
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग राउन्ड अफ १६ अन्तर्गत पहिलो लेगमा बुधबार भएको खेलमा जर्मन टोली आरबी लाइप्जिग र इटालियन टोली एटलान्टाले जित दर्ता गरेका छन् ।
लाइप्जिगले इंगलिस टोली टोटेनहम हट्स्परको मैदानमा १-० को जित दर्ता गरेको हो । खेलको दोस्रो हाफमा फरवार्ड टिमो वेर्नरले पेनाल्टीमा गोल गर्दै जित पक्का गरेका थिए । ५८ औं मिनेटमा डिफेन्डर बेन डेभिसले मिडफिल्डर कोन्राड लाइमेरलाई लडाएपछि प्राप्त पेनाल्टीमा वेर्नरले गोल गरे । त्यसअघि पहिलो हाफमा लाइप्जिगले उत्कृष्ट सुरुवात गरेपनि गोल गर्न सकेको थिएन ।
दिनको दोस्रो खेलमा एटलान्टाले घरेलु मैदानमा स्पेनिस टोली भ्यालेन्सियालाई ४-१ ले पराजित गर्यो । खेलको १६ औं मिनेटमा हान्स हाटेबोरले गोल गर्दै एटलान्टालाई अग्रता दिलाए । ४२ औं मिनेटमा जोसिप इलिचिचले अग्रता दोब्बर पारेपछि एटलान्टा सुदृढ अवस्थामा पुगेको थियो ।
दोस्रो हाफको ५७ औं मिनेटमा रिमो फ्रयूलर र ६२ औं मिनेटमा हाटेबोरले गोल गरेपछि एटलान्टा ४-० को बलियो स्थितिमा पुगेको थियो । भ्यालेन्सियाका डेनिस चेरेसेभले ६६ औं मिनेटमा गोल गरेपनि उक्त गोल सान्त्वनामा सिमित भयो ।
दुवै खेलको दोस्रो लेग मार्च १० मा हुनेछ । यसअघि मंगलबारको खेलमा एटलेटिको म्याड्रिडले लिभरपुललाई १-० ले पराजित गरेको थियो । त्यस्तै बोरुसिया डर्टमुन्डले पीएसजीलाई २-१ ले हरायो ।hamrokhelkud



