माघ १३, २०७७
एजेन्सी – स्पेनिस ला लिगामा एथलेटिको बिल्वाओले गेटाफेमाथि ५–१ को सानदार पूनरागमन जित हात पारेको छ ।
घरेलु मैदानमा एक गोलले पछि परेको अवस्थामा बिल्वाओले सानदार जित हात पारेको हो । बिल्वाओको जितमा राहुल गार्सियाले दुई तथा यारे अल्भारेज, एलेक्स बेरेनगुएर र ओस्कर डि मार्काेसले गोल गरे । गेटाफेका मार्क कुकुरेल्लाको गोल सान्त्वना बन्यो ।
बिल्वाओमा सोमबार राति भएको खेलमा गेटाफेले घरेलु टोलीविरुद्ध खेलको पहिलो मिनेटमा नै अग्रता लिएको थियो । उनले कार्लेस एलेनाको पासमा गोल गरेका थिए । तर बिल्वाओको त्यो अग्रता लामो समय टिकेन । १२औं मिनेटमा राहुल गार्सियाले इकर मुनिएनको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
२९औं मिनेटमा जेमी माटा पेनाल्टीमा चुक्दा गेटाफेले खेलमा अग्रता लिन सकेन । ५०औं मिनेटमा यारे अल्भारेजले गोल गर्दै बिल्वाओलाई खेलमा २–१ को अग्रता दिलाए । उनले पन इकर मुनिएनको पासमा गोल गर्न सफल भएका थिए ।
६१औं मिनेटमा राहुल गार्सियाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बिल्वाओले खेलमा ३–१ को आरामदायी अग्रता लिन सफल भयो । ७५औं मिनेटमा इनाकी विलियम्सको पासमा एलेक्सले गोल गर्दै टोलीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ८२औं मिनेटमा ओस्कार डि मार्काेसले गोल गर्दै टोलीलाई ५–१ को सानदार जित दिलाए ।
यस जितसँगै बिल्वाओ १९ खेलबाट २४ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित गेटाफे २३ अंक जोडेर १३औं स्थानमा रहेको छ ।



