
लमजुङको मस्र्याङ्दी गाउँपालिका–४, मिप्रागाउँको छिप्ली भिरमा मह सिकार गर्दै स्थानीय ।
नवीनराज कुइँकेल
लमजुङ, वैशाख ३० गते । कहालीलाग्दो भिर । माथि हेर्दा टोपी खस्ने छङ्गाछुर ठाडो भिर अनि भिरका कापामा लहरै रहेका भिरमौरीका गोला । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४, मिप्रागाउँको छिप्ली भिरको पहरालगायत जिल्लाका विभिन्न स्थानमा भिरमौरीका गोलाबाट मह काढ्न स्थानीय मह सिकारीको होडबाजी नै चल्छ । कहालीलाग्दो भिरमा डोरीको सहारामा झुन्डिएर गरिने यस्तो मह सिकारको दृश्य देख्ने जोकोहीले साँच्चिकै चाखका साथ हेर्ने गरेको पाइन्छ । पछिल्लो समय यस्तो डरलादो दृश्य हेर्न आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुन थालेका छन् ।
यसरी गरिन्छ सिकार
मह सिकार गर्नुपूर्व भिरमौरी रहेको पहराको सिरानमा वनदेवताको पूजा गर्ने परम्परा छ । पूजाको काम सकिएपछि मध्याह्नतिर लुठा (बाबियोको डोरीमा काठको डन्डी बाँधेर बनाइएको भ¥याङ) सहितको डोरी, टाँगा र डालो लिएर मह सिकारी जङ्गलको पहरातिर लाग्छन् । मौरी रहेको भिरको किनारमा एक समूहले चिसो र काँचो स्याउला बालेर धुवाँको मुस्लो निकाल्छन् । अनि भिरका चट्टानमा रहेका दर्जनौँ गोलाका लाखौँ भिरमौरी गोलै छाडेर भुनभुनाउन थाल्छन् । आफ्नो टाउकैवरिपरि अरिङ्गाल जत्रा मौरी भुनभुनाउँदा पनि न सिकारी आत्तिन्छन् न त सहयोग गर्न पुगेका गाउँले नै ।
त्यत्रो छङ्गाछुर भिरमा लुठा गाँसेको एक सय हात लामो डोरी मौरीको गोलामै ठोस्सिने गरी झुन्ड्याइन्छ, अनि त्यसैमा अडिएर सिकार खेल्न थाल्छन् मह सिकारी । मह सिकारीलाई केही मौरीले घेर्नुका साथै चिल्न पनि थाल्छन् । भुइँमा बस्ने र सिकार गरेको हेर्नेको मुटु काँपे पनि सिकारी भने कत्ति विचलित नभई मौरीको चाकामाथि टाँगाको निसाना लगाइराख्छन् । पहराको सिरानमा रुख र खम्बा गाडेर डोरी बाँधिन्छ । दुई वटा डोरीमा लुठा गाँसिन्छ र डोरी झारिन्छ । डोरीको भ¥याङमा सिरान, बिच र पुछारमा गरी तीन जना मह सिकारी रहन्छन् ।
काँचो स्याउलाको धुवाँले अत्तालिएर मौरी भाग्न थालेपछि डोरीको भ¥याङको पुछारमा रहने सिकारीले डोरीमा झुन्ड्याइएको डालोलाई निगालोको टाँगाले मौरीको चाकानजिक लैजान्छन् र बिचमा रहेका सिकारीले चाकालाई धारिलो टाँगाले काट्न थाल्छन् । सिरानमा रहेका अर्का सिकारीले डालोमा झरेको चाका तानेर लैजाने गर्छन् । मह सिकारमा दिनभर यस्तै प्रकारको प्रक्रिया चलिरहन्छ । तीन खण्डमा रहने मौरीको चाकामा सिरानमा मह, बिचमा मौरीको दिसा र पुछारमा बच्चा रहने मह सिकारी टेकबहादुर गुरुङले बताउनुभयो । गुरुङका अनुसार पहिला बच्चा र दिसा भएको भाग दाबिलोले घोचेर माथि लगिन्छ अनि बल्ल मह काढ्न सुरु हुन्छ । अनकन्टार भिरमा डोरीको भ¥याङमा हल्लिरहेका मह सिकारीलाई फेदमा बसेका अन्य सहयोगीले इसारा गर्ने गर्छन् । इसाराका लागि डोरी हल्लाउने र ‘कोइतेव कोइतेव’ (घोच घोच), ‘तोचन तोचन’ (माथि लैजाउ) भनेर इसारा गर्ने र सिकारी पनि सोही अनुसार काम गर्ने स्थानीय प्रदीप गुरुङले बताउनुभयो ।
पर्यटक आकर्षण
विश्वमा नै बिरलै हुने यस प्रकारको मह सिकार लमजुङको कहालीलाग्दो भिरपहरामा अत्यन्तै मसुर मह सिकारीले गर्दै आएका छन् । लमजुङको घनपोखरा, सिउरुङ, ताघ्रिङ, भुजुङ, दुधपोखरी, बन्सार, ढोडेनीलगायतका स्थानमा बर्सैपिच्छे भिरमौरीको सिकार गरिन्छ । ‘हनी हन्टिङ’ अर्थात् मह सिकार आजभोलि पर्यटकका लागि नौलो र आकर्षणको विषय बन्दै गएको छ । मह सिकार गर्ने प्रचलन धेरै पुरानो रहे पनि पर्यटक आकर्षणका लागि ‘हनी हन्टिङ फेस्टिबल’ का रूपमा पहिलो पटक २०६३ सालमा लमजुङको ताघ्रिङस्थित काप्रेभिरमा गरिएको थियो । त्यसपछि धेरै गाउँमा पर्यटक आकर्षणका रूपमा मह सिकार हुने गरेका छन् । आङै सिरिङ्ङ हुने भिरमा निडर मह सिकारीले मह काढेको अत्यन्तै रमणीय दृश्य कहिल्यै नदेखेकाका लागि अविस्मरणीय र रोचक हुने गरेको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।गोरखापत्र अनलाइन



