खबर

चिसो छल्न बस्ती छाडेपछि सुनसान बन्यो सोलुको खुम्बू क्षेत्र

सोलुखुम्बू- हरेक वर्षको हिउँदयाममा खुम्बू क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरु चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान बन्ने गरेको हो । पर्यटकीय यामका बेला पर्यटकको चहलपहलले गुल्जार रहने लुक्ला, नाम्चे, खुम्जुङ, खुन्दे, फाक्दिङ, लोबुचे, गोरक्सेप जस्ता स्थानहरू अहिले सुनसान रहने गर्छ ।

फागुन १५ देखि जेठ १५ सम्म र असोजदेखि मङ्सिर १५ सम्मलाई मुख्य पर्यटकीय याम मानिन्छ । याममा दैनिक ९०० देखि एक हजार जनासम्म पर्यटक प्रवेश हुने खुम्बू क्षेत्रमा अहिले मुस्किलले दुई–चार जना पर्यटक मात्रै आउने गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेका सूचना अधिकारी विवेक बइजुले जानकारी दिनुभयो ।

होटल खोलेरै बसेका कतिपय होटल व्यवसायी फुर्सदिलो बनेको खुम्बू पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो । स्थानीय बासिन्दा चिसो छल्न अन्यत्र जाँदा खुम्बू सुनसान बनेको उहाँको भनाइ छ । “यहाँ प्रायजसो चिसो भइरहन्छ । अरु समयमा भन्दा पुस, माघमा झन् धेरै चिसो हुने हुँदा यहाँका मानिस जाडो छल्न बेँसी झर्ने गर्दछन् । चिसो छल्न मङ्सिर पहिलो साताबाटै काठमाडौँ, भारतको बोधगयालगायत नेपालका विभिन्न क्षेत्रमा जाने गर्छन्”, खुम्जुङ माध्यमिक विद्यालयका शिक्षक तिलक विश्वकर्माले भन्नुभयो ।

स्थानीय तोयाकुमार श्रेष्ठका अनुसार लुक्ला, नाम्चेलगायतका लज सञ्चालकले घरधनी बाहिर जाँदा काम गर्ने मानिसलाई घर जिम्मा लगाएर जाने गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका कर्मचारीलाई यतिखेर फुर्सद मिलेको छ । निकुञ्जमा मुख्य कार्यालय नाम्चेबाहेक १० चौकी छन् । जसमा दुई वटा रेञ्जपोष्ट छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार खुम्बू क्षेत्रमा पछिल्ला दिनमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा निकै तल छ । नाम्चे बजारमा न्यूनतम तापक्रम माइनस ६ देखि ८ डिग्री सेल्सियससम्म पुगेको स्थानीयको भनाइ छ । गोरक्सेप र कालापत्थर क्षेत्रमा तापक्रम माइनस १० डिग्री सेल्सियसभन्दा तल झरेको बताइएको छ ।नेपाल टिभी अनलाइनबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button