भीड्न सिकाउनेहरुले भाग्न कहिल्यै सिकाएनन्
जित्न सिकाउनेहरुले हार्न कहिल्यै सिकाएनन्
हाँस्न सिकाउनेहरुले पनि रुन कहिल्यै सिकाएनन्
अनि, उठ्न सिकाउने पनि झुक्न कहिल्यै सिकाएनन्
त्यसैले त आज म, अरु कोही जस्तै बने जस्तो छु
‘ म’ जस्तो बन्न मलाई कसैले कहिल्यै सिकाएनन्
अघि सर्न सिकाउनेले पछि हट्न सिकाएनन्
तोड्न सिकाउनेहरुले जोड्न कहिल्यै सिकाएनन्
मिलन सिकाउनेहरुले पनि विछोड कहिल्यै सिकाएनन्
भत्काउन सिकाउनेहरुले त झन् बनाउन कहिल्यै सिकाएनन्
त्यसैले त आज म ‘म’ जस्तै भएको छैन
म जस्तो बन्न मलाई कहिल्यै कसैले सिकाएनन्
मेरो भन्न सिकाउनेहरुले हाम्रो भन्न सिकाएनन्
म भन्न सिकाउनेहरुले हामी भन्न सिकाएनन्
जे जे सिकाए सबै नै सिकेँ , म जस्तो बन्न मलाई कसैले भनेन
त्यसैले त आज ‘म’ अरु कोही जस्तै बनेको छु
मलाई म जस्तै बन्न कसैले सिकाएन

