मूल खबर

ओलीको आत्मघाती बाटो

प्रधानमन्त्री केपी शर्मा ओली १४ वर्ष जेल बसेका, त्यो भन्दा लामो समय पार्टी संगठनका अनेकौं जिम्मेवारीमा रहेर काम गरेका एक जना अनुभवी नेता हुन् । लागेको कुरा प्रष्ट रुपमा भन्ने, विपक्षीप्रति कडा शब्दमा कटाक्ष गर्ने, आफ्ना कार्यकर्ताको संरक्षण गर्ने स्वभाव पनि उनका विशेषता भनेर प्रचारित छन् । समकालीन नेपालका अनुभवीमध्येका एक शीर्ष नेता ओली पछिल्लो समयमा दुनियाँ हँसाउने काममा बढी मोहित बनेका छन् । आफ्नै गौरवशाली विगतलाई जिस्क्याउँदै र गिज्याउँदै उनी जे जे गर्दैछन् त्यसले व्यक्तिगत रुपमा जगहँसाईको पात्र बनिरहेका त छन् नै , सँगै उनले नेतृत्व गरेको दल नेकपालाई पनि तीव्र रुपमा धक्का दिइरहेको छ । यस्तो आत्मघाती यात्रा ओलीले तत्काल नरोके नेकपाले त्यसको सबैभन्दा चर्को मूल्य चुकाउनुपर्नेछ ।

निश्चय नै प्रधानमन्त्री ओलीलाई जन्मदिन मनाउने, केक काट्ने स्वतन्त्रता छ, हुनुपर्छ । तर, त्यसका नाममा हिजोका राजाहरुको शैलीमा मान्छे ओसार्ने, जयजयकार गर्न लगाउने, सार्वजनिक बिदा दिन लगाउने जस्ता काम ओलीले अंगालेको भनिएको राजनीतिक दर्शन र नेपालको संविधानले गर्ने अनुमति दिँदैन । संघीय लोकतान्त्रिक गणतन्त्रका प्रधानमन्त्रीलाई राजा बन्ने रहर यतिविधि बढ्नुको अन्तर्य सत्ता उन्माद र स्तुतिगानको भोक नै हो । शक्तिमा रहेका व्यक्तिको इच्छा पूरा गर्न जस्तोसुकै लाचारी देखाउने अनुयायीहरु पनि यसका लागि तयार हुनु अनौठो होइन । मुख्य कुरा निर्णायक व्यक्ति के चाहन्छन्, त्यसले सबैकुरा निर्धारण गर्छ ।यतिबेला सामाजिक सञ्जालमा प्रधानमन्त्रीका सल्लाहकारहरु सबैभन्दा बढी निशानामा परेका छन् । हेर्दा प्रधानमन्त्रीका वरिपरि देखिने ती कमजोर प्राणीहरुलाई यति ठूलो दोषको भागिदार बनाउन जरुरी छैन । किनभने, प्रधानमन्त्री ओली आफै आफ्नो भक्तिगान सुन्न लालायित हुने गरेको रहस्य छिपेको छैन । त्यसैले राजसी तामझाम ओलीको रोजाई हो, सल्लाहकारको योजना होइन । बिहे, पास्नी, व्रतबन्ध र जन्मदिन कसरी मनाउने भन्ने पार्टी आचारसंहिता तयार भएर त्यसको मसी नसुक्दै, समाजवादतिर डोर्याउँछु भन्ने प्रधानमन्त्रीको दैनिक क्रियाकलाप, चिन्तन र आम व्यवहार भने बिल्कुल उल्टो हुनु चिन्ताको विषय हो । आफ्ना सबैभन्दा विश्वासपात्रले करोडौंको घुस डिल गरेको विषयमा मौनता साँध्नु, राष्ट्रिय संकल्प र प्राथमिकताहरु भुलेर अहमको बाँसुरी बजाइरहन व्यस्त बन्नु झन् चिन्ताको विषय हो ।jansamsadonline/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button