खेलकुद

मेचीनगरमा राष्ट्रपति रनिङ शिल्ड हुँदै

बाहुनडाँगी÷ १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत मेचीनगरस्तरीय छनौट प्रतियोगिता शनिबार(भोलि) बाट सञ्चालन हुने भएको छ

मेचीनगर २ स्थित मेची जनसाधारण माविको खेलमैदानमा सो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

प्रतियोगिता सञ्चालनका लागि गठित समितिले बिहीबार उक्त मावि परिसरमा आयोजना गरेको पत्रकार भेटघाटमा सो जानकारी गराएको थियो

उक्त प्रतियोगिताको तयारीका लागि मेचीनगर शिक्षा शाखाको यहि माघ १६ गते बसेको बैठकले शिक्षासेवी एवं खेलप्रेमी विक्रम क्षेत्रीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको थियो ।

समितिका संयोजक क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य सचिव चन्द्रशेखर गुरागाईंले सोमबार समापन हुने प्रतियोगितामा नगरका ५२ वटा विद्यालयले भाग लिने बताए ।

मेची जनसाधारण माविका प्रधानाध्यापक समेत रहेका गुरागाईंले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नगरको प्याब्सनतर्फ २२, एन प्याब्सनतर्फ १४ र सामुदायिक मावितर्फ १६ वटा विद्यालय सहभागी हुने बताए ।

समितिका संयोजक क्षेत्रीका अनुसार नगरस्तरीय छनौट प्रतियोगितामा ट्रयाकतर्फ ९ वटा, फिल्डतर्फ ७ र करातेतर्फ ६ वटा खेलहरु हुनेछन् ।

प्रतियोगितामा ट्रयाकतर्फ १ सय, २ सय, ४ सय, ८ सय, १५ सय र ३ हजार मिटरको दौड गराइने छ भने ४ गुणा १ सय मिटर र ४ गुणा ४ सय मिटरको रिले दौड हुनेछ । त्यस्तै, ५ हजार मिटरको म्याराथन दौड हुनेछ ।

त्यसैगरी, फिल्डतर्फ हाइजम्प, लङजम्प फाइनल, ट्रिपल जम्प फाइनल, ज्याभलिन थ्रो, सटपुट फाइनल, कबड्डी र भलिबल खेल सञ्चालन गरिनेछ ।

यस्तै, कराते खेल विधाको छात्रातर्फ ४०, ४५ र ५० केजी तौल समूह तथा छात्रतर्फ ४२, ४७ र ५२ केजी तौल समूहमा प्रतिष्पर्धा हुने सो अवसरमा जानकारी गराइयो ।

उक्त प्रतियोगिता सम्पन्न गर्न मेचीनगर शिक्षा शाखामार्फत् १ लाख रुपैयाँ बजेट विनियोजन भएको समितिले जनाएको छ ।

प्रतियोगिता सञ्चालन समितिका अनुसार मेचीनगर नगरपालिका कार्यालयबाट १ लाख रुपैयाँ प्राप्त हुने र सहभागी प्रत्येक विद्यालयले प्रवेश शुल्क बापत २ हजार रुपैयाँ संकलन हुनेछ ।

 

करिब २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग जुट्ने अपेक्षा लिएको समितिले प्रतियोगिता सम्पन्न गर्न विभिन्न शीर्षकमा गरी करिब ५ लाख रुपैयाँ खर्च पूर्वानुमान गरेको छ ।

कार्यक्रममा समितिका सदस्यहरु डम्बर रुचाल, चेतनाथ बाँस्तोला, शेखर गिरी, देवीप्रसाद खतिवडा, भलिबल संघ प्रदेश १ का महासचिव लेखनाथ पराजुली, करातेका वरिष्ठ प्रशिक्षक कालु मेचे, सितोरियो कराते संघ जिल्ला अध्यक्ष मिलनराज प्रसाईं, राखेप कराते सहायक प्रशिक्षक कृष्ण बस्नेत, बद्री विष्टलगायतको उपस्थिति थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button