
काँकरभिट्टा / काँकरभिट्टामा सम्पन्न निर्मल राई स्मृति जिल्ला स्तरीय अन्तर मावि भलिबल प्रतियोगिताको उपाधी मुनाल एकाडेमी भद्रपुरले जितेको छ ।
फाईनलमा थेसिस इंगलिस स्कूल मेचीनगरलाई सोझो सेटमा २५÷ १९ , २५÷ २१ ले पराजित गर्दै मुनालले उपाधी जितेको हो । उपाधी संगै मुनालले नगद रु २० हजार प्राप्त गरेको छ । उपविजेता बनेको थेसिसले नगद १० हजार प्राप्त गरेको छ ।
विजेतालाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, बिशेष अतिथि एन प्याबसनका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश १ अध्यक्ष जयबहादुर श्रेष्ठ लगायतले नगद सहित ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समन्वय समिति प्रमुख पोर्तेलले बिशेष गरी पहाडी भेगमा धेरै लोकप्रिय रहेको भलिबल यस किसिमका प्रतियोगिताका कारण तराईमा समेत लोकप्रिय बन्दै भएको बताए । राष्ट्रले लिएको समृद्धीको सपना साकार पार्न खेलकुदले महत्वपूर्ण भुमिका खेल्ने बताउदैं पोर्तेलले बिद्यालय स्तरमा आयोजना गरिएका यस्ता प्रतियोगिताले खेलाडि उत्पादन गर्नमा समेत मद्धत पुर्याउने बताए । पछिल्लो पिडीमा स्वास्थ्यका लागि समेत खेलकुद महत्वपुर्ण रहेको चेतना सबैमा बढ्दै गएको कारणले समेत खेलकुुदमा मानिसको रुची बढेको उनको भनाई थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि मुनाल एकाडेमी भद्रपुरका अभि राजवंशी घोषित भए । उनले नगद २ हजार सहित ट्रफी, मेडल तथा प्रमाण पत्र हात पारे । त्यस्तै बेष्ट सर्भर, थेसिसका कल्याण पौडेल, बेष्ट लिफ्टर मुनालका प्रवेश बस्नेत, डिफेण्डर कुनाल गजमेर, बेष्ट स्पाइकर शनिश्चरे माविका अनिश अधिकारी घोषित भए । उत्कृष्ट घोषित हुन सफल बिद्यार्थीलाई ट्रफी मेडल तथा प्रमाण पत्र प्राप्त गरिएको खेल संयोजक राजकुमार बिश्वकर्माले जानकारी दिए ।
यस अघि मेचीनगर पत्रकार टिम तथा झापाली शिक्षक टिम बीच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो । जसमा शिक्षक टिम विजयी भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पोर्तेल, बिशेष अतिथि नेपाली कांग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, युवा संघ पूर्व केन्द्रिय सचिव राजु कार्की, एन प्याबसन केन्द्रिय उपाध्यक्ष एवं प्रदेश नं १ अध्यक्ष जयबहादुर श्रेष्ठ, एन प्याब्सन झापा अध्यक्ष खीवराज भट्टराई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
फागुन ७ गतेबाट सुरु भएको प्रतियोगितामा झापा जिल्ला भरका संस्थागत तथा सामुदायिक गरी २३ वटा बिद्यालयले सहभागीता जनाएका थिए। अरुणोदय आवासीय मावि काँकरभिट्टाले प्रत्येक बर्ष आयोजना गर्दै आएको प्रतियोगिताको तेस्रो संस्करणमा जिल्ला भलिबल संघ झापाको प्राविधिक सहयोग रहेको थियो ।
बिद्यालयका प्रध्यानाध्यापक दुर्गाबहादुर लुइटेलले स्वागत गरेको समापन समारोहको अध्यक्षता बिद्यालयका अध्यक्ष भगिरथ राई तथा सञ्चालन सहायक प्रध्यानाध्यापक जीआर धितालले गरेका थिए ।jansamsadonline



