
फाइल तस्बिर
काठमाडौँ, जेठ १२ गते । तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार विशेष अदालत काठमाडौँमा दर्ता भएको घुस लिइ भ्रष्टाचार गरेको मुद्दामा ती सरकारी साक्षीहरुले प्रतिवादी ढुण्डिराज दाहाललाई घुस दिएको कार्य कसुर पुष्टि भएको छ ।
यसैगरी, निजहरुले २०८३ वैशाख २५ गते बकपत्र गर्दा आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयान प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ७ स्थायी घर भएका पोख्रेलविरुद्ध ५६ हजार ३५० रुपियाँ, मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं ६ का गौतमविरुद्ध ३७ हजार पाँच सय रुपियाँ र सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नंं. ५ का राजेश श्रेष्टविरुद्ध २७ हजार ३५० रुपियाँ बिगो रकम कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिइ उनीहरुविरुद्ध विशेष अदालत, काठमाडौँमा मङ्गलबार आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।गोरखापत्र अनलाइन



