
दिलीप घोषको पोस्टरमा थुकेको आरोप, भाजपाद्वारा निन्दा
जनवरी 19, 2021
सिलगढी : भाजपा राज्य सभापति दिलीप घोषको पोस्टरमा थुक फ्याँकेको घटनाको भाजपाले तीव्र निन्दा गरेको छ। दिलीप घोष सिलगढीको बाघाजतीन पार्कमा आयोजित भाजपाको जनसभामा अंश ग्रहण गर्नको लागि आज सिलगढी आइपुगेका छन्। यसैले बाघाजतीन पार्कको विभिन्न ठाउँमा दिलीप घोषको पोस्टर टाँसिएकोले उक्त पोस्टरमा थुक फ्याँकेर तिनको अपमान गरेको भाजपाको आरोप रहेको छ। अर्कोतिर भाजपा सिलगढी जिल्ला साधारण सचिव राजु साहाले अँध्यारोको फाइदा उठाएर तृणमूल कङ्ग्रेसले यस प्रकारको कार्य गरेको आरोप लगाए। उक्त घटना अति नै निन्दनीय रहेको बताउँदै यस विरुद्ध आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।
बिमल खेमामा पहिरो जाने क्रम जारी: 44 नम्बर समष्टि सहसचिवले दिए राजिनामा

जनवरी 19, 2021
जलढका : गोजमुमो बिमल खेमाको केन्द्रीय समितिका पदाधिकारीहरूले राजिनामा दिने क्रम चलिरहेकै समयमा यता कालेबुङ जिल्लाको 44 नम्बर समष्टिका पार्टी सहसचिव श्याम कुमार राईले पनि आफ्नो व्यस्तता अनि शारीरिक अस्वस्थताको कारण देखाएर पार्टीबाट राजिनामा दिएका छन्। यसले गर्दा क्षेत्रको साङ्गठनिक सुदृढीकरणमा पार्टीले चलाइरहेको अभियानमा केही असर परेको देखिन्छ। गत 2008 देखि नै पार्टीमा सक्रिय रही आएको साथै जेल र मुद्दामा समेत खटेका श्याम कुमार राईले पार्टीमा कुनै त्रुटि रहेको भए क्षमा याचनासमेत गरेका छन्।
विनय तामाङ दुईदिने साङ्गठनिक बैठक गर्न खरसाङमा

जनवरी 19, 2021
खरसाङ : गोर्खा जनमुक्ति मोर्चा, खरसाङ महकुमा समितिको तत्वावधानमा आयोजित पार्टीको साङ्गठनिक बैठकमा अंशग्रहण गर्न पार्टीका अध्यक्ष विनय तामाङ आज खरसाङ आइपुगेका छ्न्। तिनले आज अनि भोलि पार्टीका नेतृत्व अनि कार्यकर्ताहरुसँग विचार विमर्श गर्ने कार्यक्रम रहेको पार्टी सूत्रले जनाएको छ। स्थानीय टाउन हलमा आयोजना गरिने आजको सभामा विशेष गरी खरसाङ महकुमा अन्तर्गत पर्ने 13 वटा समष्टिले आफ्नो रिपोर्ट राख्नेछन् भने पार्टीको भावी रणनीति माथि विचार विमर्श गरिने भएको छ।siliguritimes/from,india



