
ई. श्याम कुमार भट्टराई
साधारण नेपाली सन्दर्भमा ADHD लाई यसरी बुझ्न सकिन्छ: ध्यान केन्द्रित गर्न कठिनाइ, अतिचञ्चल र आवेगपूर्ण व्यवहारहरू बालबालिकाहरूमा अस्वाभाविक रूपमा देखिनुलाई बुझ्नु पर्ने हुन्छ।
ADHD वास्तवमा बालबालिकामा हुने मस्तिष्क स्नायुहरूको विकास सम्बन्धी अवस्था (Neurodevelopmental Condition) हो जसमा बालबालिकाहरूको ध्यान केन्द्रित गर्ने क्षमता (Attention Span), आत्म–नियन्त्रण (Self-Control) र सक्रियताको स्तर आदिमा असर परेको हुन्छ। ADHD भएका बालबालिकाहरूमा यी गुणहरू आफ्ना समान उमेरका साथीहरूभन्दा असाधारण रूपमा फरक रहेका हुन्छन् र यी व्यवहारहरू जति चाँडो पहिचान गर्न सकियो त्यति नै उनीहरूलाई सामान्य रूपमा फर्काउन सहज हुन्छ। ADHD प्रायः सानै उमेरमा देखिने र कतिपयमा यो वयस्क अवस्थासम्म पनि रहन सक्छ।
ADHD का प्रकार (DSM-5 को वर्गीकरण अनुसार)
१. ध्यान केन्द्रित गर्ने समस्या मुख्य भएको (Predominantly Inattentive Type – ADHD-I)
यस प्रकारको ADHD भएका बालबालिकाहरूमा मुख्य समस्या ध्यान केन्द्रित गर्न कठिनाइ हुने हुन्छ। हामीले हेर्दा उनीहरू एकोहोरो कतै हराएका जस्तो, आफ्नै सपनामा रहेका जस्तो देखिन्छन् किनकि आफ्ना वरिपरि भइरहेका घटनाहरूमा उनीहरू जोडिएका हुँदैनन्। कक्षामा शिक्षकले सिकाइरहेको विषयमा उनीहरू ध्यान दिइरहेका हुँदैनन्, गृहकार्य गर्ने कार्यमा रुचि देखाउँदैनन्। घरमा पनि सानातिना कामहरू सम्पन्न गर्न सक्दैनन्। बालबालिकाहरूका यस्ता व्यवहारहरूलाई हामीले अल्छीपन, अटेरीपन र सिक्ने उत्साहको कमीको रूपमा मात्र बुझिरहेका हुन्छौँ, जबकि वास्तवमा मुख्य कारण ADHD हुन सक्छ जसले उनीहरूमा ध्यान केन्द्रित गर्न सक्ने क्षमतामा प्रभाव पारेको हुन्छ।
२. अत्यधिक चञ्चलता र आवेगयुक्त व्यवहार मुख्य भएको
(Predominantly Hyperactive-Impulsive Type – ADHD-HI)
यस प्रकारको ADHD भएका बालबालिकाहरूमा ध्यान केन्द्रित गर्ने समस्या प्रमुख नभई उनीहरूको व्यवहारमा अतिचञ्चलता, स्थिरताको कमी र आवेगयुक्त प्रतिक्रियाहरूको प्रचुरता देखिन्छ।
कक्षामा बालबालिकाहरूले बारम्बार आफ्नो स्थानबाट उठिरहने, बेन्चमा बस्दा समेत हलचल गरिरहने, अरूसाथीसँग चलिरहने गर्न सक्छन्। शिक्षकले प्रश्न गरेमा पनि प्रश्न पूरा नहुँदै जवाफ फर्काउँछन्। खेल्दा पनि पालो पर्खने काम गर्दैनन्। प्रायः उफ्रिरहेका, दौडिरहेका, ठूलो स्वरमा बोल्ने जस्ता व्यवहारहरू देखाइरहेका हुन्छन्। घरमा पनि स्थिर भएर एक स्थानमा बस्दैनन्, आफ्ना सामान फ्याँक्ने, हटाउने कार्यहरू गरिरहेका हुन्छन्। यो व्यवहार अभिभावकहरूले उमेरजन्य, प्राकृतिक रूपमा हुने व्यवहारको रूपमा लिइरहेका हुन्छन् तर ADHD पो मुख्य कारण हो कि भनी सतर्क हुनु त्यतिकै महत्त्वपूर्ण हुन्छ।
