स्वास्थ्य

मापदण्डभन्दा दोब्बर बढी नुन खान्छन् नेपाली (कुन प्रदेशकाले कति?) नुनको मात्रा नियन्त्रणको उपाय अपनाउने २ दशमलव ६ प्रतिशत

काठमाडौं- विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एक व्यक्तिले एक दिनमा ५ ग्रामभन्दा बढी नुन खान हुँदैन। तर, भर्खरै सार्वजनिक भएको एक सर्भेक्षण अनुसार नेपालीहरुले उक्त मापदण्डभन्दा झण्डै दोब्बर मात्रामा नुन खाने गरेको पाइएको छ।

नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको आर्थिक र प्राविधिक सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको नेपालमा नसर्ने रोग सम्बन्धि जोखिम तत्वको सर्भेक्षण ९स्टेप्स सर्भे०ले उक्त तथ्यांक देखाएको हो।

सर्भेक्षणअनुसार नुन खानेमा महिलाभन्दा पुरुष अगाडि रहेका छन्। पुरुषले हरेक दिन ९ दशमलव १ ग्राम र महिलाले ८ दशमलव ७ ग्राम नुन खानेगरेको सर्भेक्षण प्रतिवेदनमा उल्लेख छ।

सर्भेक्षणमा नुन सेवनको मात्रा स्पट युनि परिक्षणका आधारमा निकालिएको हो।

सर्भेक्षण देशभरका १५ देखि ६९ वर्ष उमेरका ५ हजार ५ सय ९३ जनसंख्यामा गरिएको थियो। यस्तो सर्भे हरेक ५ वर्षको अन्तरालमा गरिन्छ। सर्भेक्षण गत फेब्रुअरीदेखि मे सम्म गरिएको थियो।

चिकित्सकहरुका अनुसार धरै नुन सेवनले रक्तचाप बढ्ने, मुटुरोग लाग्ने, शरीर सुन्निने जस्ता समस्या हुनसक्छ भने कम नुन सेवन गर्दा पनि शरीरबाट पानी खेर जाने, स्नायू तरंग परिवहनमा समस्या देखापर्ने, मांसपेसी खुम्चिनमा समस्या देखापर्ने जस्ता समस्या देखापर्छन्।

नुनको मात्रा नियन्त्रणको उपाय अपनाउने २ दशमलव ६ प्रतिशत
सर्भेक्षण अनुसार खानामा नुनको मात्रा नियन्त्रण गर्न सधैँजसो केही उपाय अपनाउनेको प्रतिशत जम्मा २ दशमलव ६ प्रतिसत मात्र रहेको छ। नुनको मात्रा घटाउने उपाय अन्तर्गत तयारी खानेकुरा कम मात्रामा खाने वा खाँदैँ नखाने, घर बाहिरको खाना नखाने, खानामा नुन नै कम मात्रामा हाल्ने लगायतका विषय हेरिएको थियो।

जंक फुड खाने झण्डै २० प्रतिशत
सर्भेक्षण अनुसार जंक फुड वा नुन बढी मात्रामा हालिएको तयारी खानेकुरा खाने १९ दशमलव ५ प्रतिशत रहेका छन्। यस्ता खानेकुरा महिलाभन्दा पुरुषले बढी खाने गरेको पनि सर्भेक्षण प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार २१ दशमलव १ प्रतिशत पुरुष र १८ दशमलव १ प्रतिशत महिलाले यस्ता खानेकुरा खान्छन्।

यस्तै, खाना खानुअघि वा खाइरहँदा नुन वा नुनीलो सस् सधैँ वा प्रया थपेर खानेको प्रतिशत ९ दशमलव ८ रहेको छ।

दैनिक नुन कुन प्रदेशमा कति खान्छन्?
प्रदेश १ – ९ दशमलव २ प्रतिशत
प्रदेश २ – ८ दशमलव ९ प्रतिशत
प्रदेश ३ – ९ दशमलव ३ प्रतिशत
गण्डकी प्रदेश – ९ दशमलव २ प्रतिशत
प्रदेश ५ – ८ दशमलव ७ प्रतिशत
कर्णाली प्रदेश – ९ दशमलव ५ प्रतिशत
सुदूरपश्चिम प्रदेश – ९ दशमलव १ प्रतिशत

