
मेचीनगर। नेपाल उद्योग बाणिज्य महासंघका केशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले विदेशबाट फर्किएका युवाहरुलाई उद्योगी–व्यवसायीले रोजगार दिने बताएका छन् ।
शनिबार धुलाबारी स्थित टाृन हलमा आयोजित मेची उद्योग बाणिज्य संघको २१ औं बार्षिक साधारण सभाका प्रमुख अतिथि राउतले यस्तो बताएका हुन् ।
उनले विदेशबाट फर्किएर आएका व्यक्तिहरुको पुनःएकीकरण परियोजना (रेमी) सँगको सहकार्यमा १६० जना युवालाई रोजगार दिने तयारी गरिएको जानकारी दिए ।
उद्योगी–व्यवसायीले आफ्नो उद्योगमा वेरोजगार युवाहरुलाई काममा लगाउने उनको भनाई छ ।
‘जेनजी आन्दोलनपछि व्यवसायीलाई लगानी गर्ने बातावरण छैन्’, राउतले भने–‘आशा गर्ने ठाउँ छैन् । सुरक्षा छैन् । निजी क्षेत्रले आन्दोलनपछि सरकारलाई झन सहयोग गरिरहेको छ ।’
कार्यक्रममा मेची उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष पन्नलाल जैन, पूर्व अध्यक्ष केशवराज पाण्डे, इनरुवा बाणिज्य संघका अध्यक्ष वीरेन्द्रकुमार साह, मेचीनगरका पूर्व मेयर विमल आचार्य लगायतले राज्यको नीति ठिक नभएको बताएका छन् । उनीहरुले सरकारले पहिला व्यवसायीको कुरा सुन्ने र अनि मात्र गलत भए थुन्न हो । तर, व्यवसायीको कुरा नसुनी थुन्ने कार्यको घोर विरोध रहेको छ ।
मेची भन्सारले गर्यो सम्मान
सोही अवसरमा मेची भन्सार कार्यालयका भन्सार अधिकृत माङकल राईले जेनजी आन्दोलनमा खरानी भएको भन्सार कार्यालयलाई बाणिज्य संघले प्राविधिक सहयोग गरेर चाँडो सेवा प्रवाह भएको भन्दै सम्मान गरेको थियो ।
आगलागी पीडित व्यवसायीलाई राहत
कार्यक्रममा आगलागीबाट पीडित व्यवसायीहरुलाई राहत प्रदान गरिएको थियो । राहत लिनेमा अस्मिता पाउरोटी उद्योगका सञ्चालक रोहीबहादुर पोखरेलले ३० हजार, अधिकारी भेट्सका सञ्चालक आशिष अधिकारीले ४० हजार र शहनी फुड्सका सञ्चालक चुमन शहनीको मृत्यु भएकोले उनको एक लाख रुपैयाँ राहत रकम छोरा सुमन शहनीले लिएका थिए ।
आर्थिक पत्रकारिता पुरस्कार मुखियालाई
यसैगरी, संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कार यसपटक पत्रकार गणेशमान मुखियालाई प्रदान गरिएको छ ।
कान्तिपुर टेलिभिजन एचडीका झापा सम्वाददाता बिर्तामोड निवासी मुखियालाई नगद २१ हजार राशिको पुरस्कारसहित सम्मान गरिएको हो । उनको सम्मानपत्र नेपाल पत्रकार महासंघ झापा शाखाका कोषाध्यक्ष मुक्ति पौडेलले बाचन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राउत र मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं लगायत अतिथिहरूले उनलाई नगदसहित सम्मान गरेका थिए ।
मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले स्वागतसहित बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । महासचिव दिनेश शाक्यले सञ्चालन गरेको कार्यक्रमको समापन वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्री (कपिल)ले गरेका थिए ।



