विचारहेड लाइन

गगन पुस्ताको विद्रोह र चुनदेवीको चर्चा

राजेन्द्र गौतम 

लाग्छ,निरो बाँसुरी बझाइरहकै छ । उसलाई न कसैको मतलब छ, न उ कसैको कुरा नै सुन्छ । उसलाई यति मात्रै थाहा छ, उ उसकै धुनमा छ । संसार बदलिएर कहाँ पुगिसक्यो, संसार बदल्ने सपना बोकेर राजनीतिमा आएको “निरो समूह” आफ्नो पद गुमेकोमा चिन्तित छ । किन्तुपरन्तु पद चाहियो, चाहियो । “गगनले हाइज्याक गरेर कांग्रेस कब्जा गर्‍यो । हामीलाई लात हानियो” यो कस्तो तर्क न जवाफ छ न औचित्य नै । हरेक तहमा रुपान्तरणको बेगले आँधीबेहरी ल्याइसक्यो । पुरानो कांग्रेस बडारिएर एउटा कुनामा हुत्तिएको छ । तर, कांग्रेसका पुराना अग्रजलाई सम्मान र पद चाहिएको छ । यो बालहठ किन र केका लागि ? हजुरबुबाले मह काड्नु भएको थियोे भनेर नातीले हात चाट्दा हुँदैन । मह खान मौरी पाल्नु पर्छ । उचित रेखदेख र चरनको समुचित प्रबन्ध गर्नुपर्छ । त्यसो गर्न सकिए भने घार पुरानो हुन्छ, मौरी मर्छन् र मौरीका मालिक मह होइन, मौरी नासको साक्षी बन्छन् । कांग्रेसको पुरानो पुस्ता त्यही लयमा छ । जो रोम जल्दा निरोले बजाएको बाँसुरीको लय हो ।

कांग्रेस बनाउन उहाँहरुको योगदान छैन कसैले भन्दैन । योगदान छ, यसका प्रति गर्नु पर्ने सम्मान गगन पुस्ताले गर्नु पर्छ, एकांकी बन्न मिल्दैन । तर, सम्मानका नाममा अपमान सहन सकिन्न । निरो समूहको पाठपूजा र भक्तिगानमा गगन पुस्ता रहन सक्दैन । यो पुस्ता त्यसरी अल्झियो भने न उ रहन्छ न भावी पुस्ताले सम्झन्छ । अग्रजलाई सम्मान गर्ने धुनमा आफ्नो चिता आफैं पखाल्न सम्भव छैन । चिता अरुले पखाल्ने हो । चिता पखाल्दा आँसु खसाल्ने, नखसाल्ने चिता पखाल्नेको तजबिजी हो। जो उसैको भावनामा अन्तरनिहित हुन्छ । समाजले नियालिरहेछ चिता पखाल्दा आँसु खसाल्ने मानवता गगन पुस्तासँग छ कि छैन । यो पुस्ता संयम पुस्ता हो । जसले देखेको मात्र होइन, हर उतारचढाव भोगेको छ । सारा राप र तापले सेकिएको गगन पुस्ता भिजनरी पुस्ता हो । उसलाई परिमाण र परिणाम दुबै थाहा छ । गगन पुस्ताले परिणामको पाइपाइ हिसाब चुक्ता गर्ने सामर्थ्य पनि राख्छ । तर, कांग्रेस यति प्रतिसत फुटिसक्यो, उति प्रतिसत फुटिसक्यो भनेर बरबराउँदा प्रतिशत निर्धारण हुँदैन । पार्टी फुट्न आधार चाहिन्छ । राष्ट्रिय दायित्वसहित क्रियाशील पार्टी फुट्न के चाहिन्छ, कांग्रेसको अग्रज पुस्तालाई त्यसको राम्रो हेक्का छ। चुनदेवी तिर पुगेर के मानक स्थापित गर्न खोजिएको हो, त्यो चाहिँ कांग्रेसका नाविक हौँ भन्नेहरूलाई नअर्थ्याइ नहुने पाटो हो । तर, त्यो ल्याकत निरो समूहमा छैन । यस्तै आभास हुन्छ, चुनदेवी चढेको प्रौढ पुस्ताको तर्क सुन्दा र तमासा देख्दा ।

