खबर

एमालेका जनप्रतिनिधि दोषी ठहरिए दोहोरो कारवाही गर्ने

१२ जेठ २०७८
चौतारी पोष्ट अनलाइन

काँकरभिट्टा । नेकपा एमालेले मेचीनगरको नदीजन्य पदार्थ उत्खनन् कार्य र नक्कली विल भौचरमा आफ्ना जनप्रतिनिधि मुछिएको प्रमाणित भए कारवाही गर्ने भएको छ । पार्टीले आन्तरिक र कानुनी कारवाहीका लागि सिफारिस गर्ने निणर्य गरेको थाहा भएको छ ।

केही समयदेखि मेचीनगर नगरपालिकामा नदीजन्य वस्तुको उत्खनन् र नक्कली विलका विषयमा उत्पन्न घटनाक्रमले पार्टी पंक्ति नै आलोचित भएपछि नेकपा एमाले मेचीनगर कमिटीले आकस्मिक बैठक डाकेर पार्टीबाट प्रतिनिधित्व गरेका जनप्रतिनिधिसँग एमाले मेचीनगर कमिटिले स्पष्टीकरण सोधेको हो ।

बैठकमा एमाले जिल्ला कमिटी सदस्य तथा प्रदेश सांसद श्रीप्रसाद मैनाली, जिल्ला कमिटी सदस्य तथा मेचीनगर इन्चार्ज देवकुमार राई र नगर अध्यक्ष राजु पोखरेलसहितको उपस्थितिमा सम्पन्न बैठकमा नगर उपप्रमुख मीना उप्रेती, वडाध्यक्ष तथा कार्यपालिका सदस्यसँग उत्पन्न परिस्थितिका बारेमा छलफल भएको बताइएको छ।

बैठकले आफ्ना जनप्रतिनिधिले गल्ती गरेको प्रमाणित भए कारवाही गर्ने निणर्य भएको नगर कमिटी अध्यक्ष राजु पोखरेलले जानकारी दिए । ‘नदीजन्य पदार्थ उत्खनन् कार्यसँग केन्द्रित रहेर सोधपुछ गर्ने काम भयो,’ उनले भने, ‘यदि गल्ती ठहरिए हामी पनि र कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्नेछौँ ।’

बैठकले नियम विपरीत कार्य गर्ने जोसुकै भए पनि कारवाही गरेर अघि बढ्ने निणर्यमा एकमत भएको उनले सुनाए । नदीजन्य पदार्थ उत्खनन् घटनाले गर्दा मेचीनगर बहसको विषय बनेको छ । घटनामा संलग्न जनप्रतिनिधिलार्ई कारवाही गर्न नगरका राजनीति पार्टीहरुले पनि दबाब दिँदै आएका छन् ।

केही दिनअघि प्राविधिकसहितको नगरस्तरीय राजनीतिक संयन्त्रको टोलीले निन्दा खोला दोहन गरिएको स्थलको अवलोकन गरेर फर्किएको छ । टोलीमा सहभागी एमाले मेचीनगर कमिटी अध्यक्ष राजु पोखरेलका अनुसार मापदण्ड विपरित उत्खनन् भएको पाइएको छ । उनले अनुमति दिए भन्दा तीन गुणा बढी उत्खनन् गरिएको भेटिएको बताए ।

जथाभावी नदी दोहनका कारण छेउछाउका बासिन्दा पानी पिउनबाट समेत बञ्चित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button