
मेचीनगर, १३ चैत । मेचीनगर नगरपालिकाको गौरवको योजना सहिद विश्वनाथ मार्गको आजदेखि काँकरभिट्टाबाट कालोपत्रे गर्ने काम सुरु भएको छ ।
विश्व बैंकको आयोजना अन्तरगत नगरपालिकाले काँकरभिट्टाको भट्टराई चोक नजिकदेखि बाहुनडाँगी बजार सम्मको साढे ८ किलोमिटर सडकको आजदेखि कालोपत्रे गर्ने काम सुरु भएको हो ।
विगतको सूर्योदय मार्गलाई परिवर्तन गरी सहिद विश्वनाथ घिमिरेको नाममा सहिद विश्वनाथ मार्गको रुपमा सडक विस्तार गरिएको छ ।
मेचीनगरको दुई ठुला सडकमध्ये विश्वनाथ मार्गको ठेक्का कनकाई इन्टरनेशनल विल्डर्स प्रालिले लिएको छ ।
नगरपालिकाका ईन्जिनियर जीवन भट्टराईले गत बैशाखमा सम्झौता गरेर उक्त कम्पनीलाई ठेक्का दिएको बताए । आजदेखि कालोपत्रे गर्न सुरु गरिएको उनको भनाई छ । उनका अनुसार सुरुमा ८०० मिटर कालोपत्रे हुने छ । क्रमशः कालोपत्रे हुँदै जानेछ।

ईन्जिनियर भट्टराईका अनुसार आगामी सन १५ जुलाई २०२५ मा सक्ने गरी सहिद विश्वनाथ मार्गको ठेक्का ३० करोड ८७ लाख ५७ हजार ९१८ रुपैयाँ २० पैसामा सम्झौता गरिएको छ ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले काँकरभिट्टादेखि बाहुनडाँगीसम्म साढे आठ किलोमिटर ड्रेनसहित गुणस्तरीय सडक बन्ने बताए । उक्त सडक निर्माणका लागि स्थानीय नगरवासीले सहयोग गरिदिन उनले आग्रह गरेका छन् ।
आजदेखि सुरु भएको कालापत्रे सडकको नगर प्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, ६ नम्बर वडाका वडा सदस्यहरु ध्रुबकुमार राई र भविन्द्रराज सुब्बाले अवलोकन गरेका छन् ।
यस्तै नगरपालिकाको गौरवको योजना विश्व बैंकको सहयोगमा सहिद विरेन मार्ग धुलाबारीदेखी मेचीनगर–९ को थोप्लेविरान सम्म चार दशमलव ८ किलोमिटर सडक निर्माण हुँदैछ ।
उक्त ठेक्का एनएनटी डेभलोपर भारतको पटना कम्पनीले करिव ८७ करोडमा लिएको छ । त्यहाँको पनि कालोपत्रे गर्न काम अन्तिम चरणमा पुगेको छ ।



