खबर

बिर्तामोडको व्यथा: सम्पन्न सहर, दरिद्र मानसिकता

बिर्तामोड / पूर्वको प्रमुख व्यापारिक केन्द्रहरुमध्ये प्रमुख केन्द्रको रुपमा बिर्तामोडलाई लिँदै आएको छ । व्यापारिक केन्द्र मात्र नभएर बिर्तामोड शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत देशकै अग्रणी सहरको रुपमा परिचित छ । मुलुककै सबैभन्दा शिक्षित जिल्लाका रुपमा झापालाई लिने गरिन्छ । झापा जिल्लाको केन्द्रको रुपमा परिचित बिर्तामोडका नागरिकमा भने समाजप्रतिको उत्तरदायित्व बोध बेलाबखत नभएको झैँ पाइन्छ।

बिर्तामोड अत्यन्तै व्यस्त सहरमध्येको एक हो । व्यस्त सहरले सहरीकरणको झल्को त दिन्छ नै साथै सामाजिक उत्तदायित्वको भूमिकामा पनि कहिलेकाँही चुनौति देखा पर्दछ । सहरीकरणसँगै व्यस्त सडकमा जाम हुने अनि ट्राफिक जाम र गैरअनुशासित व्यवहारले सहरलाई झन् झन् कोलहलमय बनाउँदै गएको पाइन्छ ।
बिर्तामोडमा ठूला ठूला व्यापारिक मलहरुले रातको समयमा एलइडी स्क्रिन मार्फत गरिने विज्ञापनले सडकमा दुर्घटनाको जोखिम बढाउने गरेको छ । केही बर्षअघि डिभिजन सडक कार्यालय दमकले राजमार्गमा राखिएका त्यस्ता बोर्ड हटाएको थियो ।
सामान्य बोर्ड राख्न समेत अनुमति नदिएको डिभिजन सडक कार्यालयले डिजिटल डिस्प्ले बोर्ड राख्दा समेत हटाउन सकेको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होमप्रसाद अधिकारीले यस्ता बोर्डले सवारी सञ्चालनमा असर गर्ने बताउँछन् । तर, त्यसलाई हटाउन भने सडकले मात्र सक्ने उनको भनाई छ । बिर्तामोडमा अहिले तीनवटा डिजिटल बोर्डहरु मुख्य राजमार्गतर्फ फर्काएर राखिएका छन् । ती बोर्डमा विभिन्न कम्पनीका विज्ञापन प्रशारण हुने गर्छन् ।
यस्ता डिस्प्ले बोर्ड राख्नेमा प्रतिष्ठित व्यवसायी नै अगाडि छन् । यहाँ वान स्टप मल, हनुमान सेन्ट्रलमा डिजिटल डिस्प्ले बोर्ड राखिएका छन् । उनीहरु सबै पहुँचवाला व्यवसायी भएका कारण उनीहरुका विरुद्धमा कसैले आवाज उठाउन सक्दैनन् । यस्ता बोर्ड राख्दा सम्बन्धित निकायबाट स्वीकृति समेत नलिई लाखौँको कारोबार समेत गरिरहेका छन् ।
वान स्टप मलका सञ्चालक मिजास पोखरेलका अनुसार बोर्ड उनको होइन । उनले भुवन मेचे नामका व्यवसायीले निश्चित रकम तिरेर बोर्ड राखेको बताए । यसको असरका बारेमा जिज्ञासा राख्दा पोखरेलले ट्राफिक प्रहरीसँग बुझ्ने प्रतिक्रिया दिए ।
बिर्तामोड नगरपालिकाका प्रशासकीय अधिकृत पशुपति खतिवडाले डिजिटल बोर्ड राख्न दिने निर्णय आफूलाई थाहा नभएको बताए । उनले बिराटनगरको आकृति एडभरटाइजिङलाई विज्ञापन गर्न र त्यसको शुल्क सङ्कलन गर्न ठेक्का दिएको समेत आफूलाई थाहा भएको बताए । आकृति एडभरटाइजिङका एकजना सञ्चालक अभि चौहानले सडकमा राखिएका डिस्प्ले बोर्डबाट शुल्क उठाउने बताए । सडकमा बोर्ड राख्नु गलत भएको बताउँदै चौहानले नगरपालिका र ट्राफिक प्रहरीले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।
सार्वजनिक सरोकारका विषयमा जनप्रतिनिधि उत्तरदायी हुनुपर्छ । तर, बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले डिजिटल बोर्डको असरका बारेमा आफूलाई जानकारी नभएकाले अहिलेसम्म चर्चा नगरेको बताए । यस विषयमा अब नगरमा कुरा उठाउने पाण्डेले बताए । उनले भने–‘यस्ता बोर्ड राख्नु गलत हो, नगरले कारवाही प्रक्रिया अघि बढाउँछ ।’
सम्पन्न सहरको नमुना सभ्य नागरिकको व्यवहारले झल्काउँछ । बिर्तामोड नगरपालिकाले अहिले फोहोर उठाउने गाडी दैनिक सञ्चालन गरिरहेको छ । तर, यहाँका व्यापारी र स्थानीयवासी सडकमा फोहोर थुपार्न तँछाडमछाड गर्छन । जसको प्रत्यक्ष असर सर्वसाधारण नागरिकमा मात्र परेको छैन स्वयम् उनीहरुमा विभिन्न रोगको संक्रमण बढ्ने खतरा रहन्छ । बिर्तामोड नगरपालिका ५ का जनप्रतिनिधि डिआर कडरियाका अनुसार उत्पादित फोहोरलाई सडकमा नफ्याली घरमै संकलन गरेर राख्ने अभियान चलाइएको भएपनि त्यो प्रभावकारी हुन नसकेको अवस्था छ । यति मात्र होइन, बिर्तामोडका प्रतयेक घरको छतमा जम्मा हुने पानी पाइपमार्फत सडकमा झारिन्छ । जसका कारण नयाँ सडक पनि केही दिनमा खाडल पर्ने गरेको छ ।
यी र यस्ता घटना उदाहरण मात्र हुन् । ठूलो सहर भएर पनि मानसिकता बदल्न नसक्दा दरिद्रता प्रस्तुत भइरहेको प्रस्ट देखिन्छ । यतिसम्म कि बिर्तामोडका सहरमा फुटपाथमा व्यापार गर्दै आएका साना व्यवसायीले समेत सटरवालालाई भाडा बुझाइरहेका छन् । जसकारण वर्षाैदेखिको फुटपाथको समस्या ज्यूंका त्युँ रहेको छ । यसप्रति सम्बन्धित निकाय बेखबर झँै बन्नु समस्या समाधान हुन नसक्नुको मुख्य कारण हो ।janasamsad

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button