खबर

नक्कली इन्स्पेक्टर बनेर ठगी गर्ने पक्राउ

झापा । नेपाल प्रहरीको प्रहरी निरीक्षक भएको बताएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–३, झुल्केका २२ वर्षीय विजय वाग्ले रहेका छन् । वाग्लेलाई इलाका प्रहरी कार्यालय ,काँकरभिट्टाको टोलीले पक्राउ गरेका एसपी कोइरालाले बताए । उनका अनुसार वाग्लेले कामको सिलसिलामा सिलगुढी गएका बेला भेट भएका दुई जनालाई प्रहरीमा जागिर खान मन भए, सम्पर्क गर्नु भनेका थिए । त्यसबेला उनले आफूलाई विराटनगर तालिम केन्द्रमा कार्यरत रहेको भनेर परिचय पत्र पनि देखाएका थिए । ‘डीआईजी साब मेरो ठूलो बुबा हो, मैले भनेपछि काम भईहाल्छ भनेर आश्वसन दिएको देखिन्छ’, कोइरालाले सुनाए, ‘केही दिनपछि फोन गरेर असईमा जागिर खुलेको भन्दै फारम भर्न लगाएको देखिएको छ । त्यसपछि पैसा लिएर उनी सम्पर्कविहीन भएका थिए ।’ प्रहरीका अनुसार वाग्लेले असईमा नाम निकाल्न एक जना बराबर ३ लाख रुपैयाँ दिनुपर्ने बताएका थिए । तर, प्रारम्भमा एकरएक लाख रुपैयाँ मागेका थिए । थप रकम काम भइसकेपछि भनेका थिए । उनले एक जनासँग ५० हजार र अर्कासँग एक लाख रुपैयाँ लिएर समपर्क्विहीन भएका थिए । त्यसपछि पीडितले इलाका प्रहरी कार्यालय, काँकरभिट्टामा सम्पर्क गरेका थिए ।

त्यसपछि नक्कली इन्स्पेक्टरको रहस्य खुलेको हो । वाग्लेको अन्य कर्तुत खोज्दै प्रहरी उनीहरुलाई जस्तै वाग्लेले अन्य व्यक्तिलाई पनि ठगी गरेको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, हालसम्म उनी अन्य कुनै अपराधमा संलग्न भएको रेकर्ड फेला परेको छैन । एसपी कोइराला भन्छन्, ‘अरुलाई ठगेको हुनसक्छ, हामीले अन्य जिल्लाका प्रहरी कार्यालयमा पनि पत्राचार गरिसकेका छौं ।’ कोही व्यक्ति वाग्लेबाट पीडित भएको भए, नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । प्रहरीसँग प्रारम्भिक बयानमा वाग्लेले बिराटनगरमा रहेको एक कम्युनिकेशन सेन्टरबाट नक्कली कार्ड बनाएको बताएका छन् । उनीविरुद्ध जिल्ला अदालत, झापाबाट मुलुकी अपराध संहिताको ठगी तथा सरकारी कागजात कीर्ते सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान सुरु भएको छ ।janasamsadonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button