‘समाचार र विचारको
साझा चौतारी’






अभिनेत्री सुमिनाले गरिन् प्राविधिकलाई खाद्यान्न सहयोग


फिल्मीखबर, काठमाडौं, 2021/05/26

कोरोना भाइरस र निषेधाज्ञाका कारण फिल्म प्राविधिकहरुको घरमा चुल्हो बल्न छाडेको खबर सुनेपछि अभिनेत्री सुमिना घिमिरेले खाद्यान्न सहयोग गरेकी छन् । बुधवार जडिबुटीमा उनी र उनका श्रीमान रोशन सापकोटाले चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई खाद्यान्न हस्तान्तरण गरे । उनीहरुले चालिस जना प्राविधिकलाई एक महिनासम्म पुग्ने रासन सहयोग गरेका हुन् ।

विवाहपछि अभिनयबाट टाढा बसेकी सुमिनाले क्यामेरा पछाडि आफूलाई रेखदेख गर्ने प्राविधिकहरु समस्यामा रहेको सुनेपछि सहयोग गरेको बताइन् । वर्षौंसम्म सँगै काम गरेका प्राविधिकहरुलाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको उनले बताएकी छन् । पेशाले पाइलट रहेका उनका श्रीमान सापकोटाले श्रीमतीले काम गरेको क्षेत्रको आफूलाई पनि एकदमै माया लाग्ने बताए ।

विवाहपछि सुमिनाले घर व्यवहार सम्हालेर बसेका कारण आफूले पनि उनले काम गरेको क्षेत्रलाई माया गर्नुपर्छ भनेर प्राविधिकहरु सहयोग गरेको रोशन बताउँछन् । आफूले सुमिनालाई फिल्ममा फर्किन आग्रह गरेको पनि उनले बताए । सुमिना घिमिरेले भने अभिनयप्रति रुचि र चासो भए पनि विवाहपछि आफूले घरपरिवारलाई समय दिइरहेको र अत्यन्त खुसी रहेको बताएकी छन् ।

नेपाली फिल्म क्षेत्रमा बोल्ड नायिकाको छवि बनाएकी सुमिनाले फिल्म ‘छविलाल कन्जुस छैन’ बाट अभिनय करिअर सुरु गरेकी थिइन् । तर, उनको पहिलो रिलिज फिल्म ‘दुलही’ हो । यसमा उनले अभिनेता राजेश हमालको अपोजिटमा अभिनय गरेकी थिइन् । उनी अभिनीत पछिल्लो फिल्म ‘रंग बैजनी’ हो । उनले २०७१ सालमा यति एयरलाइन्सका पाइलट रोशनसँग विवाह गरेकी हुन् ।

प्रतिकृया दिनुहोस्