मूल खबर

भन्सारमा सुशासनको प्रत्याभूति आवश्यक

काठमाडौं, माघ १० गते । अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालले पात्र, प्रणाली र पद्धतिको सुधारबाट मात्र भन्सारमा सुशासनको प्रत्याभूत हुने बताउनुभएको छ ।

७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर नेपाल भन्सार एजेन्ट सङ्घ, काठमाडौँले शुक्रबार आयोजना गरेको राजस्व सुरक्षण र व्यापार सहजीकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, निजी क्षेत्र तथा भन्सार एजेन्टबिच साझेदारी विषयमा आयोजित अन्तर्क्रियामा उहाँले सो कुरा बताउनुभएको हो ।

सचिव बरालले भन्सारमा मालवस्तुको वास्तविक कारोबार मूल्यका आधारमा सही घोषणा गर्नुपर्नेमा जोड दिँदै भन्सार सुधारमा भन्सार प्रशासन, निजी क्षेत्र र भन्सार एजेन्ट जिम्मेवार रहनुपर्ने बताउनुभयो ।

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले भन्सार प्रशासनको पहिलो काम व्यापार सहजीकरण भएको बताउँदै भन्सारमा भएका समस्या समाधान गरी नेपालको भन्सार प्रशासनलाई अन्तर्राष्ट्रियस्तरका बनाउन भन्सार विभाग लागिपरेको उल्लेख गर्नुभयो ।

उद्योग वाणिज्य सङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठ तथा नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछानेले व्यापार सहजीकरण एवं भन्सार प्रशासन, निजी क्षेत्र र भन्सार एजेन्टबिचको सहकार्यले देशको राजस्व सङ्कलनमा वृद्धि हुने चर्चा गर्दै वैध व्यापार सहजीकरणमा राज्य जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको सुधारका लागि भएका पहलबारे प्रकाश पार्दै जनअपेक्षाबमोजिमको भन्सार कार्यालय बनाउन सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।

नेपाल भन्सार एजेन्ट सङ्घ काठमाडौँका अध्यक्ष होमनाथ धमलाको अध्यक्षतामा भएको सो कार्यक्रमका सहभागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सुधार तथा व्यापार सहजीकरणमा भन्सार प्रशासन, निजी क्षेत्र तथा भन्सार एजेन्टको भूमिका महìवपूर्ण हुने बताएका थिए ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button