खबर

समानुपातिकमा ६७ दलको निवेदन

काठमाडौँ, मङ्सिर २३ गते । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ६७ वटा दलले दर्ताको निवेदन दिएका छन् । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ताका लागि मङ्सिर २१ देखि २३ गतेसम्मको समयसीमा तोकेको छ ।

आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसका अनुसार दल दर्ताको दोस्रो दिन सोमबार ३४ वटा दलको निवेदन आयोगमा प्राप्त भएको हो । यसअघि आइतबार ३३ वटा दलले दर्ताका लागि निवेदन दिएका थिए । सहायक प्रवक्ता श्रीसले मङ्सिर २३ गते मङ्गलबार दिउँसो ४ बजेसम्म निवेदन आएका दलहरूका लागि निवेदनको समयसीमा तोकिएको जानकारी दिनुभयो । आयोगले निवेदन पेस भएका दलको मङ्सिर २४ गते बिहान १० देखि ४ बजेसम्म नामावली प्रकाशन गर्ने, पुस १३ र १४ गते बिहान १० देखि ४ बजेसम्म राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेस गर्ने तथा माघ २० गते बिहान १० देखि ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम छ ।

मतदाता नामावली अद्यावधिक हुँदै

निर्वाचन आयोगले मङ्सिर ५ गतेसम्म देशभरबाट सङ्कलित मतदाता विवरण अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोग पदाधिकारीको मङ्सिर २० गतेको बैठकले सो निर्णय गरेको हो । त्यसै गरी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगको प्रणालीमा प्रविष्ट भएकामध्ये फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुनेलाई मतदाता नामावलीमा नाम समावेश गर्ने गरी निर्दिष्ट मिति (कट अफ डेट) राख्ने आयोगले निर्णय गरेको छ ।

मतदाता नामावलीमा भएको त्रुटि सच्याउन तथा नामावलीउपर दाबी विरोधका लागि आयोगले मङ्सिर २६ गतेसम्मको समयसीमा निर्धारण गरेको छ । त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन, सूचना एवं उजुरी दिन आयोगले सम्बन्धित सरोकारवालालाई आह्वान गरेको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button