
सिँचाइका लागि जलाशयबाट पम्पसेटमार्फत् पानी लगिँदै । तस्बिर: सन्तोष दहित
दाङ, वैशाख ४ गते । दाङको घोराही उपमहानगरपालिका–१७, कर्जाहीका किसान कृत्रिम जलाशयको सिँचाइ सुविधाले मनग्गे आम्दानी गर्न सफल भएका छन् । करिब १० बिघा क्षेत्रफलमा निर्माण गरिएको जलाशयबाट सिँचाइ सुविधा पुगेपछि सिङ्गो गाउँका किसान बाह्रै महिना व्यावसायिक तरकारी खेतीमा जुटेका छन् । २०७७ सालमा जलाशय निर्माण भएपछि किसानको दैनिकी नै फेरिएको स्थानीय कृषक कृष्णी चौधरीले बताउनुभयो ।
उहाँका अनुसार तरकारी खेतीबाट दैनिक एक हजारदेखि एक हजार पाँच सय रुपियाँसम्म आम्दानी हुने गरेको छ । उहाँले भन्नुभयो, “पहिला मजदुरी गर्न जानुपथ्र्यो, अहिले घरनजिकै सिँचाइ भएपछि व्यावसायिक खेतीमै लागेका छौँ ।” हाल उहाँले १० कट्ठा जमिनमा तरकारी खेती गर्दै आउनुभएको छ ।
जलाशयबाट पम्पसेटमार्फत सिँचाइ गर्ने व्यवस्था मिलाइएकाले तरकारी मात्र होइन, अन्य बाली उत्पादनमा पनि सहज भएको किसानको भनाइ छ । यद्यपि पम्पसेटमा आएको खर्च भने आफूहरू तिर्दै आएको उहाँले बताउनुभयो । सोही क्षेत्रका अर्का कृषक बाबुराम चौधरीले पनि जलाशयकै कारण खेती विस्तार गर्न सम्भव भएको बताउनुभयो ।
सुरुमा घरायसी प्रयोजनका लागि मात्र खेती गर्दै आउनुभएका उहाँले अहिले १५ कट्ठामा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । खेतीबाट भएको आम्दानीले थप १० कट्ठा जमिनसमेत किन्न सफल भएको उहाँले जानकारी दिनुभयो । जलाशय निर्माणमा स्थानीयको सक्रियता उल्लेखनीय रहेको बताउँदै चौधरीले पालिकासँग समन्वय गरेर योजना अघि बढाइएको स्मरण गर्नुभयो । “जलाशय बनेपछि पानीको अभाव हट्नुका साथै आर्थिक अवस्था पनि सुधार भएको छ,” उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा गएकासमेत गाउँ फर्केर खेतीमा लाग्न थालेका छन् ।”
हाल कर्जाहीका करिब एक सयभन्दा बढी घरपरिवार व्यावसायिक तरकारी खेतीमा आबद्ध छन् । किसान बिहान सबेरै घोराही बजार पुगेर तरकारी बेच्छन् ।
गोरखापत्र अनलाइन



