
मेचीनगर, २९ फागुन । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले मौरी पालक किसानलाई मह उत्पादनमा व्यवसायिक भएर लाग्न आग्रह गरिन् ।
आज मेचीनगर–३ स्थित सृजना वस्तीमा नगरपालिकाले आयोजना गरेको आधुनिक मौरी पालन प्रविधि सम्बन्धी ५ दिने समापन तालिमकी प्रमुख अतिथि उपप्रमुख उप्रेतीले यस्तो कुरा बताएकी हुन् ।
तालिममा सहभागी युवा कृषकहरुलाई उनले मौरी पालनबाट मह उत्पादन गरेर ब्राण्ड बनाउनु होस् त्यसमा नगरपालिकाले सहयोग गर्ने बचन दिइन् ।

तालिममा मेचीनगर–२, ३, र ९ नम्बर वडाका ३० जना मौरी पालक कृषकहरुलाई सहभागी रहेको थियो ।
तालिममा सहभागीहरुलाई इलाम स्थित रोङ गाउँपालिकाका मौरी पालक विज्ञ कुमार मोक्तान र रोङ गाउँपालिकाका कृषि प्राविधिक राम तामाङले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख उप्रेती, तालिमका प्रशिक्षक मोक्तान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तालिममा सहभागी मध्ये उत्कृष्ट किसान अर्पणा भट्टराईलाई मौरीपालन सम्बन्धी सामग्री प्रदान गरिएको थियो ।
आधुनिक मौरी पालन तालिम फागुन २५ गतेदेखि सञ्चालन भएको थियो । यसअघि फागुन १८ गतेदेखि ५ दिनसम्म मेचीनगर–२ को बौद्वमोडमा वडा नं.१, २ र ४ का मौरीपालक किसानलाई उक्त तालिम दिइएको थियो ।
आर्थिक आवस्था कमजोर भएर रोजगारीका लागि विदेश पलायन भइरहेका युवा–युवतीहरुलाई कृषिका विभिन्न क्षेत्रमा उत्पादन गरेर आत्मनिर्भर बनाउने उदेश्यले नगरपालिकाले यस्तो तालिमका कार्यक्रमहरु ल्याएको आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले बताए।
उनले मेचीनगर–१, २, ३, ४ र ९ नं.वडाका मौरीपालक किसानलाई तालिम दिइएको बताए । अब चाँडै सुपारी खेती गर्ने कृषकलाई पनि तालिम दिइने कार्कीले जानकारी दिए ।
मेचीनगर–३ का वडाध्यक्ष हर्कबहादुर वस्नेतको अध्यक्षतामा समापन कार्यक्रमको स्वागत आर्थिक विकास समितिकी संयोजक तीलजा देवानले र सञ्चालन कृषि शाखाकी कर्मचारी नम्रता राईले गरेकी थिइन् ।



