खबरहेड लाइन

एकपटक यो देशको नेतृत्व र सेवा गर्ने चाहना छ : विप्लव

काठमाडौँ।

नेकपाका महासचिव नेत्रविक्रम चन्दले एक पटक यो देशको नेतृत्व गर्न चाहेको बताएका छन् ।काठमाडौंमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले र माओवादी केन्द्रले पटकपटक सरकारको नेतृत्व गर्दा पनि जनअपेक्षा पूरा गर्न नसकेको भन्दै उनले अब नेकपाले देशको नेतृत्व गर्न चाहेको बताए ।

विप्लवले भने, ‘हामी नेकपाले पनि ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहन्छौं । एकचोटी यो देशको नेतृत्व र सेवा नेकपाले गर्न चाहन्छ…।’

कार्यक्रममा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता जितेन्द्र दाहाललाई विप्लवले आफ्नो पार्टीमा स्वागत गरेका थिए । त्यसलाई उनले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको ध्रुवीकरणको सुरुवातको संज्ञा दिए ।

हालै कपिलवस्तुको शिवगढीमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग ध्रुवीकरण गर्ने निर्णय गरेको जानकारी गराउँदै उनले आजको कार्यक्रम त्यसकै सुरुवात भएको बताए ।

‘हाम्रो केन्द्रीय समितिको बैठकबाट ध्रुवीकरणको जो निर्णय थियो, त्यो निर्णयको पहिलो कदमको रुपमा यो प्रज्ञाभवनको डबलीमा सुरु भएको छ,’ यस्ता ध्रुवीकरण फेरि पनि हुने संकेत गर्दै उनले थपे, ‘यो सुरुवात मात्र हो ।’

माओवादी केन्द्रले पनि ध्रुवीकरणको कुरा गरिरहेको भन्दै उनले तीनपटक सरकारको नेतृत्व र पटक–पटक सत्तामा पुगेको माओवादी केन्द्रले अब जनतालाई के दिनसक्छ भन्ने जिज्ञासा रहेको बताए ।

‘माओवादी केन्द्रले पनि ध्रुवीकरणको कुरा गरिरहेकै छ । माओवादी केन्द्रले तीनपटक प्रधानमन्त्री पाइसक्यो अथवा थुप्रै खालका अवसरहरु पाएको छ र गणतन्त्रपछि लगातार १५ वर्ष माओवादी सत्तामा छ । तर माओवादीले के दिन्छ, त्यहाँ पनि जनताका जिज्ञासाहरु छन्,’ उनले भने ।

अहिले आफूहरुले सुरु गरेको ध्रुवीकरण भ्रष्टाचारका लागि नभएको उनले बताए ।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button