
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका सहभागी । तस्बिर : सुजन गुरुङ
शालिग्राम नेपाल
चितवन, असार ८ गते । आइतबारदेखि चितवनको भरतपुरमा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागीले महाधिवेशनलाई केवल सङ्गठनको आन्तरिक प्रक्रियाका रूपमा मात्र नभई मुलुकको राजनीतिक दिशा तय गर्ने अवसरका रूपमा हेरेका छन् ।
उनीहरूका अपेक्षामा सुशासन, राष्ट्रियता, रोजगारी, कृषि तथा उत्पादनमुखी अर्थतन्त्र प्रमुख रूपमा देखिएका छन् । महाधिवेशन स्थलमा भेटिएका हेटौँडा उपमहानगरपालिका–१, चौकीटोलका ७५ वर्षीय शिवराम रिजाल युवाले रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँका अनुसार देशभित्रै अवसर सिर्जना गर्न सके मात्र राजनीतिक परिवर्तनको सार्थकता पुष्टि हुने छ ।
“काम नपाएर आँसु बगाउँदै युवा मातृभूमि छाड्न बाध्य छन् । यो अवस्था अन्त्य गरेर स्वदेशमै भविष्य देख्ने वातावरण बनाउनु पर्छ,” उहाँले भन्नुभयो, “यो महाधिवेशनले युवाको आवाज बोल्ने, सुशासन स्थापित गर्ने र देश निर्माणको स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने विश्वास लिएको छु ।” जनताले खोजेको शासन प्रणाली पारदर्शी, उत्तरदायी र परिणाममुखी हुनुपर्ने उहाँको भनाइ छ ।
बागलुङको काँठेखोला गाउँपालिका–६, बिहुँका ७४ वर्षीय परेश्वर कँडेल महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुनुहुन्छ । उहाँले राष्ट्रियताको विषयमा पार्टीले अझ स्पष्ट र दृढ धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “राष्ट्रियताभन्दा माथि कोही हुँदैन । राष्ट्रिय हितका विषयमा कुनै सम्झौता हुन सक्दैन,” उहाँले भन्नुभयो । उहाँका अनुसार दलले अब गाउँका सर्वसाधारण, किसान, श्रमिक र उत्पादनशील वर्गको पक्षमा ठोस कार्यक्रम ल्याउनु पर्छ । कँडेलले नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्र भए पनि राज्यले लामो समयदेखि त्यसलाई प्राथमिकतामा नराख्दा किसान निराश बन्न पुगेको बताउनुभयो । “किसानका समस्या बुझेर कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउन सके देशको आर्थिक आधार बलियो बन्न सक्छ,” उहाँले भन्नुभयो, “हाम्रो पुस्ताले धेरै दुःख भोग्यो, अब आउने पुस्ताले त्यस्तो अवस्था भोग्न नपरोस् भन्ने चाहना छ ।”
नवलपरासीको गैँडाकोटबाट महाधिवेशन अवलोकन गर्न आउनुभएकी शुभद्रा पराजुली अधिकारीले पार्टीभित्रको एकता र सामूहिक नेतृत्वलाई महत्वपूर्ण विषयका रूपमा लिनुभयो । उहाँका अनुसार लोकतान्त्रिक दलमा बहस र छलफल स्वाभाविक भए पनि त्यसले विभाजन होइन, साझा निष्कर्ष दिन सक्नु पर्छ । “पार्टी एकढिक्का भएर अघि बढे मात्र देश विकासको अभियान सफल हुन्छ,” उहाँले भन्नुभयो । उहाँले नयाँ पुस्ताको ऊर्जा र अनुभवी पुस्ताको मार्गदर्शनलाई सन्तुलित रूपमा समेट्न सक्ने नेतृत्व चयन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