३. मिश्रित वा संयुक्त (Combined Type – ADHD-C)
माथि उल्लेख गरिएका दुवै प्रकारका समस्याहरू संयुक्त रूपमा देखिन्छन्। यस प्रकारको ADHD मा बालबालिकाहरू बढी समस्यामूलक व्यवहारहरूमा रहने हुनाले विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ। यस प्रकारको ADHD को पहिचान जति सानो उमेरमा गर्न सकियो त्यति नै सुधारको सम्भावना उच्च रहने हुन्छ।
बालबालिकाका अभिभावक एवं शिक्षक वर्गहरूले निम्न उल्लेखित लक्षणहरूमा ध्यान पुर्याउन सकेमा ADHD को पहिचान गर्न आवश्यक पहल गर्न सहयोग पुग्छ।
क. ध्यान केन्द्रित गर्न कठिनाइ हुने लक्षणहरू
– काम वा खेलकुद गर्दा ध्यान दिन नसक्ने
– कुरा गर्दा वा बोलाउँदा प्रतिक्रिया नदेखाउने
– थालेको काम नगर्ने, वा अधुरो छोड्ने
– लापरवाह प्रकारले सामानहरू छरपस्ट पार्ने
– बुद्धि लगाउनुपर्ने कामहरू नगर्ने (जस्तै गृहकार्य, लेखपढ गर्ने आदि)
– आफ्ना सामानहरू हराइरहने
– सजिलै ध्यान भंगिने, बिर्सने
– लापरवाह किसिमको व्यवहार गर्ने
ख. अस्थिरता, अतिचञ्चलता, अति सक्रियता र आवेगपूर्ण व्यवहारका लक्षणहरू
– हातखुट्टा स्वतःस्फूर्त रूपमा चलाइरहने
– स्थिर नभई शरीर हल्लाइरहने
– तोकिएको स्थानमा बसिरहन नसक्ने
– अनावश्यक रूपमा दौडने, चढ्ने कार्यहरू गर्ने
– शान्त रूपमा खेलमा रमाउन नसक्ने
– अत्यधिक बोल्ने
– अरूको कुराकानी भइरहेको बेला बीचमा बोल्ने
– प्रश्न पूरा हुन नपाई उत्तर दिइहाल्ने
– पालो पर्खने, लाइनमा बस्ने जस्तो कार्य गर्न कठिनाइ हुने
– अरूलाई बाधा पुर्याउने।
माथि उल्लेखित लक्षणहरूमा हामीले ध्यान पुर्याउन सक्यौँ भने हामी बालबालिकामा ADHD छ कि भनेर पहिचान सम्बन्धी कार्यद्वारा निश्चित गर्न सक्छौँ। साना बच्चाहरू हुन्, उमेरले पनि यस्ता व्यवहारहरू सामान्य नै हुन्छन् र हुर्कँदै गएपछि स्वतः सुधार आइहाल्छ भनेर बस्यौँ भने सही व्यवस्थापन गर्न ढिलो हुन गई स्थिति समस्यापूर्ण हुन सक्छ।
अब हामी ADHD को व्यवस्थापन सम्बन्धमा छलफल गरौँ। ADHD को पूर्ण उपचार हालसम्म उपलब्ध हुन सकेको छैन तर सही थेरापी, शैक्षिक, सामाजिक र पारिवारिक सहयोग प्रयोग गरेर बालबालिकाको विकासमा ठूलो सुधार ल्याउन सकिन्छ। ADHD लाई सामान्यतया बहुआयामिक दृष्टिकोण (Multimodal Approach) द्वारा उपचारात्मक प्रक्रियामा सम्लग्न गरिन्छ।
१. शीघ्र पहिचान (Early Identification)
