खबर

कुकुरको जोखिम न्युनिकरण गर्न बन्ध्याकरण

४२१ वटाको बन्ध्याकरण

मेचीनगर । मेचीनगरमा सामुदायिक कुकुरको निःशुल्क बन्ध्याकरण शिविर सम्पन्न भएको छ ।
यही चैत २२ गतेदेखि सञ्चालन गरिएको शिविरमा ४२१ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ ।
हार्ट नेपालका प्राविधिक टोली प्रमुख चन्द्र आङबु राईले नगरको १५ वटै वडाबाट समातेर ल्यायएका ४३४ वटा सामुदायिक कुकुरहरु मध्ये ४२१ वटाको बन्ध्याकरण गरिएको जानकारी दिए ।
उनले बाँकी १३ वटा कुकुरको क्यान्सर लगायतका विभिन्न रोगका कारण बन्ध्याकरण गर्न नसकिएको बताए ।
मेचीनगर–१ नं.वडाबाट ३७, वडा नं.२ बाट ९, वडा नं.३ बाट १९, वडा नं.४ बाट २८, वडा नं.५ बाट २७, वडा नं.६ बाट ५६, वडा नं.७ बाट ७०, वडा नं.८ बाट ६० वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।
त्यस्तै वडा नं.९ बाट १९, वडा नं.१० बाट २८, वडा नं.११ बाट २३, वडा नं.१२ बाट १३, वडा नं.१३ बाट २५, वडा नं.१४ बाट ९ र वडा नं.१५ बाट ११ वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।


मेचीनगर–८, ईटाभट्टा स्थित आदर्श मावि परिसरमा नगरपालिकाको आयोजना र पोखरा स्थित राष्ट्रिस्तरको गैरसरकारी संस्था हार्ट नेपाल (हिमालयन एनिमल रेस्क्यु ट्रष्ट) को प्राविधिक सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा हार्टका प्राविधिक राईको नेतृत्वमा १२ जना र नगरपालिकाका ८ जना स्वास्थ्य प्राविधिक कर्मचारीको टोली खटिएका थिए ।
समापनको अवसरमा हार्टका प्राविधिक राईलाई उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकी य अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, खाद्य विश्लेषक दिपेन्द्र कार्की लगायतले प्रशांसा पत्रद्वारा सम्मान गरेका थिए ।
मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले कुकुरले नागरिकहरुलाई, बाख्रा, भैसी, पाडा सबैलाई टोकेर घाइते र ज्यानसम्म गएको अवस्थाका कारण यसको न्युनिकरण र उत्पादन संख्या घटाउने उदेश्यले विगत वर्षदेखि बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको बताए ।
उनले अब कुकुरको पहिचान गरी लगत संकलन गर्ने र कुकुरको शरिरमा डिजिटल चिप्स् लगाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button