मूल खबर

नेपालमा छोटो अवधिमा धेरै संक्रमितको मृत्यु हुनुको कारण के ?

काठमाडौं जेठ १, २०७८
विज्ञले नेपालमा छोटो अवधिमा कोरोना संक्रमणबाट धेरैजनाको मृत्यु हुनुमा सही उपचारको अभाव कारण भएको निष्कर्ष निकालेका छन्।

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चैत अन्तिममा सुरु भएयताको पाँच सातामा १ हजार ६ सय ७६ जनाको मृत्यु भएको छ। यो संख्या गत वर्षको तुलनामा तेब्बर हो। विज्ञले दोस्रो भेरियन्ट कोरोना संक्रमणमा पनि पहिलो लहरकै जति मृत्युदर हुने बताएका थिए।

नयाँ भेरियन्टको कोरोना भाइरस पहिलोभन्दा छिटै सर्ने भए पनि यसले बनाउने निमोनियाको समयमै पहिचान गरी उपचार गर्न सकेमा धेरैलाई बचाउन सकिने विज्ञको भनाइ छ। कोभिडको नयाँ भेरियन्टले छिटो निमोनिया बनाउँछ। निमोनिया भएका बिरामीलाई आइसियु र भेन्टिलेटर चाहिन्छ, जसको अभावमा नेपालमा मृत्युदर बढेको छ। त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बमका अनुसार एकैपटक धेरैलाई संक्रमण हुँदा उपचार अभावले मृत्युदर बढेको हो।

कोरोनाबाट संक्रमित भएका मध्ये ८० प्रतिशतलाई कुनै समस्या हुँदैन, १५ प्रतिशत सामान्य उपचारले निको हुन्छन् भने बाँकी ५ प्रतिशतलाई आइसियु र भेन्टिलेटर चाहिन्छ। यो गम्भीर समूहका बिरामीका लागि समयमै अस्पतालमा पर्याप्त कोभिड वार्ड र आइसियु भएको भए मृत्यु संख्या कम हुने विशेषज्ञको आकलन छ। डा. बम भन्छन् , ‘बिरामीले समयमै भर्ना नपाउँदा केही दिनमै निमोनिया बढ्छ, यस्तो अवस्थामा बिरामीलाई आइसियुमा राखेर निमोनियाविरुद्धका औषधि चलाउनुपर्छ तर समयमै अस्पतालमा भर्ना नपाउँदा निमोनिया छिप्पिसकेको हुन्छ अनि ज्यान जान्छ।’नागरिक दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button