विशेष महाधिवेशन गगन पुस्ताले गरेको शालीन बिद्रोह हो । कांग्रेस जस्तो पार्टीमा यस्तो विद्रोह अक्सर सफल हुन्छ । विरलै प्राप्त हुने सफलता गगन पुस्ताले हात पारेको छ । महामन्त्रीबाट मात्रै होइन कांग्रेसको साधारण सदस्य समेतबाट निष्कासन गरिएका गगन र विश्वले आफ्नो पुस्तालाई साथमा लिएर गरेको शालीन बिद्रोह सफल नभएको भए अहिले उनीहरू कहाँ हुन्थे ? कांग्रेसमा उनीहरूको नामोनिसाना हुन्थ्यो ? अहिले भाग खोजेर बसेको अग्रज पुस्ताले गगन – विश्वलाई भाग दिन्थ्यो ? अवश्य दिदैनथ्यो, लात हान्थ्यो । यो चाहिँ मन्थन गर्ने पाटो हो । देश ७५ वर्षका मानिसको नियन्त्रणबाट फुत्किएर ३५ वर्षका मानिसको हातमा आइसक्यो । तर, कांग्रेसको अग्रज पुस्ता हामीले ३५ वर्ष भोग्यौ । तिमीहरू भरखर जन्मिएका हौ भनेर गगन पुस्तासँग पौठेजोरी खेलिरहेछ । नजुध्दा क्षति हुँदैन, जुद्धा क्षति हुन्छ । जुध्ने गोरुको सिङ फुक्लन सक्छ, फुक्लिन्छ । जुधेर सिङ फुकाल्नु भन्दा सिङ जोगाउन लाग्नु नै कांग्रेसको अग्रज पुस्ताको दायित्व हो ।

गगन पुस्ताले गरेको विद्रोह कांग्रेस पार्टी इतिहासकै अपवाद हो । कांग्रेसमा यस्तो विद्रोह न कहिल्यै भएको थियोे, न निकट भविष्यमा नै सम्भव छ । कांग्रेस इतिहासकै असम्भव काम अहिले सम्भाव भएको छ । यसलाई सही, समयको आवश्यकता र गगन पुस्ताको हिम्मत मान्न करै लाग्छ । यो हिम्मतलाई गगन पुस्ताले गरेको आवश्यकता बोध र जिम्मेवारी सम्झेर अग्रज पुस्ताले बिना हिच्किचाहट स्वीकार्न सक्नु पर्छ । स्वीकार्न सकियो भने अवश्य अपनत्व ग्रहण हुन्छ । म नेतृत्वमा भए ठिक अरु भए बेठिक भन्ने अधिनायकवाद अब थेचारिन्छ, जो समयको पदचाप हो । नकी गगन – विश्वको उपद्रो। यहाँ उपलब्धि भएको छ तर उपद्रोको ट्याग जबर्जस्त भिराइदै छ। कांग्रेसमा लामो संघर्ष गरेको पुस्ता कांग्रेस सक्न लाग्छ कि सपार्न ? यो चाहिँ निरोले बजाएको बाँसुरी नियाले झैँ दुनियाँले नियालिरहेको छ ।

कांग्रेसलाई माया चुनदेवीतिर पुगेर गर्न सकिन्न । त्यो त भागका लागि खोजिएको अवैध बाटो हो । अंशबण्डाका लागि गरिएको तयारी र लगाइएको घुर्की मात्रै हो । विधिको कुरा गरेर कहिल्यै नथाक्ने कांग्रेसको अग्रज पुस्ता आज ब्रान्डको हुंकार गरिरहेको छ । यही हुंकार हाबी हो भने पार्टी फुट्छ भनिरहेको छ । पार्टी फुटाउन केन्द्रीय समितिको आवश्यक संख्या कति ? यो कसैले कसैलाई सम्झाउने, सिकाउने विषय होइन । हिजो आफैंले बनाएको विधान आज आफैं नमान्ने ? गोरुको दाम बाह्रै टक्का गरियो भने गोरु बिक्छ कि बिक्दैन ? गोरु बेच्नेले बुझ्ने हो । मैले भनेको माने मित लाउँछु नत्र सिध्याई दिन्छु, यो कस्तो तर्क हो ? कांग्रेसलाई जगाउने या थप संकटमै सिध्याउने ब्रान्डिङ पुस्ताकै चेतमा छ, नकि गगन पुस्ताको हातमा । कांग्रेस हुन र चलाउन चुनदेवीतिरको कोइराला ब्रान्ड, सिंह ब्रान्ड, भट्टराई ब्रान्ड, निधि ब्रान्ड होइन, नवीन ब्रान्ड चाहिन्छ ।

चुनदेवीतिर निरोको अर्को बाँसुरी पनि बजिरहेको छ । त्यो सम्मानको होइन स्वार्थको बाँसुरी हो । निरोले दुखान्त बाँसुरी बजाएको थियोे, होला ! तर यहाँ त सत्ताको बाँसुरी बजाइदै छ । थोत्रो कांग्रेसी सांगठनिक सत्ताको बाँसुरी । सत्ता भएपछि नियम, कानुन पद्धति केही पनि चाहिदैन । केवल सत्ता प्राप्तिको असोभनीय बाँसुरी धुन भएपछि पुग्छ ? कांग्रेस आफूलाई संवैधानिक कानुन र लोकतान्त्रिक पद्धतिको देशकै ठूलो जननी ठान्छ । यो बुझाई स्वार्थी बुझाई हो । न यहाँ संवैधानिक निकाय निर्वाचन आयोगलाई स्वीकारिएको छ, न सर्वोच्च न्यायालयलाई नै । निर्वाचन आयोग र सर्वोच्च अदालतलाई नै चुनौती दिने काम चुनदेवी यात्राले गरिरहे छ । कांग्रेसको आन्तरिक जीवनलाई ताप्केबाट निकालेर भुङ्ग्रोमा किन हालिँदैछ ? अहिले सिङ्गो कांग्रेसका सामु यही प्रश्न तेर्सिएको छ । जसको जवाफ सर्ल र सहज छैन, असहज र कठोर छ ।