यो पनि :

नुनका गुण र अवगुण, दैनिक कति खानुपर्छ?
डा हेमराज कोइराला

नुन स्वादको पर्याय हो। नुन विनाका परिकार निस्वाद लाग्छन्। स्वादका दृष्टिले मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि नुन अत्यन्त महत्वपूर्ण यौगिक हो। तर अनुचित मात्रामा प्रयोग गरिएको नुनको सेवन स्वास्थ्यको लागि हानिकारक सावित हुनसक्छ।

नुनको महत्व कति छ भनेर आकलन गर्न कहिलेकाहीं ब्रत, उपबास बस्दा वा आशोच÷जुठो बार्दा गरिएको नुुन त्यागपछिको भोगाइ सबैको मस्तिष्कमा ताजा हुनसक्छ।

नुनको अनुचित प्रयोगले स्वास्थ्यको लागि प्रत्युत्पादक हुनसक्छ। धरै नुन सेवनले रक्तचाप बढ्ने, मुटुरोग लाग्ने, शरीर सुन्निने जस्ता समस्या हुनसक्छ भने कम नुन सेवन गर्दा पनि शरीरबाट पानी खेर जाने, स्नायू तरंग परिवहनमा समस्या देखापर्ने, मांसपेसी खुम्चिनमा समस्या देखापर्ने जस्ता समस्या देखापर्छन्।

केहो नुन?
नुन सोडियम र क्लोरिन नामका दुई तत्वले बनेको हुन्छ। हामीले खाने नुनमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत हिस्सा क्लोराइडको छ। सोडियम शरीरलाई नभई नहुने तत्व हो र शरीरलाई चाहिने सोडियमको मुख्य अंशको पूर्ति पनि नुनबाट नै हुन्छ।

आयुर्वेदमा पाँच प्रकारका नुन सिन्धव लवण, विड लवण, समुन्द्र लवण, सौर्वाचल लवण र सम्बर लवणको वर्णन गरिएको छ। सोडियम र क्लोरिनका अलावा नुनमा क्याल्सियम, पोटासियम, फलाम, जस्ता आयोडिन जस्ता धातुहरु पनि पाइन्छ।

नुन शरीरलाई अत्यावश्यक खनिज हो। नुनमा विद्यमान सोडियमले शरीरका कोषहरुको बाहिरी भागमा अवस्थित तरल पदार्थको अस्मोटिक प्रेसरलाई सन्तुलित राखी शरीरमा पानीको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ।

यसैगरी सोडियमले कोष भित्रको अन्तरकोषीय पानी सन्तुलित राख्न पनि सहयोग गर्छ। नुनमा रहेको सोडियमले स्नायूहरूलाई उत्तेजित हुन सहयोग गर्छ भने अम्ल र क्षारको सन्तुलन कायम गर्न पनि मद्दत गर्छ।

यसैगरी कोषको स्थिर विद्युत विभव र कार्यगत विद्युत विभव उत्पन्न हुनका लागि पनि सोडियम आवश्यक पर्छ। यसैगरी नुनमा विद्यमान क्लोरिनले पनि शरीरमा हाइड्रोक्लोरिक अम्ल बनाउन मद्दत गर्छ।

उत्पादन
नुन मुख्यतः खानी खनेर र समुन्द्रको नुनिलो पानीलाई सुकाएर जम्मा भएको अवसाद बटुलेर तैयार गर्ने गरिन्छ। खानी खनेर निकालिएको नुनालाई सिधे नुन वा हिमालयन पिंक साल्ट भनिन्छ भने समुन्द्रबाट निकालिएको नुनलाई सामुन्द्रिक लवण भनिन्छ।

नुनको मात्रा
वयस्क व्यक्तिले दैनिक ५ ग्राम नुनभन्दा कम लिनुपर्छ भने केटाकेटीले १.२ ग्रामभन्दा ज्यादा लिनु हुँदैन। अझ सोडियमको मात्रामा भन्नुपर्दा दैनिक १५०० मिग्रा सोडियम उत्तम हो र यो मात्रा २३०० मिग्राभन्दा ज्यादा हुनुहुँदैन।

