
न्युयोर्क, असार ५ गते । सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिल विश्वकप फुटबल–२०२६ मा ठुलो नाम र प्रतिष्ठाका साथ आएको थियो तर ब्राजिलका लागि पहिलो खेल अपेक्षा अनुरूप हुन सकेन । समूह ‘सी’ को पहिलो खेलमा ब्राजिलले बल्लतल्ल मोरक्कोसँग १–१ ले बराबरीमा खेल टुङ्ग्याएको थियो । एलिसनले अन्तिम समयमा गरेका केही दर्शनीय गोलरक्षणले मात्र ब्राजिल हार टार्न सफल भएको थियो । यस नतिजाले ब्राजिलका लागि हाइटीसँग शुक्रबार हुने खेल महìवपूर्ण हुने भएको छ । यो खेल जितेर ब्राजिल समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दा परिस्थिति आफ्नो नियन्त्रणमा राख्ने प्रयास गर्ने छ ।
सुपरस्टार फुटबल नेमारले खेल्नेमा अहिले पनि पक्का नहुँदा ब्राजिलको आक्रमणपङ्क्ति भिनिसियस जुनियर र राफिनाले नै समाल्नुहुने छ । हाइटीले पहिलो खेल स्कटल्यान्डसँग १–० ले हारेको थियो । त्यसैले हाइटीका लागि ब्राजिलविरुद्ध खेल थप महत्वपूर्ण बनेको छ । पाँच दशकभन्दा बढी समयपछि विश्वकप खेलिरहेको हाइटीका लागि ब्राजिलसँग खेल अहिलेसम्मकै सबभन्दा ठुलो परीक्षा हुने छ । यद्यपि हाइटीले ब्राजिलविरुद्धको खेलमा आफ्ना प्रमुख खेलाडी जिन–रिक्नर बेलेगार्डे, रिकार्डो एडी, विल्सन इसिडर्ग र भेटरान गोलरक्षक जोनी प्लासिडबाट ठुलो अपेक्षा राखेको छ ।
सहकप्तान एडिका अनुसार आफ्नो देश सन् १९७४ पछि विश्वकपमा छनोट हुन नसक्दा हाइटीका जनताले सधैँ विश्वको सबभन्दा ठुलो फुटबल प्रतियोगितामा ब्राजिलको समर्थन गर्दै आएको छ । हामी ब्राजिललाई समर्थन गर्दै हुर्कियौँ तर यसपालि फरक छ । हाइटी आफैँ विश्वकपमा खेल्दै छ । हामीले आफ्नै टिम भनेर ग्रहण गरेको ब्राजिलविरुद्धको खेल हाइटीका लागि अहिलेसम्मकै ठुलो खेलमध्ये एक हुने छ, एडी भन्नुहुन्छ । उहाँले ब्राजिललाई हराउन असम्भव नभएको पनि बताउनुभयो ।
ब्राजिल र हाइटी अहिलेसम्म दुई पटक आमनेसामने भएका छन् । ब्राजिलले हाइटीलाई सन् २००४ मा भएको मैत्री खेलमा ६–० र सन् २०१६ मा भएको कोपा अमेरिका ७–१ ले हराएको थियो । यसपालि विश्वकपको मञ्चमा हाइटीले ब्राजिलविरुद्ध सुधारिएको खेल खेल्ने अपेक्षा गरिएको छ । ब्राजिलका डिफेन्डर डगलस सान्तोषले शारीरिक रूपमा बलियो र सङ्गठित टिम भएकाले हाइटीलाई हलुका रूपमा नलिने बताउनुभएको छ ।
नकआउटमा अमेरिका र अस्ट्रेलियाको नजर
समूह ‘डी’ मा आआफ्नो पहिलो खेल जितेर सहआयोजक अमेरिका र अस्ट्रेलियाले शुक्रबार एकअर्कासँग सियाटल रङ्गशालामा खेल्दै छ। पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ ले र अस्ट्रेलियाले आश्चर्यजनक रूपमा टर्कीलाई २–० ले पराजित गरेको थियो ।