नेपाली राजनीतिको मसानघाटमा यतिबेला जलेर केही खरानी भइरहेको छ भने चुनदेवी क्षेत्रको अवैध भेला र बैठककै भइरहेको छ । गगन थापा व्यक्तिगत रूपमा बिद्रोही, अति महत्वाकांक्षी र क्रुर कसैलाई लाग्नु स्वभाविक हो । गगन हदै शालीन र उपल्लो समन्वयकर्ता होइनन् । संसारमा त्यस्तो हुन सम्भव पनि छैन । तर, आफू भित्रको विघ्नस्वार्थ र सर्वसत्तावादी सोचले चुनदेवी पुगेको एउटा तप्कालाई अन्तत : त्यही मसानघाटको खरानीले एकदिन छोप्नेछ । त्यो खरानी यसरी हराउने छ, जहाँ कांग्रेसको आकृति धुमिल हुने निश्चित छ ।चुनदेवीको खरानीलाई कलंकको टिकोमा रुपान्तरण हुन नदिन त्यता कतै निरन्तर भइरहेको भेला, छलफल, अस्वभाविक बैठक तत्काल रोकिनु पर्छ । ती कुबेलाका भेला र छलछाम मात्रै हुन् । न तिनको वैधता छ न त भ्रुण र सग्लो शरीर धारण गर्ने सामर्थ्य नै छ।

अहिले अत्यन्त कमजोर विश्लेषण गरिँदै छ न त्यो सत्य छ न त त्यसको कुनै धरातीय आधार नै । करिब ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि सशरीर उपस्तिथि भएर विशेष महाधिवेशन सम्पन्न गरेको तथ्य ढाकछोप गरिँदैछ । र, भनिदैछ – एकजनाका लागि विशेष महाधिवेशन गरियो । यो विश्लेषणका नाममा खडा गरिएको विखण्डनको झिनो स्वर मात्रै हो । मात्रै गगन थापालाई सभापति र प्रधानमन्त्री बनाउन विशेष महाधिवेशनको गरियो भन्नू आफैंमा स्वैर नाटक मञ्चन गर्नु हो । विशेष महाधिवेशन गगनको स्वार्थका लागि मात्रै गरियो भन्ने भनाइ बौद्धिक भ्रष्टीकरणको सफेद उदाहरण हो । कांग्रेस विधानका जानकार र भुक्तभोगीहरुका अघिल्तिर त अशोभनीय र आलोच्य विषय पनि । यसले लोभको गिद्दे नजर र स्वार्थको विद्रुपता मात्रै झल्काउँछ । नकि वैधानिकताको बृहत बहस ।

निरो र रोमन साम्राज्यसँग जोडिएको एउटा पुरानो कथा छ । कांग्रेसको “ब्रान्डिङ समूह” समूहको ताजा गतिविधिले त्यही कथाको आभास दिन्छ । ब्रान्डिङ समूह त्यही लयमा त छैन ? रोमन साम्राज्यका पाँचौँ सम्राट भनिएका निरोले सन् ५४ देखि ६८ सम्म त्यहाँ शासन गरेका थिए । उनी शासक भएकै बेला ६४ मा रोममा विनाशकारी आगलागी भयो । रोम जलिरहदा निरो बाँसुरी बजाउँदै बसेका थिए । मतलब निरोले आगो निभाउन कुनै बास्तै गरेनन् । विपदलाई बिर्सेर निरो आफ्नै धुनमा झुलिरहे। जसले रोमबाट जुलियो-क्लोडियनको शासन पतन भयो । अहिलेको पद मोहले कांग्रेसको ब्रान्डिङ समूहको अवस्था पनि जुलियो-क्लोडियनको शासनको नयाँ रुप बन्न सक्छ । ​इतिहासमा निरोको छवि चित्रित भएको छ, कांग्रेसको ब्रान्डिङ समूह पनि त्यही चित्रमा बदलिन सक्छ । समयमै निरो लयबाट मुक्ति खोजिएन भने सिङ्गो कांग्रेसको चित्र नै निरो स्वरुपमा बदलिन बेर लाग्दैन ।(माथिका विचार लेखकका निजि हुन् )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button