नुनको अवगुण
उच्च मात्रामा नुन सेवनले रक्तचाप बढाउँछ। नुनको उच्च मात्राले रक्तचाप बढाउने हुँदा मुटुरोग र मस्तिष्कघातको खतरा पनि बढ्छ। नुनको कारणले हुने उच्च रक्तचापलाई लवण संवेदनशील उच्च रक्तचाप भनिन्छ। लवण संवेदनशील उच्च रक्तचाप भएकाहरुलाई नुन बार्न थाल्दा रक्तचाप कम हुन्छ। तर स्वस्थ व्यक्तिले नुन बार्दा रक्तचापमा खासै फरक पर्दैन। एउटा अनुसन्धानले स्वस्थ व्यक्तिले नुन छोड्दा सिस्टोलिक रक्तचाप २.४२ मिलिमिटर अफ मर्करी (एमएमएचजी) ले र डायस्टोलिक रक्तचाप १ (एमएमएचजी) ले घटेको तथ्य पाइएको छ।

कम नुन सेवन पनि हानिकारक
शरीरमा नुनको मात्रा ज्यादै कम भयो भने अनेकौं प्रकारका स्वास्थ्य समस्याहरु देखापर्न सक्छन्।

शरीरमा सोडियमको मात्रा कम भए लो डेन्सिटी लिपोप्रोटिन कोलेस्टेटोल र ट्राइग्लिसवेराइड (टिजी) को मात्रा बढेको पाइएको छ।

यसैगरी नुन नखाने मुटुरोगीहरु पनि मुटुरोगको कारणले मर्न जाने, हृदय असफल हुने, इन्सुलिन प्रतिरोधकता बढ्ने जस्ता रोगहरूसँग जोडिएको छ।

उच्च मात्रामा नुन सेवन पनि हानिकारक
उच्च मात्रामा नुनको सेवन गर्नेहरूलाई आमासयको क्यान्सर हुने खतरा बढ्नुका साथै पेटमा हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरियाको बृद्धि गराउँछ।

– उच्च नुनको सेवनले म्युकोसल व्यारियरलाई कमजोर बनाई पेटको भित्ताहरुलाई प्रदाहात्मक बनाउँछन्।

– नुनको उच्च मात्राले सोडियमका साथसाथै क्लोरिनको पनि उच्च मात्रा शरीरमा थप्छ। उच्च मात्रामा क्लोरिन लिँदा पेटमा हाइड्रोक्लोरिक अम्लको उत्पादन ज्यादा हुन्छ र एसिडीटी, रिफ्लक्स डिजिज जस्ता रोगहरू लाग्ने र अन्तत्वगत्वा ग्यास्ट्रिक, क्यान्सरको समस्या देखापर्छ।

– उच्च मात्रामा नुनको सेवन गर्दा रगतमा नुनको मात्रा बढ्न गई मिर्गौलालाई भार पर्दछ र मिर्गौला विकृत हुनसक्छ।

– उच्च मात्रामा नुनको सेवन गर्दा सोडियमको मात्रा डाइल्युट गर्न शरीरले अतिरिक्त पानी धारण गर्नेगर्छ। अतिरिक्त पानीले रगतको मात्रा र बहिरकोषकीय पानीको मात्रा पनि बढाउँछ। यसरी रगतको मात्रा बढ्दा रक्तचाप बढ्न गई मुटु रक्तनलीलाई अतिरिक्त दबाब पर्छ। रक्तचाप बढ्दा मुटुरोग, हृदयघात, मस्तिष्कघात, मिर्गौलाघात, दृष्टिघात जस्ता समस्या देखापर्छन्।

– उच्च सोडियमले हड्डीको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्‍याउँछ। उच्च सोडिएमको सेवनले पिसाबबाट उच्च मात्रामा क्याल्सियम पनि उत्सर्जन गराउने हुँदा रगतको क्याल्सियम नष्ट हुने र यसको पूर्ति गर्न हड्डीबाट क्याल्सियम रगतमा आउने हुँदा हड्डीहरू चाँडै खिइने गर्छ।

स्वास्थ्य खबरपत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button