“जेनजी पुस्ताको सोच र अनुभवी पुस्ताको अनुभवलाई सँगै लिएर जान सक्ने नेतृत्व अहिलेको आवश्यकता हो,” उहाँले भन्नुभयो, “गुटबन्दीभन्दा सामूहिक नेतृत्वले सङ्गठनलाई बलियो बनाउँछ र सरकार सञ्चालनमा पनि सकारात्मक प्रभाव पार्छ ।” झापाको गौरीगन्ज गाउँपालिका–३ का पार्टी सभापति तथा महाधिवेशन प्रतिनिधि २६ वर्षीय सङ्गीत दासले देशको समृद्धिको आधार उत्पादन वृद्धि भएको बताउनुभयो । उहाँका अनुसार कृषि, उद्योग र उद्यमशीलतालाई प्राथमिकतामा नराखी आर्थिक रूपान्तरण सम्भव छैन ।
“उत्पादनलाई केन्द्रमा नराखी देशले निकास पाउन सक्दैन,” उहाँले भन्नुभयो, “किसानले उत्पादन गरेको वस्तुले सहज बजार पाउने व्यवस्था हुनु पर्छ र आवश्यक परे सरकारले नै खरिदको ग्यारेन्टी गर्नु पर्छ ।” उहाँले भन्नुभयो, “उत्पादन बढाउने, बजार सुनिश्चित गर्ने र आर्थिक उन्नतिलाई गति दिने नीति अहिलेको आवश्यकता हो । जनताले पार्टीलाई दिएको समर्थनको आधार पनि यही अपेक्षा हो ।”
भरतपुर महानगरपालिका–१ का ७० वर्षीय मोहम्मद अली मियाँले भ्रष्टाचार अन्त्यलाई मुलुकको प्रमुख आवश्यकता बताउनुभयो । उहाँका अनुसार जनताले सुशासनको अपेक्षा गरेका छन् र त्यसको सुरुवात भ्रष्टाचार नियन्त्रणबाट हुनु पर्छ । “भ्रष्टाचार गर्नेलाई तत्काल कानुनी कारबाही हुनु पर्छ,” उहाँले भन्नुभयो, “काम नगर्ने प्रवृत्ति निरुत्साहित गर्ने र इमानदार तथा परिणाममुखी व्यक्तिलाई सम्मान गर्ने संस्कार विकास गर्नु पर्छ ।” उहाँले महाधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भई पार्टीलाई थप एकताबद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो ।
महाधिवेशन स्थलमा भेटिएका प्रतिनिधि र शुभेच्छुकका भनाइ सुन्दा उनीहरूको साझा चाहना स्पष्ट देखिन्छ । सुशासन, राष्ट्रियता, रोजगारी, उत्पादनमुखी अर्थतन्त्र र भ्रष्टाचारमुक्त शासन, दलगत राजनीतिभन्दा माथि उठेर जनताका दैनिक सरोकार सम्बोधन गर्न सक्ने नेतृत्व र नीति निर्माणतर्फ महाधिवेशन केन्द्रित होस् भन्ने अपेक्षा अधिकांश सहभागीको छ । त्यसैले भरतपुरमा सुरु भएको यो महाधिवेशन केवल सङ्गठनात्मक नेतृत्व चयनको प्रक्रिया मात्र नभई जनअपेक्षा सम्बोधन गर्ने राजनीतिक परीक्षा पनि बनेको छ ।
वर्षाले कार्यक्रम असर
आइतबार उद्घाटनपूर्व शनिबार रातिदेखिको वर्षाले केही कठिन बनाएको थियो । बिहानदेखि कार्यक्रम स्थलमा जमेको पानी फालेर बालुवा ल्याएर पुरेर कार्यक्रम सञ्चालन भएको थियो । तर कार्यक्रम ३ बजे सुरु हुँदा भारी वर्षा भएपछि प्रधानमन्त्री वालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने छाता ओढेर कार्यक्रम स्थल आउनुभएको थियो । कार्यक्रम स्थलमा सहभागी चौरमा जमेको पानीमा उभिएरै सहभागी भएका थिए ।
गोरखापत्र निःशुल्क वितरण
महाधिवेशन स्थलमा सहभागीलाई गोरखापत्र दैनिक निःशुल्क वितरण गरिएको थियो । यस्तै गरी कार्यक्रम स्थलमा विभिन्न स्थानीय उत्पादन भएका सामग्री बिक्री गर्न किसान सहभागी थिए ।गोरखापत्र अनलाइन



