स्वास्थ्य

यी दुई दलित बस्ती, जहाँ छैन स्वास्थ्य सुविधा

दिनेश शर्मा

राजविराज– सरकारले आधारभूत स्वास्थ्य सेवालाई पहुँचयोग्य र निशुल्क बनाएको छ। सप्तरीको छिन्नमस्ता गाउँपालिका २ रमपुराको मरिक (डोम) र सदा (मुसहर) बस्ती भने यस्ता सुविधाबाट वञ्चित छ। दुवै बस्तीका बिरामी प्राथमिक उपचार पाउन ४ किलोमिटर पैदल हिड्न बाध्य छन्।

त्यति टाढाको स्वास्थ्य संस्थामा पुर्‍याईहाले पनि सुधार हुने विश्वास स्थानीयलाई छैन। त्यसैले यी दलित बस्तीका अधिकांश बिरामी सदरमुकाम वा जिल्लाबाहिरै जानुपर्ने अवस्था छ।

रमपुराकै ६५ वर्षीया जुलोदेवी मरिक एकसाताअघि चिसोका कारण थला परिन्। बोल्न र चल्न नसक्ने हुँदै हातखुट्टा चलाउनै नसक्ने अवस्था आएपछि उनलाई भारतको बिहारस्थित सुपौल जिल्लाको खरैया पुर्‍याईएको छ।

‘नजिक स्वास्थ्य संस्था नहुँदा तत्कालै उपचारका लागि लैजान सकिएन’, स्थानीयवासी युक्ति मरिक भन्छन्, ‘लगिहाले पनि सुधार हुने विश्वास हुँदैन, दुई दिनअघि मात्रै उनलाई खरैया पुर्‍याएका छौं ।’

गाउँमा स्वास्थ्य संस्था नहुँदा बोकेर अन्यत्रै लैजानुपर्ने भएपछि समय खेर फाल्नुभन्दा सुविधासम्पन्न ठाउँमै लैजाने गरिएको मरिकको भनाइ छ।

रमपुरामा रहेका १४ घर मरिक तथा २० घर सदा परिवारमा चिसोका कारण अरु पनि धेरै बिरामी पर्न थालेको उनले जानकारी दिए। अधिकांश वृद्धवृद्धा तथा बालबालिकालाई चिसोबाट कसरी जोगाउने भन्ने चुनौती रहेको स्थानीय राजेन्द्र सदाले बताए । राजेन्द्रका बुबा पुलुर पनि केही दिन यता अस्वस्थ छन्।

गाउँमा चिसोका बिरामी बढ्दा पनि छिन्नमस्ताको स्वास्थ्य संस्थामा उनीहरु गएका छैनन्। बिहानैदेखिको सिरेटो र अत्यधिक चिसोसँगै स्वास्थ्य संस्था पनि टाढा हुँदा सामान्य बिरामी पनि त्यहाँ जानुभन्दा घरमै रुचाउने गरेको स्थानीय उमेशी सदाले बताए।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल ‘कुडुर’ ले गाउँसभा गर्न नसक्दा अधिकांश काम रोकिएको बताए। ‘विभिन्न खाले समस्या छन्, अहिलेसम्म गाउँसभा नै भएको छैन,’ उनले भने, ‘एकसाताभित्र गाउँसभा सम्पन्न गर्ने गरी तयारी गरिरहेका छौं, त्यसपछि दलित बस्तीको समस्या समाधानका लागि पहल गर्ने विचारमा छौं ।swsthyakhabarpatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button