
झापा। बंगालको खाडीमा उत्पन्न ‘अर्नव’ नामक शक्तिशाली चक्रवातको प्रभावका कारण देशका अन्य भू-भागसँगै झापा जिल्लामा पनि बाढी र डुबानको उच्च जोखिम बढेको छ। सम्भावित प्राकृतिक विपद्बाट बच्न जिल्ला प्रशासन कार्यालय झापाले सम्पूर्ण सर्वसाधारणमा विशेष सतर्कता अपनाउन अपिल गरेको छ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणको आधिकारिक सूचनालाई आधार मान्दै, प्रशासनले आज कात्तिक १२ गतेदेखि १४ गतेसम्म कोशी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको प्रवल सम्भावना रहेको जनाएको छ।
यो समय झापाका किसानहरूका लागि पाकेको धान भित्राउने मुख्य चटारोको समय हो। यद्यपि, मौसमको चरम प्रतिकूलतालाई मध्यनजर गर्दै, प्रशासनले किसानहरूलाई तत्काल पाकेको धान नकाट्न र काटिसकेको धानलाई यथासक्य चाँडो सुरक्षित स्थानमा भण्डारण गर्न विशेष अनुरोध गरेको छ। थोरै लापरवाहीले पनि ठूलो नोक्सानी हुन सक्ने तर्फ सचेत गराइएको छ।
भारी वर्षाका कारण सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन नराम्ररी प्रभावित हुन सक्ने अनुमान प्रशासनको छ। सम्भावित जोखिमलाई न्यून गर्न सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र वर्षाको समयमा सवारीसाधन नचलाउन आग्रह गरिएको छ।
यसैगरी, सूचनामा अकस्मात बाढी आउन सक्ने खहरे खोलाका आसपासमा यात्रा नगर्न, खोला किनारमा माछा मार्ने तथा दाउरा संकलन गर्ने जस्ता जोखिमपूर्ण कार्यबाट पूर्णतः टाढा रहन भनिएको छ। सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रामक र गलत सूचनाको पछि नलागी आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी पूर्वानुमान र सूचनालाई मात्र विश्वास गर्न प्रशासनले जोड दिएको छ।
चक्रवातबाट हुन सक्ने सम्भावित क्षति न्युनीकरण र तत्काल उद्धारका लागि जिल्ला प्रशासन कार्यालयले सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरूसँग बुधवार आकस्मिक बैठक सम्पन्न गरी आवश्यक तयारी पूरा गरेको जनाएको छ।
“चक्रवातका कारण भारी वर्षा हुने र बाढी आउने पूर्वानुमान आइसकेको हुँदा धनजनको क्षति हुन नदिन हामीले आवश्यक सम्पूर्ण सतर्कता र पूर्वतयारी अपनाएका छौँ,” बैठकपछि जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भने— “स्थानीय तह, सुरक्षा निकाय, स्वयम्सेवक तथा अन्य सरोकारवाला निकायलाई उच्च सतर्कताका साथ पूर्वतयारी अवस्थामा रहन निर्देशन दिइसकेका छौँ ।”