ADHD का लक्षणहरू प्रायः प्रारम्भिक बाल्यकालमै देखिन थाल्छन्। DSM-5 अनुसार ADHD का लक्षणहरू १२ वर्षको उमेर अघि नै सुरु भएको हुनुपर्छ। त्यसैले जति सानो उमेरमा पहिचान गर्न सकियो त्यति नै समाधानतर्फ अघि बढ्न सहज हुन्छ।
कान्ति बाल अस्पताल, बालविशेष भएका अस्पताल, निजी मनोविद्हरूमार्फत विभिन्न पहिचान विधिहरू प्रयोग गरेर ADHD भएको–नभएको निष्कर्ष गर्न सकिन्छ।
२. व्यवहारिक थेरापी (Behavioral Therapy)
विशेष गरी कम उमेरका बालबालिकाहरूमा व्यवहारिक थेरापी ADHD को व्यवस्थापनमा प्रभावकारी मानिन्छ। बालबालिकाहरूको समस्याग्रस्त व्यवहारहरूमा विभिन्न तरिकाहरू अपनाएर सकारात्मक परिवर्तन गर्ने प्रयास गरिन्छ। केही अवस्थामा Applied Behavior Analysis (ABA) जस्ता व्यवहारिक प्रविधिहरू पनि प्रयोग गरिन्छ, जसले बालबालिकामा सकारात्मक व्यवहार विकास गर्न सहयोग पुर्याउँछ।
यसअन्तर्गत सकारात्मक व्यवहार प्रदर्शन गरेमा बालबालिकालाई उक्त व्यवहारका लागि उत्साहित वा पुरस्कृत गरिन्छ। उनीहरूलाई स्पष्ट निर्देशनद्वारा अनुकूल व्यवहार अपनाउन प्रेरित गरिन्छ। यसअन्तर्गत Positive Reinforcement, Token Economy, Clear Rules जस्ता टेक्निकहरू महत्त्वपूर्ण रूपमा प्रयोग हुन्छन्।
३. अभिभावक जागरूकता/तालिम (Parent Training)
ADHD भएका बालबालिकाको अभिभावक भूमिका महत्त्वपूर्ण एवं चुनौतीपूर्ण रहने हुँदा अभिभावक लक्षित जागरूकता र तालिमको अपरिहार्य आवश्यकता रहेको छ। यसले अभिभावकहरूमा आफ्ना बच्चाको व्यवहार व्यवस्थापन गर्ने सीप विकास गर्दछ साथै घर र विद्यालय दुवै वातावरणमा बालबालिकाहरूले लगभग एकरूपता महसुस गर्दा व्यवहारिक सिकाइ प्रक्रियामा टेवा पुग्न जान्छ।
घरमा अभिभावकहरूले आफ्ना बच्चाको बिहान उठ्ने, खाना खाने, पढ्ने, खेल्ने, सुत्ने समयको एउटा निर्धारित दिनचर्यामा सहजीकरण गर्ने, खेल्दा पनि सम्पूर्ण ध्यान (भलै केही मिनेटको होस्) खेलमै केन्द्रित गराउने प्रयास गर्ने, साना साना कार्य विभाजन गरी आफ्नो काम गर्न प्रेरित गर्ने (जस्तै: खेलौना बट्टामा राख, किताबहरू शेल्फमा मिलाएर राख, कप प्लेट धुने ठाउँमा राख आदि)। यी साना देखिने कार्यहरूले क्रमशः बालबालिकामा स्वनियन्त्रणको क्षमता विकास हुन गई बिस्तारै ठूला कार्य गर्न उत्प्रेरित एवं उत्साहित बनाउँछन्।
४. विद्यालयको शैक्षिक रणनीति
