
जी एन शर्मा
पुस्तकको नाम एक दिन राखेपनि धेरै दिनको कुरो छ ।तर, सत्य त यो हो सबै दिनहरु पनि त एक दिननै भएका त हुन्छन् नि । मित्र तीर्थ सिग्देलद्धारा लिखित पुस्तकलाई एक सरो नियाले पछि मलाई पनि यसै भन्न मन लाग्यो ।
पत्रकारिता र साहित्यलाई पछिल्ला केही दिनहरुमा संगसँगै लिएर खिप्ती कलम चलाईरहेका झापाली पत्रकार तीर्थ सिग्देलको पछिल्लो कृतिलाई यो वास्तवमा केहो या यही हो भनेर के भन्ने अहिले पनि दोधारमै छु । समय कथाका रुपमा आएको एक दिनलाई पुरै दिन लगाएर हेर्दा तीर्थको एक दिनले म आफैमा एउटा बहस चलायो । यात्रा स्मरण अर्थात घुमन्ते कथा भनौँ कि निबन्ध भाकाको यात्रा विवरण जो सूचना सहितको छ , शीर्षकका मुनिका हरफहरुमा देखिएको अर्को गहन पक्ष जसरी बगेको छ त्यसलाई सूचना सहितको कथा जस्तो पनि देखिन्छ । बाहिरको गाता पछि एकै चोटी आँखा पुगे मेरा समपर्णमा भित्रका सबै कुरा राम्रा र रसिला रहेछन् तर बाहिरकै समपर्णलाई मैले झरिलो भन्दा खिरिलो भेटेँ अर्थात एकै नजरमा मायाँ बस्यो भने झैँ समपर्णका शब्दहरु मेरा लागि नै लेखिदिए जस्तो लाग्यो जो असाध्ये गहकिला र गहन रहेकाछन् ।
लेखकले पुस्तकमा आफ्ना समय समयका जीवनका यात्रालाई पस्केकाछन् । अर्थात आफ्ना केही अनुभवलाई पर्गेलेर प्रस्तुत गरेकाछन् । बिना जिकिर भन्दा यो एउटा यात्रा कथा नै हो , यो एउटा साहित्यसँगै हुर्केको सूचनाको बोट पनि हो अनि यो एउटा खबर पुस्तक पनि हो । पत्रकारतिाको आफ्नो लम्बे यात्राकै बीचबाट तीर्थले आफु भित्रको सर्जकलाई पनि चिनारी गराउन थालेकाछन् । केही समय यता देखि उनी आफ्नो सर्जकलाई पत्रकार तीर्थ भन्दा पनि लेखक तीर्थको रुपमा परिचय गराउँदै गएका छन् । एक दिन पुस्तकमा उनले आफुले गरेको यात्रा विवरण समाचारको शैलीमा उन्दै त्यसलाई कथानक भाकामा पाठकको मन खिच्ने गरि कर्म गरेको प्रष्ट त स्वयम् एक दिन पुस्तकलेनै साक्षी प्रमाण पेश गरेको छ ।
फरक फरक विषय वस्तु र प्रसङ्गलाई क्रमागत रुपमा राखिएको एक दिनले इतिहाँसलाई पनि समेटेको छ , झट्ट हेर्दा यात्रा विवरण जस्तो लागे पनि एक दिनमा धर्मदेखि राजनीति र विकास देखि कतिपय प्रसङ्गमा ब्यङ्ग्य पनि उनले नजानिदो पारामा गरेकाछन् । एक दिन ठ्याक्कै भन्दा तीर्थ सिग्देलको यात्राको भोगाईको विविध प्रसङ्गनै हो तर एक दिन फेरि आफैमा एउटा पढेर चिन्तन गर्नु पर्ने मूल खबर पनि हो । एक दिनमा धेरै दिनका चौध वटा विषय वस्तुको उठान गरेकाछन् लेखकले । कतै सूचना मूलक त कतै सन्देश र समाचारका बान्कीमा उनले आफ्नो सृजनालाई पढ्न लोभ्याउने गरि परिश्रम गरका छन् । एक दिन पुस्तकको नाम सरल र सटिक छ तर एक दिनमा धेरै दिनहरुको कथा छ, एक दिन विगतका कैयन वर्षलाई बोकेर आएको देखिन्छ अनि अरु कैयन वर्ष सम्मका लागि एउटा तथ्य र सत्य सहितको भोगाई अनि सूचना पनि बनेर आएको छ । नाम अनुसारको पुस्तकको आवरण मिलेको छ अनि नाम अनुसारकै लेखकको लेखन कलाले दिनहरु र जीवनका भोगाईलाई उधिनेको पनि देखिन्छ । मलाई त अझ भन्न मन लागेको छ एक दिन कथा भाकाको निबन्ध हो , एक दिन फेर निबन्ध पाराको कथा हो अर्थात यो एउटा समय कथा नै हो । समाचारमा समेत धक फुकाएर प्रस्तुत हुने तीर्थ सिग्देलले एक दिनमा अझ आफुलाई आफ्नो लेखकीय आयातनलाई फराकिलो र फरासिलो पारेका छन् । पत्रकारिता र साहित्यलाई एकै साथ लिएर अघि बढेका मित्र तीर्थबाट आउने दिनमा समेत यस्तै गहकिला सृजनाको अपेक्षा सहित एक दिनलाई एक पटक पढ्न सबैमा सादर अनुरोध गर्दै लेखकलाई मनबाटै शुभकामना छ !



