कृषि र किसानखबरहेड लाइन

झार मार्न विषादीको अनियन्त्रित प्रयोग

अधिक विषादी प्रयोगका कारण चितवनमा डढ्न लागेको केराका बिरुवा । तस्बिर : शालिग्राम नेपाल

केशवराज पौडेल

काठमाडौँ, कात्तिक १६ गते । पर्यावरण तथा माटोमा हुने प्रतिकूल प्रभावका बाबजुद पछिल्लो समय किसानहरू झारनाशक विषादीको प्रयोगमा आकर्षित भएका छन् । समयको अभाव, कृषिमा आवश्यक जनशक्ति कमी, अत्यधिक ज्याला मूल्यले उत्पादन लागत बढ्ने भएपछि किसानले बाली लगाउनुपूर्व नै झारनाशक विषादीको प्रयोग गर्न थालेका छन् ।

धान खेतभित्र अनावश्यक रूपमा उम्रने झारले उत्पादनमा असर पारेकाले विषादीको प्रयोग बढेको भन्दै सिन्धुलीको कमलामाई नगरपालिका–१० निवासी श्यामनाथ बरालले यो वर्ष रोपाइँ गर्दा आफूले १५ कट्ठा जमिनमा झारनाशक विषादी प्रयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकातिर धान गाड्ने बेला जनशक्तिको अभाव, अर्कोतिर खर्चको पनि बचत । त्यसैले मैले त एक हजार रुपियाँ बराबरको झारनाशक विषादी ल्याएर छर्किएँ ।”

कतिपय किसान भने झार मार्ने विषादी प्रयोग गरेकाले पछुतो पनि मान्न थालेका छन् । अदुवा खेतीका लागि तयार पारेको बारीमा झार नआओस् भनेर झारनाशक विषादीको प्रयोग गरेका मण्डनदेउपुर नगरपालिका–८, काभ्रेपलाञ्चोकका दिलीप हमाल अहिले चिन्तामा हुनुहुन्छ । विषादीले अदुवामा पनि असर गरेको र अदुवामा आउने झारको नियमित गोडमेल गर्दा त्यही झार मलका रूपमा प्रयोग हुने र आम्दानी बढ्ने कुरा बुझ्न आफूलाई समय लागेको उहाँले बताउनुभयो । “छिमेकीले नियमित हातले गोडेको अदुवा खेती र आफूले झारनाशक विषादी छर्केर गरेको खेतीमा ठुलो अन्तर देखिएको छ । त्यस्तो झारनाशक विषादीले माटोको उर्वराशक्तिलाई नै नास गर्ने रहेछ,” हमालले भन्नुभयो । उहाँले खेतीमा त्यस्तो गल्ती अब नगर्ने बताउनुभयो ।

सजिलोका लागि धान, मकै र तरकारी बालीमा झार नआओस् भनेर किसानले झारनाशक विषादीको प्रयोग गर्न थालेपछि माटोको गुणस्तरमा कमी आउन थालेको छ । त्यसले अरू विषादीको प्रयोग हुने व्रmम बढाएको छ । झार मार्ने नाउँमा किसान विषादीतर्फ आकर्षित भए पनि यसले माटोको स्वास्थ्य, पानीको स्रोत र समग्र पर्यावरणलाई असर पारेको रेसम विकास केन्द्रका कृषि प्रचार अधिकृत कृष्ण धितालले बताउनुभयो । बालीमा झार नआओस् भनेर विषादी हाल्ने क्रम बढेसँगै त्यसले माटोको स्वास्थ्यमा असर देखिन थालेको उहाँले बताउनुभयो । केही वर्षअघिसम्म मधेश र भित्री मधेशमा फाट्टफुट्ट प्रयोग हुने झारनाशक विषादीको प्रयोग पहाडी र उच्च पहाडी क्षेत्रमा फैलिएको र यसले माटोको स्वास्थ्यमा दीर्घकालीन रूपमा असर पार्ने धितालले बताउनुभयो ।

धान गोड्न खेताला लगाउनुभन्दा झारनाशक विषादीको प्रयोग गर्ने क्रम बढेसँगै माटोमा अम्लीयपना बढ्ने भएकाले यस्तो विषादी प्रयोग गर्न नहुने जिल्ला कृषि विकास कार्यालय धुलिखेलका कृषि प्रसार अधिकृत कुलप्रसाद दवाडीले बताउनुभयो ।

विषादीको प्रयोगले माटोको उर्वराशक्तिमा ह्रास ल्याई दीर्घकालीन रूपमा असर पार्ने जानकारी कृषकसम्म पु¥याउन आवश्यक रहेको उहाँहरूको भनाइ छ । विशेष गरेर विभिन्न बालीको उच्चतम वृद्धि र उत्पादनका लागि खेतबारीको माटोमा अक्सिजनको मात्रा मिलाउन झारलाई विषादीको प्रयोगबाट भन्दा खेतबारीमै गएर निकाल्नु बढी फाइदा हुने उहाँले उल्लेख गर्नुभयो ।

खास गरी यतिबेला ब्युटाक्लोर, ग्लाइफोसेट, पाराक्वाट जस्ता झारनाशक विषादीको प्रयोग बढी हुने गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि प्रचार अधिकृत दीपक पौडेलले यसरी प्रयोग हुने विषादीले पानीको स्रोतमा समेत असर पार्ने र विशेष रूपमा जङ्गली जनावर धेरै प्रभावित हुने बताउनुभयो । पछिल्लो समय मानिस सोखिन हुन थालेको र माटोलाई नै असर हुने गरेर यसको प्रयोग बढेको धितालले बताउनुभयो । उहाँले आफ्ना वरिपरि भएको जैविक विषादीको प्रयोग गरेर उत्पादन बढाउन सकिनेमा जोड दिनुभयो ।

लामो समयदेखि अर्गानिक खेतीको प्रोत्साहनमा सचेतना जगाउँदै आउनुभएका अग्रणी किसान अम्बिका हमालले जैविक विषादीको प्रयोग नै उपयुक्त विकल्प रहेको उल्लेख गर्नुभयो । बालीमा अनावश्यक झार नआओस् भनेर विषादीको प्रयोग गर्दा त्यसले माटो र बालीको स्वास्थ्यमा असर पार्नेतर्फ सचेत हुन आवश्यक रहेको बताउनुभयो ।

“कामदार नपाइने, पाइहाले पनि धेरै महँगो पर्न जाने हुँदा किसानले झारनाशक विषादी प्रयोग गरेको पाइन्छ,” उहाँले भन्नुभयो, “तर सकेसम्म यसको प्रयोग नगर्दा राम्रो, नभए विशेष सावधानी अपनाउनै पर्छ ।” विषादी प्रयोग गर्ने क्रममा किसान कुन विषादी कति मात्रामा प्रयोग गर्ने विषयमा भने सचेतना आवश्यक हुने उहाँले उल्लेख गर्नुभयो । विषादीको बाहिरी आवरण (खोलमा) कुन विषादीको विवरण र प्रयोग राखिएको हुन्छ । विषादीको प्रयोग प्रतिएमएल कति लिटर पानीमा घोलेर बालीमा छर्ने त्यसमा किसानलाई जानकारी हुनु पर्छ । जङ्गलको झार वा बाटो वरपरका झार मार्नु पर्दा कडा खालको विषादी प्रयोग हुन्छ । त्यस्ता विषादी धान बालीमा कदापि प्रयोग नहुने हमालको सुझाव छ ।गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button