मूल खबरहेड लाइन

अमेरिका र इरानबिच शान्ति सम्झौता

ट्रम्प र पेजेस्कियनद्वारा बेग्लाबेग्लै हस्ताक्षर

काठमाडौँ, असार ५ गते । अमेरिका र इरानबिच युद्ध अन्त्य गर्न ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका राष्ट्रपति मसुद पेजेस्कियनले शान्ति सम्झौतामा बेग्लाबेग्लै हस्ताक्षर गर्नुभएको छ ।

अमेरिकाले इजरायलसँग मिलेर गत फेबु्रअरी २८ मा इरानमाथि आक्रमण गरेसँगै भीषण युद्ध सुरु भएको हो । यो युद्धमा इरानले उच्च नेतृत्व गुमाउनुका साथै ठुलो जनधनको क्षति भोगेको छ ।

अमेरिकाका राष्ट्रपति ट्रम्पले फ्रान्सको भर्साइल्स दरबारमा बुधबार आयोजित रात्रिभोजमा शान्ति सम्झौतामा डिजिटल हस्ताक्षर गर्नुभयो । त्यसलगत्तै इरानका राष्ट्रपति पेजेस्कियनले तेहरानमा डिजिटल हस्ताक्षर गर्नुभएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । शान्ति सम्झौताले शत्रुताको स्थायी अन्त्यको आह्वान गरेको छ ।

भर्साइल त्यही दरबार हो, जहाँ शताब्दीयौँदेखि युद्ध वा क्षेत्रीय विवादहरू अन्त्य गर्न धेरै ऐतिहासिक सम्झौतामा हस्ताक्षर भइसकेका छन्। ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई छेउमा राखेर शान्ति सम्झौताको प्रतिलिपिमा हस्ताक्षर गर्नुभयो । त्यसपछि ट्रम्पले कागजात र कलम अमेरिकाका विदेशमन्त्री मार्को रुबियोलाई हस्तान्तरण गर्नुभयो । अनि रात्रिभोजमा उपस्थित भएका सबैले ताली बजाए । रात्रिभोजबाट बाहिरिँदै गर्दा राष्ट्रपति ट्रम्पले शान्ति सम्झौतामा हस्ताक्षर भइसकेको पुष्टि गर्नुभयो ।

यसअघि शुक्रबार स्विजरल्यान्डको जेनेभामा दुवै देशका प्रतिनिधिहरूले शान्ति सम्झौतामा हस्ताक्षर गर्नेसम्बन्धी समाचार सम्प्रेषण गरेका थिए । तर ट्रम्पले फ्रान्समा सम्पन्न जी–७ सम्मेलनकै क्रममा सात प्रमुख औद्योगिक राष्ट्रका नेताहरूकै रोहबरमा हस्ताक्षर गर्नुभएको हो । ‘संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबिचको इस्लामावाद समझदारी’ नाम दिइएको उक्त शान्ति सम्झौतामा १४ वटा बुँदा दिएर विभिन्न सहमति गरिएका छन् । शान्ति सम्झौतामा तेहरानले आफ्नो उच्च स्तरमा संवर्धित युरेनियमको भण्डारलाई घटाउने र इरानमाथि लगाइएका अमेरिकी प्रतिबन्ध फुकुवा गर्ने उल्लेख छ । दुवै देशद्वारा सार्वजनिक गरिएका विवरण अनुसार यसले इरानलाई तत्कालै आफ्नो तेल स्वतन्त्र रूपमा बिक्री गर्न अनुमति दिएको छ । राष्ट्रपति ट्रम्प र राष्ट्रपति पेजेस्कियनले शान्ति सम्झौतामा भर्चुअल हस्ताक्षर गरेपछि प्रारम्भिक चरणको वार्ता स्विट्जरल्यान्डमा गर्ने तयारी भइरहेको विभिन्न समाचार माध्यमले जनाइएका छन् ।

स्विट्जरल्यान्डमा वार्ताको तयारी

रोयटर्सका अनुसार शुक्रबार स्विट्जरल्यान्डको बुर्गेनस्टक माउन्टेन्टप रिसोर्टमा प्रत्यक्ष वार्ता गर्ने तयारी भएको छ । वार्ताको तालिका र विवरण भने सार्वजनिक गरिएको छैन । त्यहाँको विदेश मन्त्रालयले पश्चिम एसियाको शान्ति र सुरक्षालाई आफ्नो विदेश नीतिको प्राथमिकता भन्दै विज्ञप्ति जारी गरेको छ ।

राष्ट्रपति ट्रम्प र राष्ट्रपति पेजेस्कियनले दुई देशबिचको शत्रुता अन्त्य गर्ने, हर्मुज जलमार्ग पुन: खोल्ने र विस्तृत अन्तिम सम्झौताका लागि वार्ता गर्न ६० दिनको प्रक्रिया सुरु गर्ने उद्देश्यले १४ बुँदे शान्ति सम्झौतामा हस्ताक्षर गर्नुभएको सिएनएनले जनाइएको छ ।

पाकिस्तानी प्रधानमन्त्री साहबाज सरिफले अमेरिका र इरानबिचको शान्ति सम्झौतामा दुवै देशका नेताले विद्युतीय हस्ताक्षर गरेको जनाउँदै यसको प्रभाव तत्काल देखिन थालेको बताउनुभएको छ । सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री सरिफले उक्त शान्ति सम्झौतामा अमेरिका र इरानका राष्ट्रपतिले हस्ताक्षर गरेको र मध्यस्थकर्ताको भूमिकामा पाकिस्तानले समर्थन गरेको उल्लेख गर्नुभएको हो ।