अमेरिकाले विश्वकपको पहिलो खेलमा मात्र होइन वार्मअपदेखि नै सानदार प्रदर्शन गरिरहेको छ । त्यसैले प्रशिक्षक माउरिसियो पोचेटिनोले यही लय अस्ट्रेलियाविरुद्धको खेलमा पनि कायम राखेर नकआउटको स्थान एक खेलअघि नै पक्का गर्ने अपेक्षा गर्नुभएको छ। पछिल्ला दुवै खेलमा अस्ट्रेलियालाई हराएकाले पनि अमेरिका केही बलियो देखिन्छ तर उहाँ यस प्रतियोगितामा ‘डार्कहर्स’ मानिएको टर्कीलाई हराउने अस्ट्रेलियासँग सतर्क पनि हुनुहुन्छ । अस्ट्रेलियाले टर्कीविरुद्ध मात्र २८ प्रतिशत पोसेसन बनाएको थियो । सो खेलमा टर्कीले अस्ट्रेलियाको गोलपोस्टमा गरेको ३० प्रहारको बदलामा अस्ट्रेलियाले नौ प्रहारमा मात्र गर्न सकेको थियो तर जिद्दी डिफेन्स, गोलरक्षक प्याट्रिक बिचको सानदार प्रदर्शन र प्रत्याक्रणमा ‘क्लिनिकल फिनिसिङले अस्ट्रेलियाले तीन अङ्क बनायो । अब अमेरिकाविरुद्धको जितले नकआउट चरणमा पुग्ने भएकाले अस्ट्रेलियालाई शुक्रबारको खेलमा थप प्रेरणा दिने छ ।
स्कटल्यान्डसँग समूह विजेता बन्ने मौका
पहिलो खेलमा हाइटीलाई हराएपछि समूह ‘सी’ मा शीर्ष स्थानमा रहेको स्कटल्यान्डले शुक्रबार मोरक्कोलाई हराएर नकआउट चरणमा स्थान बनाउने प्रयास गर्ने छ । मोरक्कोलाई हराउन सकेमा र सोही दिन ब्राजिलले हाइटीलाई जित्न नसकेमा स्कटल्यान्डले सबैलाई आश्चर्यमा पार्दै समूह विजेता हुने छ । स्कटल्यान्डले अहिलेसम्म विश्वकपको समूह चरण पार गर्न सकेको छैन । मोरक्कोको हकमा भने स्कटल्यान्डविरुद्धको जितपछि पनि अन्तिम ३२ पक्का हुने छैन तर हाइटीसँग खेल्नुअघि उसको स्थिति भने निकै बलियो हुने छ । यस प्रतियोगिताको प्रतिष्ठित टिममध्ये एक मोरक्कोको चुनौती स्कटल्यान्डलाई सहज भने हुने छैन । ब्राजिलसँगको १–१ को बराबरीमा हकलाग्दो जित प्राप्त गर्न नसकेको मोरक्को पछिल्लो संस्करणको सेमिफाइनल खेल्ने टिम हो । स्कटल्यान्ड र मोरक्कोबिच यसअघि एक खेल मात्र भएको छ । सन् १९९८ मा भएको विश्वकपमा यी दुई टिम भिड्दा मोरक्को ३–० ले विजयी भएको थियो । त्यसैले स्कटल्यान्ड बदलाको भावना पनि हुने छ ।
टर्की र पाराग्वेलाई हार्ने छुट छैन
समूह ‘डी’ को पहिलो दिन पराजित हुने दुवै टिम टर्की र पाराग्वेलाई विश्वकप फुटबल–२०२६ मा आफ्नो चुनौती कायम राख्न दोस्रो खेलमा हार्ने छुट छैन । अस्ट्रेलियाविरुद्धको खेलमा ७२ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेर विपक्षीको गोलपोस्टमा ३० प्रहार गरे पनि टर्कीले खेल हारेको थियो । त्यसैले प्रतियोगितापूर्व आफूले पाएको ‘डार्क हर्स’ को प्रतिष्ठानलाई जोगाउन पनि टर्कीलाई पाराग्वेसँगको खेल जित्न आवश्यक छ । सन् २००२ मा विश्वकपमा तेस्रो स्थान हासिल गरेपछि टर्की यस पटक मात्र विश्वकपमा चयन हुन सफल भएको हो । अमेरिकासँग नराम्ररी हारेपछि पाराग्वेको मनोबल उच्च छैन । जसको टर्कीले फाइदा उठाउन सक्ने छ । एजेन्सी
गोरखापत्र अनलाइन