बालबालिकाहरूको मुख्य समय विद्यालयको वातावरणमा बित्ने हुनाले शिक्षकहरूको रचनात्मक हस्तक्षेप र प्रयास ADHD भएका बालबालिकाहरूको सुधारमा महत्त्वपूर्ण पक्षको रूपमा लिन सकिन्छ। शिक्षकहरूद्वारा कक्षाकोठामा विद्यार्थीलाई अगाडि बस्ने व्यवस्था गर्ने, सिकाउँदा साना साना समूहको रूपमा सिकाउने, बारम्बार सकारात्मक प्रतिक्रिया दिएर अघि बढाउने, आवश्यकताअनुसार आफ्नो स्थानमा उभिएर पढ्न प्रेरित गर्ने, छोटो र अर्थपूर्ण निर्देशनहरू दिने (जस्तै: आफ्नो पालो पर्खने अभ्यास, स्थिर रूपमा आफ्नो कुरा भन्न प्रेरित गर्ने) कार्यहरूले बालबालिकाहरूमा सकारात्मक परिवर्तन ल्याउन धेरै सहयोग पुग्छ।
शिक्षक-अभिभावकबीच निरन्तर संवाद एवं जानकारीहरू स्पष्ट रूपमा आदानप्रदान गर्ने अभ्यासले बालबालिकाहरूको प्रगति समीक्षा गर्ने, कमजोरीहरू सुधार गर्ने, अन्य उपयुक्त विधिहरू प्रयोग गर्ने र दुवै वातावरणमा एकरूपता कायम गर्ने समेत सुधार पुग्ने हुन्छ।
५. चिकित्सीय उपचार
विशेष गरी मिश्रित प्रकारको ADHD भएका बालबालिकाहरूलाई विज्ञ चिकित्सकको निर्देशनमा आवश्यक औषधिहरूको प्रयोग गर्नुपर्ने हुन्छ। साथै उनीहरूलाई उपयुक्त विशेषज्ञमार्फत आवश्यक थेरापी पनि सुरु गर्नुपर्छ। दुवै सँगसँगै अघि बढाउँदा बालबालिकाले समयअनुसार सुधार अनुभव गर्न सक्छन्। उपयुक्त औषधि र थेरापीको संयोजनले उनीहरूको विकासमा उल्लेखनीय प्रगति प्राप्त गर्न सहयोग पुर्याउँछ।
६. अन्य सहायक उपायहरू
ADHD सम्बन्धमा सक्दो जानकारी प्राप्त गर्ने र उपयुक्त विधि, थेरापी प्रयोगमा सक्रिय प्रयास गर्ने, धैर्यता राखी निरन्तर सकारात्मक व्यवहार अपनाउन सकियो भने बालबालिकामा क्रमिक सुधार ल्याउन सहज हुन्छ। जस्तै: बालबालिकाहरूको अति सक्रियताको शक्तिलाई रचनात्मक रूपमा शारीरिक खेलहरूमा रूपान्तरण गर्न सकियो भने त्यसबाट स्वतः अपेक्षित परिणाम हासिल गर्न सकिन्छ। बालबालिकाहरूको स्वास्थ्य, आहार, निद्रा आदिमा उपयुक्त व्यवस्थापन गर्दा समेत उनीहरूमा आशातीत सुधार हुन पुग्छ।
अभिभावकहरूले सक्षम सहयोग समूह गठन गरी एकअर्काको अनुभवहरू प्रदानद्वारा एक संगठित समूहको रूपमा अघि बढ्न सके यसले समेत प्रभावकारी भूमिका प्रदान गर्न सक्छ। ADHD पहिचान भएका बालबालिकाको पक्षमा सरकारबाट प्राप्त गर्न सकिने सुविधाहरूको साथै अन्य आवश्यक सहयोगका लागि संयुक्त आवाज उठाउने कार्य समेत गर्न सामूहिक रूपमा प्रयासहरू गर्न सकिन्छ।
हाम्रो देशको सन्दर्भमा सबैभन्दा ठूलो चुनौती नै जागरूकताको कमी, उपलब्ध सेवाहरूमा पहुँच नहुनु, यसप्रति गलत सामाजिक धारणा, यसको उपचार प्रक्रियामा पर्ने आर्थिक भार आदि नै हुन्। शैक्षिक संस्थाहरू समेतमा समावेशी दृष्टिकोणको कमी हुनु र सरकारी सहयोगमा अपेक्षाभन्दा लगानीमा ध्यान नपुग्नु पनि अपेक्षित उपलब्धिमा तगारोको रूपमा रहेका छन्।
मनोविद् तथा इन्जिनियर भट्टराई हाल नेपाल एकेडेमी अफ साइकोलोजीमा कार्यरत छन्।



