अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।
अमेरिकामा २० जनवरीको दिन नवनिर्वाचित राष्ट्रपतिले शपथग्रहण लिने परम्परा छ। यो दिन निर्वाचित राष्ट्रपतिको स्वागत तथा निवर्तमान राष्ट्रपतिको बिदाइ गरिन्छ।
यसपटक डेमोक्रेटिक पार्टीका जोसेफ आर बाइडेन जुनियर अर्थात् जो बाइडेनले आज ४६औँ राष्ट्रपतिका रूपमा शपथ लिनेछन्। शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको छ।
संसद भवन क्यापिटल हिलमा यसपटकको शपथ समारोह सामान्य हुनेछ । कोरोना भाइरसका कारण ८० प्रतिशत शपथ कार्यक्रम भर्चुअल रूपमा गरिन लागेको हो ।
गत ६ जनवरीमा रिपब्लिकन पार्टीका समर्थकले क्यापिटल हिलमा गरेको हिंसात्मक गतिविधिपछि राष्ट्रपतिको शपथ कार्यक्रम सामान्य ढंगले हुन लागेको अमेरिकन एजेन्सीहरूले जनाएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्प अनुपस्थित रहने भएपनि शपथ कार्यक्रममा पूर्वराष्ट्रपतिहरू जर्ज डब्लु बुस तथा उनकी श्रीमती लौरा बुस, बाराक ओबामा र उनकी श्रीमती मिसेल ओबामा तथा विल क्लिन्टन तथा श्रीमती हिलारी क्लिन्टन आउने एजेन्सीहरूले जनाएका छन्।
तालिका यस्तो छः
– चिफ अफ जस्टिस जोन जी रोवर्ट जुनियरले क्यापिटल हिलमा जो बाइडेनलाई राष्ट्रपति पदको शपथ दिलाउनेछन्। त्यसपछि बाइडेनले भाषण दिनेछन्। उनले मतदातालाई धन्यवाद दिनेछन्। यो कार्यक्रमपछि बाइडेनलाई सैनिकहरूले सम्मान गर्नेछन्।
– शपथअघि विश्व चर्चित गायिका लेडी गागाले राष्ट्रिय गान गाउनेछिन्। राष्ट्रपतिको शपथ कार्यक्रममा जेनिफर लोपेजको सांस्कृतिक प्रस्तुति रहनेछ। त्यसपछि बाइडेन क्यापिटल हिलदेखि ह्वाइट हाउसको यात्रामा निस्कनेछन्। ह्वाइट हाउस र क्यापिटल हिलबीचको दूरी दुई किलोमिटर छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले जम्मा ३५ शब्दको शपथ खाने छन्।
बाइडेनले शपथ ग्रहण गर्नुअगाडि नै अमेरिकी संसद् भवन वरपर २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएका छन्।janadesh.com/from


