खेलकुद

हामेसमा देखिएको परिवर्तन

कार्तिक ४, २०७७

एजेन्सी – कोलोम्बियन मिडफिल्डर हामेस रोड्रिग्वेजका लागि पछिल्लो केहि वर्ष बिर्सनलायक रह्यो । उनका लागि मुख्य समस्या चोट थियो ।

रियल म्याड्रिडमा रहँदा होस् वा बायर्न म्युनिखमा उनका लागि फिटनेस टाउको दुखाईको विषय बन्ने गरेको थियो । जसका कारण उनले न त एकरुपको प्रदर्शन गर्न सके न त स्तरीय । अन्तर्राष्ट्रिय जिम्मेवारीबाट फर्केपछि रियल वा बायर्नमा रहँदा फेरि अर्को चोट लागेर फर्केका अनुमान गरिन्थ्यो । २९ वर्षे कोलम्बियन स्टारमा पछिल्लो समय पुरै परिवर्तन देखिएको छ ।

एभर्टनमा उनको खेल जीवनले नयाँ मोड लिएको आभाष मिल्न थालेको छ । जिनेदिन जिदानको रियल छाडेर प्रिमियर लिग टोली पुगेयता उनी उच्च स्तरको प्रदर्शन गरिरहेका छन् भने नियमित खेलिरहेका छन् ।

उनको लागि प्रि सिजन सन्तोषजनक थिएन । जब उनी कार्लो एन्सेलोटीको टोलीमा आबद्ध भए, उनको व्यापक परिवर्तन देखिएको छ । पछिल्लो ५ खेलमा उनले पहिलो रोजाईमा खेलेका छन् । त्यसमध्ये २ खेलमा पुरा गरे भने बाँकी तीन वटामा परिवर्तन भए । ३ खेलमा पनि कम्तीमा ७८ मिनेट खेलेका थिए ।

एभर्टन र कोलम्बियाली राष्ट्रिय टोलीमा गरेर रोड्रिग्वेजले ६ सय ७६ मिनेट खेलिसकेका छन् । यो महिना विश्व कप छनोटमा भेनेजुयला र चिलीविरुद्ध गरेर उनले १ सय ६४ मिनेट कोलम्बियाका लागि खेलेका थिए ।

अघिल्ला वर्षहरुमा रोड्रिग्वेजले पुरा ९० मिनेट खेल्नेमा शंका रहन्थ्यो । तर, यसपटक अन्तर्राष्ट्रिय जिम्मेवारीबाट फर्केलगत्तै शनिबार उनी लिभरपुलविरुद्धको खेलमा पुरा समय मैदानमा रहे ।
उता जिदानको टोलीका खेलाडीमा भने अन्तर्राष्ट्रिय विश्रामबाट फर्केका खेलाडीमा फिटनेसको समस्या देखिएको थियो ।

कासिमारो, फेडे भाल्भर्डे र फेर्लान मेन्डीले काडिजविरुद्ध बेन्चबाट सुरुवात गरेका थिए । रियलले १–० ले गुमाएको त्यो खेलमा लुका मोड्रिचलाई मध्यान्तरपछि परिवर्तन गरिएको थियो ।

गुडिसन पार्कमा रोड्रिग्वेजले पुरा समय बिताएको खेलमा च्याम्पियन लिभरपुललाई एभर्टनले २–२ को बराबरीमा रोकेको थियो । ५ खेलको समाप्तीमा एभर्टन लिग तालिकाको शीर्षस्थानमा यथावत छ ।

फिटनेसका लागि संघर्ष गरिरहने रोड्रिग्वेजको शारीरिक रुपमा पनि परिवर्तन देखिएको छ । टोलीको आवश्यकता अनुसार उनले आफुलाई प्रस्तुत गरिरहेका छन् । लगातारको उच्च प्रदर्शनले पक्कै उनी मानसिक रुपमा पनि बलिया भएका छन् । प्रिमियर लिगमा फुटबल भविष्य खोज्न निस्केका रोड्रिग्वेजको अहिले सम्मको यात्राले सुखद संकेत गरेको छ । शारीरिक रुपमा पनि उनी नयाँ चुनौतीका लागि तयार देखिन्छन् ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button