
जी एन शर्मा
जगत कोरोना संक्रमणको त्राहीमाममा थला परेको छ । मै हुँ भनेर पल्टनेहरु पनि उत्तानो पर्ने अवस्था छ । हामी निमुखाजन कोरोना र जाउलको पिरलोले महाथला परेकाछौँ । जनको स्वास्थ्य सुरक्षा र आबशकीय बन्दोबस्तीमा बाउँठिएकाहरुलाई पनि भेला गर्नु पर्ने बेलामा बेला न कुबेलाको मुरली फुकेर हाम्रा स्वामीले जगलाई हँसाएकाछन् । मानौँ यो बेलामा उनले यो नल्याएका भए आकाश झर्ने थियो र धर्ती फाट्ने थियो जस्तो गरेर भ्याइनभ्याई गरेर अध्यादेश ल्याए ।
कोरोना सकसले अझै कति दिन दुनियाँलाई भत्काउँदै लाने हो कुनै ज्योतिषिलाई थाहा छैन , तर एकान्तबासमा ब
सेका स्वामीजीलाई खै कस्तो अनपामरिमको सनक छायो घरभित्रकै मनुवाहरुलाई समेत सुँईको नदिई मिल्न सके मिल्ने नमिले जाने र जे गर्न मन लाग्छ गर्दा हुने काइदाको दुईलाइन फर्मान गरे । अहिले एक थरि बेलामा के बोल्ने र कुबेलामा के गर्ने सम्मका हेक्का नभएका अड्कलपच्चुहरु यसलाई मनकान्ते ब्याख्याको लम्बेतान लगाउदैछन् । हुनत स्वामीजीकै कुपा दृष्टिले जाउलोदेखि उखरमाउलो गर्न सम्म अवसर पाएकाहरुले स्वामीको काईते होस या कुटिल निणर्यको शिरोधार्य नगरि खैरो पनि छैन तर कोरानाको यो महासंकटमा स्वामीद्धारा ल्याईएका यी चिजहरु कति महत्व, दुरगामी र अर्थ बोकेका हुन् भनेर अहिले उनकै ब्यासका छेउछाउमा ओतलागेकाहरु पनि जिल्ल पर्ने बेला भएकोछ ।
संसारमा कोरोनाको डढेलोले मानव अशतित्वनै महासंकटमा गुज्रिरहेका बेला मौका यही हो भने जस्तो गरेर ल्याईएका स्वामीजीका यी दुई लाईनका बारेमा अहिले उनकै घर आँगनमा खेलाबैलाको विषय बनेको छ । सामान्य मनुवाको हिसाबले पनि केही कुरो बनाउन जुट्नु पर्छ , हात र काँध मात्रै होइन मनपनि जुटेर गरे त्यो असल हुन्छ । अनि असल गर्नलाई नियत पनि असलनै हुनु पर्छ । भनाईमा आदर्श र गराईमा कुटिलताको जोडन परेको छ भने त्यो असल बन्दैन कुरुपमा रुपान्तरण हुन्छ । लाग्छ भर्खर स्वामीजीको तर्फबाट ल्याईएका यी दुई हरफको भाषा र भाव पनि कुटिलनै हो ।
अक्सर आम स्वामीहरुको एक प्रकारको स्वभावनै हुन्छ । आफु बाहेक जगतलाई मूर्ख स्मरण गर्ने र आफै मात्र सबै थोकको सर्वगुण सम्पन्न भन्ने यो स्वभाव भन्दा पनि कुटिल नियत हो । नागरिकमा कोरोना संक्रमणको सन्त्रास त छदैछ त्यस माथि रासन पानीको पिरलोले थाङथिलो पारेको समयमा स्वामीजीले आँतरमा ल्याउन भएको यो अचम्म र उदेकको पोको आफैमा विभाजन र विभक्तको संकेत हो भनेर बुझे हुन्छ । कतिपय स्वामीजीका समिपमा रहेर उहाँका हरेक गतिविधीलाई पुण्यकर्मको रुपमा ग्रहण गरेको नाटक गरेर स्वामीको जयजयकार गर्नेहरु अहिले पनि यो वा त्यो का नाममा विषयको सत्यता र यसको गाम्भिर्यतालाई अड्कलपच्चु बुद्धिका माध्यामले यो असल कर्मका लागिनै हो भनेर सुरिलो र खिरिलो स्वरमा गानाभजाना गरिरहेकाछन् । हामी सोझा मान्छे लेखेको जे छ त्यही जान्दछौँ अनि त्यसले गर्ने जे हो त्यही भन्दछौँ ।
स्वामीजीले ल्याउनु भएको यो कोशेलीले यही अर्थ राख्छ र यसको उद्देश्य पनि यही हो कि जुटेकालाई फुटाउने, फुटेकालाई टुटाउने र टुटेकालाई किनारानै लगाउने र अर्को लाइनले यो बल दिएको छ कि आफ्ना हातमा ढाडु र पून्यु छ भने कसलाई कति दिने कि नदिने स्वविवेक भान्साको हो । तर, अहिले यसको भाषालाई गिजोलगाजोल पारेर आफ्नो मण्डलीको नियत र कुटिलतालाई छोप्न र ढाक्नका लागि जसरी यसलाई सामान्यीकरण गर्न खोजिदै छ त्यो अर्को कुटिल प्रपञ्च हो भन्ने कुरा अब कसैले ढाकेर हुनेवाला छैन ।
0 17 2 minutes read