इस्लामाबाद एमओयुले इरानले तुरुन्तै हर्मुजको जलमार्ग पुन: खोल्ने व्यवस्था गरेको उल्लेख गर्दै उहाँले अमेरिकाले शान्ति सम्झौताको कार्यान्वयनपछि प्रारम्भिक चरणमा हर्मुज जलमार्गबाट आफ्नो सेना र नाकाबन्दी हटाउने पुष्टि गर्नुभएको छ ।

सम्बन्धित पक्षको सरकारको उच्च स्तरबाट यो सम्झौतामा भएको हस्ताक्षरले द्वन्द्वको कूटनीतिक समाधानका लागि दुवै पक्षको प्रतिबद्धता देखाएको सरिफले बताउनुभएको छ । पाकिस्तानले सहमध्यस्थकर्ता कतारको सहयोगमा शुक्रबार स्विट्जरल्यान्डमा सम्झौताको सम्झना गर्न र दुई पक्षबिच प्राविधिक स्तरको वार्ता सुरु गर्न आधिकारिक समारोहको आयोजना गर्ने उहाँले पुष्टि गर्नुभएको छ ।

प्रधानमन्त्री सरिफले कतारको सहमध्यस्थकर्ताको नेतृत्वको रचनात्मक संलग्नतालाई स्वीकार गर्दै सम्झौतालाई सहज बनाउन साउदी अरेबिया, टर्की र इजिप्टको योगदानको समेत प्रशंसा गर्नुभएको छ । उहाँले यो शान्ति सम्झौताले बृहत्तर समझदारी, आपसी सम्मान र साझा समृद्धिका लागि स्थायी आधारका रूपमा काम गर्ने आशासमेत व्यक्त गर्नुभएको छ ।

इरानको सरकारी समाचार संस्था इर्नाले जनाए अनुसार राष्ट्रपति पेजेस्कियनले इरानका तर्फबाट शान्ति सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। सो समाचार संस्थाले पेजेस्कियन र ट्रम्पको हस्ताक्षरसहितको शान्ति सम्झौतापत्र पनि सार्वजनिक गरेको छ ।

विश्व बजारमा उत्साह

अमेरिका र इरानका राष्ट्रपतिले शान्ति सम्झौतामा हस्ताक्षर गरेसँगै विश्ववासीले राहतको अनुभव गरेका छन् । बजारमा उत्साह देखिएको छ । करिब चार महिना लामो युद्ध समाप्त हुने र रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्ग पुन: खुल्ने निश्चित भएपछि विश्वव्यापी आर्थिक सूचकहरू सकारात्मक देखिएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । इरानी तेल बजारमा फर्कने र आपूर्ति शृङ्खला सहज हुने आशामा तेलको मूल्य बहु–महिनाकै न्यून विन्दुमा झरेको छ । विश्वव्यापी सेयर बजारमा उत्साह थपिएको छ । युद्ध अन्त्यको खबरले लगानीकर्ताको आत्मविश्वास बढाउँदा विश्वभरका प्रमुख सेयर बजारहरू ऐतिहासिक उचाइतर्फ अगाडि बढेका छन् । हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा आउँदा विश्वव्यापी व्यापार मार्ग स्थिर हुने छ । यसले गर्दा इन्धनको ढुवानी लागत घट्ने र युद्धका कारण बढ्दै गएको वैश्विक आर्थिक मन्दी तथा महँगीको खतरा टर्ने विश्वास विश्लेषकहरूले गरेका छन् ।

शान्ति सम्झौताका मुख्य बुँदा

सैन्य कारबाहीको अन्त्य : लेबनानलगायत सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने ।
सार्वभौमसत्ता : एकअर्काको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने तथा आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने ।
अन्तिम सम्झौताको समयसीमा: अधिकतम ६० दिनभित्र वार्ता गरी विस्तृत सम्झौता गर्ने । म्याद थप गर्न सकिने ।
जहाजहरूको आवागमन : युद्धपूर्वकै अवस्थामा जहाजहरूको आवतजावत पुन: सुचारु गर्ने ।
हर्मुज जलमार्ग : पर्सियन खाडीबाट ओमानको समुद्र्रसम्म ६० दिनसम्म बिनाशुल्क व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने ।
पुनर्निर्माण योजना : इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि कम्तीमा तीन सय अर्ब अमेरिकी डलरको निश्चित योजना विकास गर्ने।
प्रतिबन्धको पूर्ण अन्त्य : संयुक्त राष्ट्रसङ्घका प्रस्तावसहित इरानविरुद्धका सबै प्रकारका प्रतिबन्ध अन्त्य गर्ने ।
आणविक हतियार निषेध : इरानले आणविक हतियार खरिद वा विकास नगर्ने प्रतिबद्धता पुन: गर्ने ।
यथास्थिति कायम : अन्तिम सम्झौता नभएसम्म इरानको आणविक कार्यक्रम र अमेरिकाको सेना परिचालन यथास्थितिमा रहने ।
निर्यात र बैङ्किङ छुट : इरानी कच्चा तेल, पेट्रोलियम पदार्थ र सम्बद्ध बैङ्किङ/बिमा सेवाहरूका लागि अमेरिकी प्रतिबन्ध फुकुवा गर्ने ।
रोक्का सम्पत्ति फुकुवा : यो शान्ति सम्झौताको कार्यान्वयनसँगै इरानको रोक्का रहेका सम्पूर्ण कोष र सम्पत्ति प्रयोगका लागि उपलब्ध गराउने ।
अनुगमन संयन्त्र : शान्ति सम्झौताको कार्यान्वयन र भविष्यको सम्झौताको पालना सुनिश्चित गर्न एक कार्यकारी संयन्त्र स्थापना गर्ने ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button