जुनोसिस’ रोग भएको जानकारी दिनुभयो । उहाँका अनुसार ज्वरो आउनु, हातखुट्टा, मुखमा बिमिरा देखिनु, सामान्य ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु, टाउको ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थी बढ्नु मङ्किपक्सका लक्षण हुन् ।

डा. पुनका अनुसार मङ्किपक्सका कारण आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ । अफ्रिकी मुलुकमा मङ्किपक्सबाट सयौँ व्यक्तिको मृत्यु भइसकेको छ । हाल मङ्किपक्स १११ देशमा फैलिइसकेको छ ।

गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button