खबर

विद्युत् प्राधिकरण साढे दुई खर्ब घाटामा

काठमाडौँ, चैत ७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाहिर चर्चामा आए जसरी नेपाल विद्युत् प्राधिकरण नाफामा नरहेको दाबी गर्नुभएको छ । उहाँले प्राधिकरण अझै साढे दुई खर्ब घाटामा रहेको तथ्याङ्क प्रस्तुत गर्दै यथार्थ जनताले बुझ्नुपर्ने भएकाले सदनमार्फत जानकारी गराएको बताउनुभयो ।

राष्ट्रिय सभामा सो मन्त्रालयसँग सम्बन्धित सभाका सदस्यको मौखिक प्रश्नको उत्तर दिँदै उहाँले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनलाई आधार मान्दा विद्युत् प्राधिकरण अझै साढे दुई खर्बले घाटामा रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “बाहिर एउटा कुरा छ । सरकारकै निकायको प्रतिवेदनले यथार्थ अर्कै देखाउँछ । सभाका सदस्यले पनि लहलहैमा लागेर बोल्नुभन्दा यथार्थसँग साक्षात्कार हुनुपर्ने भएकाले जानकारी गराउन चाहन्छु ।”

मन्त्री खड्काले नेपाल सरकारको शतप्रतिशत स्वामित्व रहेको कम्पनीको गतिविधिबारे नेपाल सरकारलाई नै जानकारी नरहेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले कसैप्रति पूर्वाग्रही नभएर सो सम्बन्धमा प्राधिकरणलाई सबै कागजात मन्त्रालयमा बुझाउन निर्देशन दिएको बताउनुभयो । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङप्रति पूर्वाग्रही भएर सरकारले उहाँसँग प्रतिशोध साँध्न लागेको सभाका सदस्यले लगाएको आरोपबारे मन्त्री खड्काले जवाफ दिनुभएको हो ।

मन्त्री खड्काले विद्युत् प्राधिकरणले हाल सात सय मेगावाट मात्रै विद्युत् उत्पादन गरेको सदनलाई जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “सरकारको शतप्रतिशत लगानी रहेको प्राधिकरणले सात सय मेगावाट विद्युत् उत्पादन गर्दा निजी क्षेत्रले दुई हजार आठ सय मेगावाट उत्पादन गरेको छ । अझै पनि लोडसेडिङ छ । हिजो पनि उद्योगको बिजुली कटौती गरेर घरमा आपूर्ति गर्दै लोडसेडिङ अन्त्य गरेको घोषणा गरियो । आज पनि सोही अवस्था छ ।”

उहाँले ८३० मेगावाट विद्युत् भारतबाट आयात भइरहेको जानकारी गराउनुभयो । मन्त्री खड्काले लोडसेडिङ अन्त्य गर्ने नायक व्यक्तिविशेष कोही नभएर जनताको आवश्यकता पूर्ति गर्ने निजी क्षेत्र र भारतलाई धन्यवाद दिनुपर्ने धारणा राख्नुभयो ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button